२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

स्वास्थ्यको नयाँ दरबन्दी थप्ने विषयमा अर्थले माग्यो यी ६ विषयमा जवाफ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अनुसार दरबन्दी थप गर्ने फाइल पुन: स्वास्थ्य मन्त्रालयमा फर्किएको छ।

अर्थ मन्त्रालयले स्वास्थ्यलाई विभिन्न ६ वटा विषय प्रष्ट पार्न भन्दै फाइल फिर्ता पठाएको हो। अर्थले मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई पुनरावलोकन गरी पुन:पठाउन भनेको छ।

स्वास्थ्य मन्त्रालयले जेठ २८ गते नयाँ संगठन तथा व्यवस्थापन सर्वे अनुसार मन्त्रालय र मातहतका निकायका लागि २ हजार १ सय २ जना जनशक्ति थप गर्ने सहमति प्रदान गर्ने फाइल पठाएको थियो। अर्थले उक्त फाइल अध्ययन गर्दै ६ वटा विषय पुनरावलोकन गरी पुन:सहमतिका लागि पठाउन भन्दै असार ११ गते निर्णय गरेको पत्रमा उल्लेख छ।

यस्ता छन् अर्थले नयाँ दरबन्दीका विषयमा उठाएको ६ प्रश्न
(१) यस मन्त्रालयमा पूर्व स्वीकृति माग गर्दा मन्त्रालय र मातहत निकायहरुको एकै पटक O&M गर्ने गरी लेखी आएकोमा हाल केही निकायको मात्र प्रस्ताव भएकोले समग्रतामा अध्ययन विश्लेषण हुन।

(२) स्थानीय तह र प्रदेश सरकारको क्षेत्राधिकारका अस्पतालमा संघीय दरबन्दी कायम के कस्तो नीतिमा गर्ने भन्ने निक्यौल हुन।

(३) विकास समिति र प्रतिष्ठान अन्तरगतका अस्पताल/निकायहरुमा संघीय दरबन्दी सिर्जना गर्ने नगर्ने, गर्नुपर्ने भए दीर्घकालिन दायित्व कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा नीतिगत निक्यौल
हुन।

(४) अर्थ मन्त्रालयबाट पूर्व सहमति उपलब्ध गराउँदा दीर्घकालिन दायित्व न्यूनतम हुने गरी O&M गर्न भनी उल्लेख गरिएकोमा लागत व्यहोर्ने दीर्घकालिन विकल्प सम्बन्धमा विश्लेषण हुन ।

(५) चिकित्सक र स्वास्थ्यकर्मीको अत्यावश्यक दरबन्दी खासगरी दुर्गम क्षेत्रलाई लक्षित गर्नु उपयुक्त हुनेमा केन्द्रीय निकाय र ठुला शहर केन्द्रीत नगर्ने तर्फ पूर्ण ध्यान दिनु हुन ।

(६) प्रशासनिक र सहयोगी कर्मचारी एवं केन्द्रीय निकायमा माथिल्लो तहको दरबन्दी सिर्जना नगर्ने तर्फ ध्यान दिनु हुन।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संघीय अस्पतालहरुमा स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका थिए। उनले बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्तिका थप गर्ने गरी प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा कार्यदल गठन गरेका थिए। 

आन्तरिक कार्यदलले दुई हजार एक सय दुई जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको थियो। यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक छ।

पाँच वर्षसम्म हरेक वर्ष गर्ने गरी तयार पारिएको संगठन संरचनामा विशेषज्ञ चिकित्सकदेखि तल्लो तहका कर्मचारीसम्म रहेका छन्।

कहाँ कति जनशक्ति थप गर्ने प्रस्ताव?
वीर अस्पताल: ७८८, ट्रमा सेन्टर: ८९, कान्ति बाल अस्पताल: ७८, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल: १७३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल: ७४, मानसिक अस्पताल: १७, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान: ३१६, कोशी अस्पताल: १७०, नारायणी अस्पताल: ३१६, भेरी अस्पताल: १७७, गजेन्द्रनारायण अस्पताल: १४३, भरतपुर अस्पताल: ४६४, डडेलधुरा अस्पताल: ५१, औषधि व्यवस्था विभाग र प्रयोगशाला: ५२, स्वास्थ्य मन्त्रालय, आयुर्वेद र स्वास्थ्य विभाग: २६ जना।

हेरौं कुन पदमा कति दरबन्दी थप हुँदै?

प्रस्तावित संरचना अनुसार ११ औं तहमा ४९ दरबन्दी थप गरिएको छ भने १२ वटा दरबन्दी हटाइएको छ। ९ र १० औं तहमा ३२२ दरबन्दी थप गरिएको छ। आठौं तहको मेडिकल अधिकृतमा ४३६ पद थप गरिएको छ भने ५० वटा दरबन्दी हटाइएको छ। यो संख्या हाल ३५३ दरबन्दी रहेकोमा अब ७३९ दरबन्दी पुगेको छ।

स्टाफ नर्समा ५/६/७ तर्फ १२४२ दरबन्दी थप गरिएको छ। यसअघि १३४१ स्टाफ नर्सको दरबन्दी रहेकोमा बढाएर २६२३ पुर्‍याइएको छ। मिडवाइफ्री नर्सको ३९ वटा नयाँ दरबन्दी सिर्जना गरिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट