२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार

नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’

एजेन्सी–  खर्बपति व्यापारी तथा कुनै समयका निकट मित्र एलन मस्कले नयाँ राजनीतिक दल खोलेको विषयमा अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्। ‘मलाई लाग्छ कि तेस्रो पार्टी खोल्नु भनेको वाहियात कुरा हो।’

आइतबार एयर फोर्स वनमा चढ्नुअघि पत्रकारहरूसँग बोल्ने क्रममा ट्रम्पले भनेका थिए। अमेरिकामा सधैँ दुई दल मात्रै भएको अनि तेस्रो दल सुरु गर्नु भनेको द्विविधा थप्नु मात्रै हुने उनले बताए। पछिल्लो पाँच हप्तायता मस्क पूर्ण रूपमा पटरीबाट झरेर अनियन्त्रित रेल जस्तै भएको भन्दै उनले यो देखेर आफूलाई दुःख लागेको बताए। 

मस्कले अब अमेरिकामा तेस्रो राजनीतिक दल सुरु गर्न चाहेको यो अमेरिकी इतिहासमा कहिल्यै सफल नभएको समेत उनको भनाइ छ।  ट्रम्पले भनेका छन्, ‘अमेरिकाको प्रणाली त्यस्ता दलहरूको लागि बनेको होइन।

तेस्रो दलहरूको एक मात्र काम अव्यवस्था र अराजकता फैलाउनु हो। र हामीसँग पहिले नै पर्याप्त अराजकता छ, जुन कट्टरपन्थी वामपन्थी डेमोक्रेटहरूले फैलाइरहेका छन्।’

मस्कले शनिबार अमेरिकामा नयाँ राजनीतिक दल गठनको घोषणा गरेका थिए। उनले यसलाई अमेरिका पार्टी नाम दिएका छन्। मस्कले बारम्बार अमेरिकाको राष्ट्रिय कर्जा बढाउने सरकारी नीतिको आलोचना गर्दै आएका थिए।

यसैबिच ट्रम्पसँग उनको सम्बन्ध तिक्त भयो। मस्कले आइतबार आफ्नो सामाजिक पोस्टमा अमेरिकामा नयाँ पार्टी चाहिन्छ कि चाहिँदैन भनेर सर्वेक्षण चलाएका थिए। यसमा सहभागीमध्ये ६६ % ले नयाँ राजनीतिक दल चाहेको बताएका थिए।

सो सर्वेक्षणको नतिजापछि मस्कले नयाँ राजनीतिक दल पाउने भन्दै अमेरिकाले अब २ दलीय प्रणालीबाट मुक्ति पाउने बताएका थिए। देशलाई बर्बाद गर्ने र भ्रष्टाचार गर्नेमा उनले अमेरिकाका दुवै दल रिपब्लिकन र डेमोक्रेटको नाम लिएका थिए। 

अमेरिकीहरूले स्वतन्त्रता फिर्ता पाउन भनेर अमेरिका पार्टी नामको राजनीतिक दलको गठन हुन लागेको पनि उनले पोस्टमै भनेका थिए। मस्कले अमेरिकाको स्वतन्त्रता दिवस पारेर जुलाई ४ मा माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा सर्वेक्षण चलाएका थिए।

यसमा उनले सोधे कि के तपाईं दुई–दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिका पार्टी बनाउनुपर्छ ? भन्ने प्रश्न सोधेका थिए। सर्वेक्षणको नतिजामा ६५ दशमलव ४ प्रतिशतले चाहिन्छ र ३४ दशमलव ६ प्रतिशतले चाहिँदैन भनेका थिए। 

चुनाव लड्न पाउँदैनन् मस्क 

अमेरिकी संविधानअनुसार अमेरिकामा जन्मेको व्यक्तिले मात्र चुनाव लड्न सक्छ। मस्क दक्षिण अफ्रिकामा जन्मेका थिए। यस्तोमा उनी अमेरिकामा चुनाव लड्न सक्दैनन्। तर मस्कले आफ्ना उम्मेदवारहरू खडा गर्न सक्छन्।

२०२६ नोभेम्बर मा प्रतिनिधिसभाको सबै ४३५ सिट र सिनेटको १०० मध्ये ३४ सिटको लागि चुनाव हुनेछ। मस्कको योजना प्रतिनिधिसभाको ८–१० सिट र सिनेटको ३–४ सिट जित्ने छ। यसो भयो भने उनी ‘किङ्गमेकर’ बन्न सक्नेछन्। 

२०२४ को राष्ट्रपति चुनावमा मस्कले ट्रम्पको चुनावी अभियानलाई करोडौं डलर दान दिएका थिए। ट्रम्पले मस्कलाई सङ्घीय सरकारको खर्च घटाउने नयाँ विभाग डजको प्रमुख बनाएका थिए।

कार्यकाल बाँकी रहँदै मस्क त्यसबाट अलग भएर ट्रम्पको ‘बिग ब्युटिफूल’ विधेयकको विरोध गर्न थाले। त्यसयता दुवैको सम्बन्ध बिग्रिएको छ।  

के हो अमेरिकाको दुई–दलीय प्रणाली ?

पछिल्लो १५० वर्षदेखि अमेरिकाको राजनीतिमा केवल दुई दल डेमोक्रेटिक र रिपब्लिकनले प्रभुत्व जमाएका छन्। देशमा राष्ट्रपति चुनावदेखि राज्य सभाहरूसम्म यी दुई दलहरूको प्रभुत्व छ। यो दुई–दलीय प्रणालीलाई अमेरिकी लोकतन्त्रको स्थिरताको कारण पनि मानिन्छ।

डेमोक्रेटिक पार्टी सन् १८२८ मा एन्ड्रयू ज्याक्सनको युगमा सुरु भएको थियो। यसलाई सुरुमा किसान र आम जनताको पार्टी मानिन्थ्यो। २० औँ शताब्दीमा यो सामाजिक कल्याण, नयाँ सम्झौता र नागरिक अधिकारजस्ता आर्थिक सुधारहरूको वकालत गर्ने पार्टी बन्यो।

त्यही समयमा दासत्वको विरोधमा १८५४ मा रिपब्लिकन पार्टी गठन भएको थियो र अब्राहम लिङ्कन यसको पहिलो राष्ट्रपति बने। २० औँ शताब्दीमा यो व्यापार र कर कटौतीलाई समर्थन गर्ने पार्टी बन्यो। 

किन सफल भएनन् तेस्रो दल ?

अमेरिकामा तेस्रो दल त धेरै पटक गठन भए, तर तिनीहरू सफल हुन सकेनन्। १९१२ मा राष्ट्रपति थियोडोर रुजवेल्टले बुल मूस पार्टी गठन गरे र ८८ इलेक्टोरल भोटहरू प्राप्त गरे। यद्यपि, पार्टी अर्को चुनावसम्म पनि टिक्न सकेन।

१९९२ मा, रस पेरोटले १९% लोकप्रिय मत प्राप्त गरे, तर एउटै इलेक्टोरल भोट प्राप्त गरेनन्। यी दलहरूले मिडियामा कोष, सङ्गठन र ठाउँ पाउँदैनन्। मतदाताहरूले तिनीहरूलाई भोट कट्टर पनि मान्छन्।

यही कारणले गर्दा लिबर्टेरियन वा ग्रिन पार्टी जस्ता दलहरूले अहिलेसम्म राष्ट्रपति चुनावमा ३–४% भन्दा बढी मत प्राप्त गर्न सकेका छैनन्। अमेरिकामा तेस्रो पार्टीहरूको असफलताको मुख्य कारण यसको निर्वाचन प्रणाली हो।

यहाँको निर्वाचन संरचनाले दुई दलीय प्रणालीलाई समर्थन गर्दछ।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट