काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा रहेका जुनसुकै कानुनी हैसियतका नेपाली श्रमिकहरुको स्वामित्व नेपाल सरकारले लिनु पर्ने बताएका छन । उनले नर्कमा कोहि जान नचाहने भन्दै एकपटक विदेश गएर रोजगारीमा संलग्न व्यक्ति पुनः सोही काममा जान चाहेमा रोक्नु आवश्यक नरहेको बताए ।
बिहीबार ललितपुरमा पौरखी नेपालद्धारा आयोजित कार्यक्रम बोल्दै मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशी भुमिमा काम गरीरहेका नेपालीहरुको राज्यले स्वामित्व लिनु पर्ने बताएका हुन । उनले भने, ‘नेपाली कामदारहरु विभिन्न माध्यमबाट कामको लागि विदेशी भुमिमा पुगेका छन । कतिपय ठगिएर पुगेका छन, कतिपय औपचारिक माध्यमबाट गएर लुकेर लामो समय देखि कागजात बिहिन भएर बसेका छन । तिनीहरु सबैलाई कि त राज्यले नेपाली नै होइन भन्नु पर्यो, होइन भने स्वामित्व लिनुपर्छ ।’
मन्त्री भण्डारीले गाउँ रित्तो भयो, खाली भयो, गाउँमा बस्ने अवस्था भएन, पलायनको क्रम रोखिएन यि बिषयमा गम्भीरतापूर्वक समिक्षा हुनुपर्ने बताए । ‘गाउँबाट मान्छे मात्रै पलायन भएका छैनन’, उनले भने, ‘गाउँमा भएका सानोतिनो पुँजी पनि पलायन हुँदा झन रोजगारीको अभाव सिर्जना भएको हो । ’
उनले नेपालको श्रम तथा रोजगारी क्षेत्रमा देखिएका समाधानका लागि सवै पक्ष इमान्दार भएर लाग्नुको विकल्प नहरेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न ढिलासुस्ती गर्न नहुने बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्वीकृति दिनु भन्दा श्रम अनुमति दिनु पर्ने बताए । उनले भने, ‘श्रम स्वीकृति त गन्तव्य देशले जारी गर्ने हो, हामीले त काम गर्न जाने श्रमिकलाई श्रम अनुमति उपलब्ध गराउनु पर्छ । काम गर्न जाने कामदार तयार छन, कामका लागि लैजाने मुलुक तयार छन । अनि हामीले रोकेर रोकिन्छ ? ’
उनले अहिले वैदेशिक रोजगारको नाममा एक नेपालीले अर्को नेपालीलाई ठग्ने गरेको घटनाहरु प्रति चिन्ता व्यक्त गर्दै यस्ता ठग, बिचौलिया र एजेन्टहरुलाई तह लगाउन एकद्धार प्रणाली मार्फत श्रम क्षेत्रको सबै सेवा प्रदान गर्न मन्त्रालयले कडा मिहनेत गरी रहेको जानकारी गराए ।
सो अवसरमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले आयोगको नेतृत्वमा केयर वर्किङ् ग्रुपले गर्दै आएको कामका बारेमा जानकारी गराए । उनले नेपालमा पहिलोपटक हेरचाहको काम सम्वन्धी नीति बनाउने काम भइरहेको भन्दै त्यसमा समेट्नु पर्ने विषयहरुका बारेमा सुझाव दिन आग्रह गरे ।
गण्डकी प्रदेशको नीति तथा योजना आयोग सदस्य दुर्गा लामिछानेले विगतमा हेरचाह सम्वन्धी काम गर्ने श्रमिकहरुको विषयमा गण्डकी प्रदेशको धेरै ध्यान नपुगेपनि आगामी दिनमा यसमा ध्यान दिइने बताइन् ।
यसैगरी फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिकका लागि गरिएका कामहरुका बारेमा जानकारी गराए । उनले किसान, मजदुर लगायतका लागि पालिकाका तर्फबाट सकेसम्म धेरै मद्धत गरिरहेको बताए ।सो अवसरमा पौरखी नेपालकी रणनीतिक सल्लाहकार मञ्जु गुरुङले पौरखी नेपालले प्रदेश स्तरमा गरेको छलफलका आधारमा हेरचाहको विषयमा प्राप्त सुझावहरुलाई प्राथमिकिकरण गर्दै एकिकृत सुझाव संकलनका लागि राष्ट्रिय स्तरको कार्यशाला आयोजना गरिएको बताइन् ।
सो अवसरमा राष्ट्रिय महिला आयोगका सदस्य कृृष्ण कुमारी पौडेल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जिवी बराल, जिआईजेडकी बरिष्ठ परामर्शदाता पस्मा दाहाल झा, युएन वुमनकी प्रिति श्रेष्ठ, आप्रवासन विज्ञ नीलाम्बर बडाल लगायतले मन्तव्य राखेका थिए ।
सामाग्री श्रोत :
deshparadesh

