२०८२ असार २७ शुक्रबार
LATEST NEWS
२०८२ असार २७ शुक्रबार

एनआईटीसीमा घटिया प्रोसेसर किनेर करोडौं भ्रष्टाचार ! सुनिल पौडेलसहित ६ विरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । ​​

पौडेलसहित केन्द्रका तत्कालीन कर्मचारीहरू निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रा.लि.का अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण श्रेष्ठले आपसी मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

केन्द्रले आर्थिक वर्ष ०७६/७७ मा ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा आपसी मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अख्तियारका अनुसार, गुरुयोजना बिना नै करिब ३१ करोड रुपैयाँको लागत अनुमान तयार गरी बोलपत्र आह्वान गरिएकोमा वर्ल्ड डिस्ट्रिब्युसन नेपालले ३० करोड ६५ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।

अनुसन्धानका क्रममा, सम्झौतामा २.४ गिगाहर्ज क्षमताको प्रोसेसर माग गरिए पनि आपूर्तिकर्ता कम्पनीले २.१ गिगाहर्ज क्षमताको मात्र प्रोसेसर जडान भएको उपकरण आपूर्ति गरेको खुलासा भएको छ ।

कम क्षमताको प्रोसेसरका कारण प्रणालीको कार्यक्षमतामा १४.२८ प्रतिशतले ह्रास आएको र यसले प्रतिसेकेन्ड करिब ३०० मिलियन कम डेटा प्रशोधन गर्ने देखिएको आरोप लगाइएको छ । आयोगले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिमको कसुरमा अभियोग लगाउँदै खरिद सम्झौताको आधा रकम बराबरको बिगो माग दाबी गरेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र​ र नेपाल टेलिकमको कार्यकारी पदमा रहँदा अनियमितता गरेको अभियोगमा सुनिल पौडेलविरुद्ध करिब आधा दर्जन मुद्दा चलिरहेको छ । पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा उनलाई विशेष अदालतले ९ वर्ष जेल सजाय र साढे ४६ करोड जरिवाना सुनाएको थियो । 

के हो हाई कम्प्युट इन्फ्रास्ट्रक्चर?

सरल शब्दमा भन्दा यो एक प्रकारको ‘सुपरकम्प्युटर’ हो । यो एउटा मात्र कम्प्युटर नभएर सयौं वा हजारौं शक्तिशाली कम्प्युटरहरूलाई एकै ठाउँमा जोडेर बनाइएको विशाल प्रणाली हो ।

यसको मुख्य काम भनेको साधारण कम्प्युटरले गर्नै नसक्ने ठुलो मात्राको डाटा (जस्तै; राष्ट्रिय परिचयपत्र, सरकारी तथ्याङ्क) को व्यवस्थापन, विश्लेषण र प्रशोधन अत्यन्तै छिटो गर्नु हो । यसलाई राष्ट्रिय डेटा सेन्टरको ‘मुटु’ पनि मानिन्छ, किनकि देशका संवेदनशील सूचनाहरू यही प्रणालीमा सुरक्षित रहन्छन् ।

पछिल्लो अध्यावधिक: असार २७, २०८२ १७:५४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट