२०८२ असार २७ शुक्रबार
LATEST NEWS
२०८२ असार २७ शुक्रबार

फ्याक्टचेक: नपत्याउनुस् ! प्रचण्ड, मोदी, ट्रम्प कसैले पनि रविको पक्षमा हस्ताक्षर गरेका छैनन्

काठमाडौँ । सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियान जारी छ । लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले ७ असारदेखि यो अभियान सुरु गरेको हो । सोही अभियानअन्तर्गत रास्वपाले देशका विभिन्न स्थानमा स्टल राखेर हस्ताक्षर सङ्कलन गरिरहेको छ ।

यसैबिच सामाजिक सञ्जालमा विभिन्न चर्चित व्यक्तिले लामिछानेको पक्षमा हस्ताक्षर गरेको दाबीसहितका पोस्ट भाइरल भएका छन् । ती पोस्टमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाका शासक ‍किम जोङ उनसम्मले हस्ताक्षर गरेको दाबी गरिएको छ ।

तर, टेकपाना फ्याक्टचेकले ती सबै दाबी भ्रामक भएको पाएको छ । उल्लिखित कुनै पनि व्यक्तिले लामिछानेको पक्षमा हस्ताक्षर गरेका छैनन् । यस्ता पोस्ट केहीले जानाजानी भ्रम फैलाउन र केहीले मनोरञ्जनका लागि मात्र शेयर गरेको देखिन्छ ।

दाबी

२८ जुन २०२२५ (१४ असार २०८२) मा सामाजिक सञ्जाल फेसबुकमा ‘विज्ञकुमार श्रेष्ठ’ नामका प्रयोगकर्ताले एक भिडिओ राखे । भिडिओमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरिरहेको देखिन्छ । उक्त भिडिओभित्र राखिएको टेक्स्टमा अशुद्ध शब्द राख्दै लेखिएको छ, “रबि लामिछाने लाइ राज्य ले प्रतिसोर्ध साधेको भन्दै आज हस्ताक्षर गरे पुर्व प्रधानमन्त्री प्रचण्ड ।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा झन्डै २५ हजार रियाक्सन, ४७५ कमेन्ट, ६४० शेयर र चार लाख बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

तथ्यजाँच

‘विज्ञकुमार श्रेष्ठ’ नामका फेसबुक प्रयोगकर्ताको पोस्टपछि टेकपाना फ्याक्ट चेक डेस्कले थप पोस्टहरू खोज्यो । त्यस क्रममा ‘साईला दाई’ नामको फेसबुक अकाउन्टबाट प्रचण्डको त्यही फोटो राखेको भेटियो । “#हेर्नुहोस त रास्वपा का झोले मित्रहरू रवि लामिछाने माथी भएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर अभियानमा भाग लिदै माओवादी अध्यक्ष प्रचण्ड,पुर्व माओवादी बाबुराम भट्टराई आ आफ्नो ठाउँ बाट र म भेरिगङ्गा को जहरे बजार बाट अभियानमा सहभागिता।सायद तपाई हरु सबैभन्दा बढी गाली पनि हामीलाई नै गर्नुहुन्छ है।अलिकति भएपनि राजनीतिक संस्कार माओवादी र हामी बाट सिक्नुहोला।,”

उनले प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईको छुट्टाछुट्टै फोटो राख्दै लेखेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै रवि लामिछाने फ्यान क्लब ‘Rabi Lamichhane Fan club’ नामक फेसबुक पेजबाट पनि प्रचण्डको सोही फोटो राख्दै रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको दाबी गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यसैगरी भुवन केसी नामका फेसबुक प्रयोगकर्ताले प्रचण्डले रविको पक्षमा हस्ताक्षर गरेको दाबी गर्दै स्क्रिनशट राखेको देखियो । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १३०० बढी रियाक्सन, १०५ कमेन्ट र ४३ पटक शेयर भएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध भएको भन्दै प्रचण्डले हस्ताक्षर गरेको भन्ने दाबीको तथ्यजाँच गर्न फोटो यानडेक्स, गुगल, बिङ लगायतका माध्ययमा रिभर्स इभेज सर्च गरी हेरियो । त्यस क्रममा नागरिक दैनिकले ‘इजरायलविरुद्ध माओवादी केन्द्रको हस्ताक्षर अभियान (तस्बिरहरू)’ शीर्षकमा समाचार राखेको भेटियो ।

