काठमाडौँ । रसुवा नाका नजिकै बाढीको पूर्वसूचना दिन प्रयोग हुने उपकरण पछिल्लो तीन महिनादेखि बन्द रहेको पाइएको छ । नेपाल-चीन सिमानास्थित टिमुरे बाढी मापन केन्द्र सञ्चालनमै नरहेको खुलेको हो ।

सोमबार राति रसुवाको भोटेकोशीमा आएको बाढीको मापन गर्न तीन ओटा केन्द्र तोकिएका छन् । जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार रसुवा नाकादेखि धादिङको विदुरसम्म (भोटेकोशी हुँदै त्रिशूली नदीको बहाव क्षेत्रभित्र) बाढी मापन केन्द्रहरू रहेका छन् । तीमध्ये सोमबार राति स्याफ्रुबेशी र बेत्रावतीस्थित मापन केन्द्र मात्र सञ्चालनमा थिए ।
स्याफ्रुबेशीमा रहेको उपकरण रसुवा नाकाबाट करिब १३ किलोमिटर तल पर्छ । सो उपकरणले पानीको सतह ५.५० मिटर पुगेपछि चेतावनी दिने प्रणाली रहेको छ । सोमबार राति ३:३० बजे पानीको सतह ५.३७१ मिटर पुगेको मापन भएपछि त्यसपछिको सूचना भने प्राप्त हुन सकेन ।

पराजुलीका अनुसार बाढी मापन उपकरणले प्रत्येक १० मिनेटमा सूचना पठाउने गर्छ । तर, सोमबार राति भोटेकोशीमा पानीको सतह एक्कासि बढ्दा उपकरण नै बगाएको हुँदा पूर्वसूचना दिन नसकेको उनले बताए । बाढी मापन उपकरणहरू सामान्यतः पुलको उचाइमा जडान गरिने भएकाले ठुलो बाढी आउँदा ती उपकरण बग्ने सम्भावना उच्च हुने उनले स्पष्ट पारे ।
“यदि टिमुरेको केन्द्र सञ्चालनमा रहेको भए स्याफ्रुबेशीको तुलनामा ५ मिनेटअघि नै सतर्कता सूचना दिन सकिन्थ्यो,” उनले थपे ।
हाल बाढी मापनका लागि सक्रिय केन्द्रमध्ये बेत्रावती केन्द्र मात्र नाकाभन्दा झण्डै ६३ किलोमिटर तल अवस्थित छ । बाढीपछि त्यहाँ पानीको सतह उच्च भएपछि विभागले स्थानीय बासिन्दालाई एसएमएसमार्फत सूचना दिएको थियो ।
देशभर बाढी मापनका लागि विभागअन्तर्गत २०० केन्द्र छन् । तीमध्ये हाल १७५ ओटा केन्द्रबाट नियमित सूचना प्रवाह भइरहेको छ । बाँकी २५ केन्द्र विभिन्न प्राविधिक समस्याका कारण सञ्चालनमा नरहेको पराजुलीले जानकारी दिए ।
“केही उपकरण चोरी र तोडफोड हुने गरेका छन्,” उनले भने, “रिमोट क्षेत्रमा सोलार प्यानलसमेत हराउने समस्या छ । केही उपकरणहरू भने प्राविधिक कारणले बन्द छन् ।”
उनका अनुसार यी मापन प्रणालीको मर्मत तथा सञ्चालन निजी कम्पनीमार्फत ठेक्कामा गरिएको हो । “मनसुन सुरु भइसकेकाले तत्काल मर्मतका लागि विभाग सक्रिय हुँदैछ,” पराजुलीले भने ।
पछिल्लो अध्यावधिक: असार २४, २०८२ १६:५५
सामाग्री श्रोत :
टेक पाना