
काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्सले कानुनी मागको कारण देखाउँदै बन्द गरेको समाचार एजेन्सी रोयटर्सको अकाउन्ट भारतमा पुनः सञ्चालनमा आएको छ । शनिबारदेखि निलम्बित उक्त अकाउन्ट आइतबारदेखि सञ्चालनमा आएको हो ।
यसअघि भारतमा रहेका एक्स प्रयोगकर्ताले रोयटर्सको ह्यान्डल खोल्ने क्रममा कानुनी मागका कारण उक्त अकाउन्ट बन्द भएको सूचना देखिएको थियो । तर, कुन कानुनी माग भन्ने स्पष्ट खुलाइएको थिएन ।
एक्सले रोयटर्सलाई पठाएको ईमेलमा पनि भारतमा अकाउन्ट बन्द गर्नुमा आफ्नो कुनै हात नभएको उल्लेख गरेको छ । “यस समयमा हामीले भारतमा तपाईँको अकाउन्टमाथिको पहुँचलाई रोक लगाएका छैनौँ,” रोयटर्सलाई पठाएको ईमेलमा भनिएको छ । रोयटर्सका अनुसार एक्सले यसबारे थप विवरण भने दिएको छैन ।

त्यस्तै भारत सरकारले पनि एक्स ह्यान्डल बन्द गर्नुमा सरकारको संलग्नता नभएको स्पष्ट पारेको छ । हिन्दुस्तान टाइम्सका अनुसार सरकारका प्रवक्ताले पनि सरकारले रोयटर्सको ह्यान्डल बन्द गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । “भारत सरकारलाई रोयटर्सको एक्स ह्यान्डल बन्द गर्नु केही आवश्यक छैन । समस्या समाधान गर्न हामी एक्ससँग मिलेर काम गरिरहेका छौँ,” हिन्दुस्तान टाइम्सले सरकारका प्रवक्ताको भनाइ राखेको छ ।
विश्वभर दुई करोड ५० लाखभन्दा बढी फलोअर भएको रोयटर्सको मुख्य अकाउन्ट शनिबार रातिदेखि भारतमा ब्लक गरिएको थियो । समाचार एजेन्सीद्वारा सञ्चालित अर्को एक्स अकाउन्ट ‘रोयटर्स वर्ल्ड’ पनि आइतबार राति पुनः सञ्चालनमा आएको छ ।
रोयटर्सका अनुसार १६ मेमा एक्सले ‘अपरेसन सिन्दुर’लाई लिएर समाचार एजेन्सीलाई ईमेल पठाएको थियो । त्यसमा भारतको ‘सूचना प्रविधि ऐन, २०००’ अन्तर्गत एक्सको ह्यान्डलमा प्रतिबन्ध लगाइएको जानकारी दिएको थियो ।
तर रोयटर्सले त्यो ईमेल एक्सको अकाउन्ट शनिबार भारतमा बन्द हुनुसँग सम्बन्धित थियो वा थिएन भन्ने यकिन गर्न नसकिएको उल्लेख गरेको छ । यस्तै कुन सामग्री हटाउन माग गरिएको थियो र उजुरी दिने निकाय कुन हो भन्नेबारे पनि रोयटर्सले स्पष्ट जानकारी दिएको छैन । अकाउन्ट बन्द हुने निकाय रोयटर्स, प्लेटफर्म एक्स र भारत सरकार तीनै पक्ष यस विषयमा अनविज्ञ हुनुले अकाउन्ट बन्द हुनुको वास्तविक कारण बाहिर आएको छैन ।
पछिल्लो अध्यावधिक: असार २३, २०८२ १२:५१
सामाग्री श्रोत :
टेक पाना