समाचारका अनुसार २४ मंसिर २०८१ मा प्रचण्डले प्यालिस्टीनीमाथि इजरायलले गरेको नरसंहारविरुद्ध माओवादी केन्द्रले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको थियो । त्यही हस्ताक्षर अभियानलाई प्रचण्डले काठमाडौंको शान्तिबाटिकामा उद्घाटन गरेका थिए ।

त्यस्तै खबर हबले ‘प्यालेस्टाइनको पक्षमा प्रचण्ड, इजरायली आक्रमणको विरोधमा गरे हस्ताक्षर‍’ शीर्षकको समाचारमा प्रचण्डले हस्ताक्षर गरिरहेको फोटो फिचर फोटोका रूपमा राखेको देखियो । यी बाहेक अन्य सञ्चार माध्यमले पनि प्रचण्डले उद्घाटन गरेको हस्ताक्षर अभियानको समाचार राखेको फेला पर्‍यो । 

उक्त कार्यक्रमको तस्बिरमा प्रचण्डले हस्ताक्षर गरेको ब्यानरमा ‘देशव्यापी हस्ताक्षर…’ ‘हामी नेपाली जनता…’ ‘इजरायल सरकार, बर्बर जनसंहार तुरुन्त रोक । गाजामा आम..’, ‘आयोजकः प्यालिस्टिनीमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त…’ ‘नाम तथा हस्ताक्षर’ जस्ता वाक्य देखिन्छन् । यही नबुझियोस् भन्ने आशयले फोटोलाई एडिट गरी उल्टो (फ्लिप)गरी अहिले भाइरल बनाइरहेको देखिन्छ । 

यी पोस्टपछि सामाजिक सञ्जालमा विभिन्न देशका नेताले रवि लामिछानेलाई समर्थन गरेर हस्ताक्षर गरिएको दाबी गरिएको छ । विवेक थपलिया नामका फेसबुक प्रयोगकर्ताले ‘ट्रम्पले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको’ देखिने फोटो राख्दै २६ असार बिहान ६ः४५ बजे पोस्ट राखेको देखिन्छ । उनले व्यङ्ग्य गर्दै पोस्ट राखेको देखिन्छ । यद्यपि स्पष्ट रूपमा फोटोको वास्तविकता भने उनले खुलाएका छैनन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै सीआरटीआई नेपाल नामको फेसबुक पेजले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको दाबी गरेको छ । ‘रवि लामिछाने माथी राज्य प्रतिसोध विरुद्ध बडिबिल्लर , कलाकार , निखिल उप्रेति , बाबुराम ,प्रचण्ड , नरेन्द्र मोदि ,  डोनल्ड ट्रम्प पछि पुटिन ले पनि आज बिहानै हस्ताक्षर गर्नु भयो छ,’ सीआरटीआई नेपाल पेजले राखोको फोटोको क्याप्सनमा लेखिएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट । 

यही पेजले उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन रुँदै हस्ताक्षर गरेको जस्तो देखिने फोटो राखेको छ । त्यसको क्याप्सनमा लेखिएको छ, “यस्तो भगवान रुपि रवि लामिछानेलाई  राज्यले प्रतिसोध साधे कै हो भनि प्रतिसोध विरुद्ध  आज बिहानै किंम जोडःले पनि आशु झार्दै हस्ताक्षर गर्नु भएको छ ।” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

नागरिक आवाज नामको फेसबुक पेजले शुक्रबार ‘रवि नहिनु भनेको हाम्रो एउटा अंग नष्ट हुनु हो भन्दै हस्ताक्षर अभियानमा महामहिमहरु’ भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन पिङको फोटो राखेको छ । यी सबै फोटोको तलपट्टि ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनाको हस्ताक्षर’ लेखिएको ब्यानर देख्न सकिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

दैनिक नेपाल नामको फेसबुक पेजले पनि अमेरिकी राष्ट्रपति ट्रम्पले रवि लामिछानेको समर्थन जनाउँदै हस्ताक्षर गरेको दाबी गर्दै पोस्ट राखेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यसरी विभिन्न देशका प्रमुख व्यक्तिहरूले रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेको दाबी गर्ने अन्य कैयौं पोस्ट छन् । रास्वपाले जनताको हस्ताक्षर सङ्कलन गर्न देशका विभिन्न स्थानमा राखेका स्टलको फोटो र राजनीतिक व्यक्तिको फोटो राख्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएको देखिन्छ ।

केहीले मनोरञ्जन गर्दै, केहीले व्यङ्ग्य गर्दै सन्दर्भ नै नखुलाई पोस्ट राख्दा अहिले यी पोस्टहरू वास्तविक झैँ गरी भाइरल भइरहेका छन् ।

नेपालभित्रै रवि लामिछानेको समर्थनमा डा. बाबुराम भट्टराई, कलाकार मनिषा कोइराला लगायत अन्य पार्टीका केही नेताले हस्ताक्षर गरेका छन् । तर, प्रचण्ड, मोदी, ट्रम्प, सी जिन पिङ, किम जोङ उन, भ्लादिमिर पुटिन कसैले पनि रवि लामिछानेको पक्षमा हस्ताक्षर नगरेको पुष्टि हुन्छ । 

दाबी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली नेता किम जोङले रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै त्यसको विरोधमा हस्ताक्षर गरे ।

दाबीकर्ता

विज्ञकुमार श्रेष्ठ, साईला दाई, ‘Rabi Lamichhane Fan club’, भुवन केसी, विवेक थपलिया, सीआरटीआई नेपाल, नागरिक आवाज, दैनिक नेपाल लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।

तथ्य

पुष्पकमल दाहाल ‘प्रचण्ड’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, उत्तर कोरियाली नेता किम जोङ उन, र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कसैले पनि रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका छैनन् । यी दाबीसहितका सामाजिक सञ्जाल पोस्टहरू भ्रामक हुन् । टेकपाना फ्याक्टचेकले यी दाबी सत्य नभएको पत्ता लगाएको छ ।

प्रचण्डले हस्ताक्षर गरिरहेको भाइरल फोटो रवि लामिछानेको पक्षमा नभई इजरायलले प्यालेस्टिनीमाथि गरेको नरसंहारविरुद्ध माओवादी केन्द्रले २४ मंसिर २०८१ मा सुरु गरेको देशव्यापी हस्ताक्षर अभियानको थियो । उक्त हस्ताक्षर अभियान काठमाडौंको शान्तिबाटिकामा उद्घाटन गरिएको थियो । भाइरल भएको फोटोलाई उल्टो (फ्लिप) गरी एडिट गरिएको थियो ताकि, वास्तविकता नबुझियोस् । अरु नेताहरूको फोटो भने एडिट गरेर बनाइएको हो ।

यस्ता पोस्टहरू केहीले जानाजानी भ्रामक सूचना फैलाउन, केहीले मनोरञ्जन वा व्यङ्ग्यका लागि र केही भ्रममा परि शेयर गरेको पाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ७ असारबाट हस्ताक्षर अभियान सुरु गरेको थियो र सोही अभियानअन्तर्गत देशभर विभिन्न स्थानमा स्टल राखेर हस्ताक्षर सङ्कलन गरिरहेको छ । नेपालभित्र भने डा. बाबुराम भट्टराई, कलाकार मनिषा कोइरालालगायत अन्य पार्टीका केही नेताहरूले रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका छन् ।

निष्कर्ष 

सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङजस्ता विश्व नेताहरूले रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेको भनी भाइरल भएका दाबीहरू पूर्ण रूपमा भ्रामक र असत्य हुन् । टेकपाना फ्याक्टचेकको तथ्यजाँच अनुसार प्रचण्डले हस्ताक्षर गरेको भाइरल तस्बिर लामिछानेको समर्थनमा नभई इजरायलद्वारा प्यालेस्टिनीमाथि भएको नरसंहारविरुद्ध माओवादी केन्द्रले सुरु गरेको हस्ताक्षर अभियानको थियो ।  यसैलाई भ्रम फैलाउन उल्टो पारेर एडिट गरिएको हो ।

त्यसबाहेक अन्य देशका नेताहरूले लामिछानेको पक्षमा हस्ताक्षर गरिएका भनेका तस्बिरहरू पूर्ण रूपमा एडिटेड हुन् । यस्ता भ्रामक पोस्ट जानाजानी गलत सूचना फैलाउने वा व्यङ्ग्यात्मक मनोरञ्जनका लागि शेयर गरिएका थिए । यिनै पोस्ट पछि वास्तविक जस्तै गरी भाइरल हुन पुगे ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफैँले लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै उनको पक्षमा हस्ताक्षर अभियान चलाइरहेको छ । उक्त अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अभिनेत्री मनिषा कोइरालालगायत विभिन्न क्षेत्रका व्यक्तिले ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । तर, कुनै पनि विश्व नेताले लामिछानेको पक्षमा हस्ताक्षर गरेको दाबी पूर्णतया मिथ्या हुन् ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: असार २७, २०८२ १९:५५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट