२०८२ असार २१ शनिबार
LATEST NEWS
२०८२ असार २१ शनिबार

खानेपानी संस्थानका यी पूर्व जीएम, जसले उत्पादन गर्दैछन् ६ महिनामै नष्ट हुने जैविक झोला

काठमाडौँ । नेपाल खानेपानी संस्थानबाट सेवा निवृत्त भएपछि ६३ वर्षीय डा. भूपेन्द्र प्रसाद अरूजस्तो अवकाश जीवन शान्तिमा बिताइरहेका छैनन् । उनी सप्तरीमा रहेको ‘एबी बायो डिग्रेडेबल’ कारखानाको रेखदेखमा बिहानदेखि साँझसम्म खटिन्छन् ।

‘ल्युकेमिया’ को बिरामी भएकाले स्वास्थ्यले उनलाई बेला बेलामा समस्या निम्त्याउँछ । ‍तापनि नेपालमा प्लास्टिकको विकल्पलाई सर्वसुलभ बनाउन उनी लागि परेका छन् ।

उनी सप्तरी आसपासका गाउँ र स्थानीय निकाय पुगेर बायो डिग्रेडेबल (जैविक रूपमा नष्ट हुन सक्ने वस्तु) झोला प्रयोग गर्न आग्रह समेत गरिरहेका छन् ।

सन् २०२३ मा छोरी डा. भितास्ता मुस्कान (२६) र छोरा डा. प्रविन प्रसाद (३६) सँग मिलेर डा भूपेन्द्रले ‘एबी बायो डिग्रेडेबल’ सञ्चालनमा ल्याएका हुन् । कम्पनीले जैविक रूपमा ६ महिनाभित्र नष्ट हुने झोला उत्पादन गर्दै आएको छ ।

कसरी बनाइन्छ यस्तो झोला ?

यस्तो प्लास्टिक बनाउन ग्रानुल (साबुदानाबाट बन्ने कच्चा पदार्थ) र फिलर (मकैबाट तयार हुने कच्चा पदार्थ) प्रयोग गरिन्छ ।  आफूहरूले सामग्री तयार गरिसकेपछि यो नष्ट हुन्छ कि हुँदैन भनेर विभिन्न तरिकाबाट पनि परीक्षण गरेको डा. भितास्ता सुनाउँछिन् । 

यसका लागि माटोमा गाडेर, तातो कुरा राखेर, जलाएर, फ्रोजन गरेर परीक्षण गरिएको थियो । “यो ९० देखि १८० दिनसम्ममा माटोमा मिल्छ । हामीले माटोमा गाडेको छ महिनापछि हेर्दा प्लास्टिकको कुनै कण बाँकी थिएन,” उनले भनिन् । यस्तै उक्त प्लास्टिक जलाए पनि हानिकारक रसायन ननिसक्ने, बरु खरानी बनेर नष्ट हुने उनले उल्लेख गरिन् ।

कति पर्छ मूल्य ?

हाल कम्पनीले आधा केजी, १ केजी, २ केजी र ५ केजी क्षमताका झोला उत्पादन गर्दै आएको छ । जसको मूल्य क्रमशः ३७०, ३७५, ३८५ र ३९० रुपैयाँ रहेको छ । ग्राहकले आवश्यक अनुसार झोलामा प्रिन्ट गर्न सक्ने सुविधा पनि पाउँछन् । कम्पनीले आफ्नो झोलामा ‘म प्लास्टिक होइनँ’ भन्ने स्लोगनसमेत राखेको छ । हालसम्म कम्पनीले ५०० केजीको आसपासमा मात्र झोला बिक्री गरेको डा. भितास्ताले सुनाइन् । 

झोला बिक्रीका लागि भने अलि समस्या भएको उनको अनुभव छ । उनले भनिन्, “काठमाडौँमा राम्रो बिक्री हुन्छ भनेर अपेक्षा गरिएको थियो, तर सोचे जस्तो भएन ।” देशका मूख्य मूख्य शहरका थोक तथा खुद्रा पसलसम्म उत्पादन पुर्‍याउने प्रयास भइरहेको छ । यस्तै विभिन्न पालिका प्रमुखहरूसँग पनि बायो डिग्रेडेबल झोला प्रयोगका लागि छलफल चलिरहेको उनले बताइन् । 

त्यस बाहेक काठमाडौँको बुढानीलकण्ठ-३ रुद्रेश्वरमा आफैँले पसल खोलेर पनि झोला बिक्री गर्दै आएको छ । यस्तै, अनलाइनबाट पनि बिक्री गर्ने तयारी रहेको उनले सुनाइन् । 

मसिन किन्ने बेलामा ठगिएपछि…

सेवा निवृत्त हुनु पूर्व खानेपानी संस्थानको महाप्रबन्धक थिए डा. भूपेन्द्र प्रसाद । संस्थानमा सुरक्षित र स्वच्छ खानेपानी उपभोक्तासम्म पुर्‍याउन अहोरात्र खटिँदा उनले पानीमा भएको प्रदूषणलाई पनि नजिकबाट अध्ययन गरेका थिए । 

त्यसैले उनी पानी र वातावरण जोगाउने कुनै काम गरौँ भन्ने चाहन्थे । “ठोस फोहोर, प्लास्टिक फोहोर होस् वा तरल फोहोरले वातावरणमा निकै ठुलो समस्या सिर्जना गरिरहेको छ । पोलिथिन समुद्रमा पुगेर माइक्रो लेभलमा टुक्रिएर नुनसँग मिल्छ । त्यही नुन भान्सामा पुगेर हामी खाइरहेका हुन्छौँ ।” उनी थप्छन्, “काठमाडौँ, विराटनगर, इटहरी जस्ता ठुला सहरमा फोहर व्यवस्थापनका विषयमा अलि अलि भएपनि सचेत छन् तर साना पालिकाहरूको आर्थिक अवस्थाले पनि व्यवस्थापन गर्न सकिरहेका छैनन् ।”

जागिरबाट अवकाश लिने बित्तिकै उनी सप्तरीको शम्भुनाथ गाउँपालिका वडा. नं ५ मोहनपुरस्थित पुर्ख्यौली घरमा फर्किए । गाउँमै रोजगारी पनि दिने र वातावरणको विनाश पनि रोक्ने काम गर्ने निर्णयमा पुगे । त्यसपछि सस्तोमा बायो डिग्रेडेबल प्लास्टिक उत्पादन गर्ने योजना बनाए । उनको यो काममा छोरी भितास्ता र छोरा प्रविनले पनि साथ दिए । 

०८० सालमा कारखानाका लागि आवश्यक पर्ने मसिन कहाँ किन्ने भनेर खोजी हुन थाल्यो । मसिन किन्न दिल्लीमा गएर त्यहाँको कारखाना हेरेर आएको भितास्ता सुनाउँछिन् ।

“त्यहाँ पुगेर हामीले मसिन नै हेरेर आएका थियौँ । पहिला भुक्तानी गर्नुपर्छ भनेपछि हामीले प्रक्रिया पूरा गरेर पैसा पठायौँ । तर बहाना बनाएर तीन-चार महिनासम्म पनि उनीहरूले मसिन पठाएनन्,” उनले त्यो क्षण सम्झिन् ।

मसिन र ढुवानीका लागि पेश्कीमा नै २० लाख रुपैयाँभन्दा धेरै खर्च भएको उनले बताइन् । पेश्की लिएर मसिन नपठाएपछि हाल उक्त कम्पनी विरुद्ध मुद्दा लडिरहेको उनले सुनाइन् । 

कारखाना बनाउन तयार पारेको रकम डुबेर निकै तनावमा पुगेका थिए डा. भूपेन्द्र । केही दिन उनलाई निद्रै परेन । उनी कामै नगर्ने मनसायमा ‍पुगिसकेका थिए । तर श्रीमतीसहित परिवारबाट काम गर्न हौसला मिलेपछि उनमा जाँगर आयो । 

“परिवारले नै साथ दिएपछि जसरी भएपनि काम गर्छु भन्ने सोचेँ । ऋण खोजेर कलकत्ताबाट चाहिने मसिन किनेर ल्याएँ । र, सप्तरीको शम्भुनाथमा कारखाना सुरु गरेँ ।”

कर महँगो भएपछि समस्या 

बायो डिग्रेडेबल प्लास्टिकका लागि आवश्यक पर्ने कच्चा पदार्थ हाल नेपालमा नै उपलब्ध छैनन् । चीन र भारतबाट आयात गर्नुपर्छ । त्यसमाथि सरकारले लगाएको महँगो करका कारण उत्पादनमा समस्या भएको डा. भूपेन्द्र बताउँछन् । मसिन र कच्चा पदार्थ आयातदेखि बायो डिग्रेडेबल प्लास्टिक बजारमा बिक्री गर्ने बेला ७४ प्रतिशत कर तिर्नुपरेको छ । 

“अरू प्लास्टिक पेट्रोलियम पदार्थबाट बन्छन् । तर हाम्रो प्लास्टिक बनाउन साबुदाना र मकैको प्रयोग गर्नुपर्ने भएकाले महँगो पर्छ ।” तर नेपाल सरकारले पर्यावरणका बारेमा सोचेर कच्चा पदार्थ तथा मसिनरी आयातमा भन्सार छुट गरेर थप सस्तो मूल्यमा बजारमा बिक्री गर्न सकिने उनले सुनाए । 

सरकारले स्वदेशी उत्पादन र वातावरणलाई ध्यानमा राखेर  भन्सारमा छुट गर्न नसकेमा प्लास्टिकमा कर बढाउन उनी चुनौती दिन्छन् । “यदि वैकल्पिक प्लास्टिक उत्पादनका लागि करमा छुट दिन सक्दैन भने पेट्रोलियम पदार्थबाट बन्ने प्लास्टिकमा पनि हामीलाई जस्तै महँगो कर लगाउनु पर्‍यो । त्यसपछि मात्र बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ ।”

सरकारले जलवायु परिवर्तनका विषयमा आवाज उठाउँदै आउँदा प्लास्टिक व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याए । करमा कमीका साथै नीति नै बनाएर पेट्रोलियम पदार्थबाट बनेका प्लास्टिक उत्पादन र प्रयोगमा निरुत्साहन गर्ने र जैविक रुपमा नष्ट हुने झोला सस्तोमा उत्पादन हुने वातावरण निर्माण गर्नु पर्ने उनको माग छ । 

यता, समाजमा बायो डिग्रेडेबल उत्पादनको फाइदा र प्लास्टिकको बेफाइदाबारे चेतनाको कमी रहेको डा. भितास्ताको बुझाई छ । 

त्यसैले ग्राहकले मूल्य हेरेर प्लास्टिक नै खरिद गर्ने गरेका छन् । बजारमा हानिकारक प्लास्टिक सस्तो पर्ने भएकाले बायो डिग्रेडेबलले बजार पाउन समस्या भएको उनले सुनाइन् । 

यद्यपी कम्पनीले विभिन्न चुनौतीका बाबजुद २० जनालाई रोजगारी दिँदै आएको छ । उनी भन्छिन्, “विशेषगरी यहाँका स्थानीय महिलालाई रोजगारी दिन सकियोस् भन्नेमा जोड दिएका छौँ ।”

बायो डिग्रेडेबल बोतल बनाउने योजना 

सरकारले पटक पटक प्लास्टिकको झोला प्रयोगलाई कम गर्ने नीति ल्याएपनि सफल हुन नसकेको डा. भितास्ता बताउँछिन् । यसको पछाडि प्लास्टिकलाई ‘रिप्लेस’ गर्न सक्ने गतिलो वैकल्पिक झोला बजारमा नआउनु हो । 

उनले भनिन्, “बजारमा कागजको झोला नै एउटाको १० रुपैयाँसम्म पर्छ । अझ कपडाको झोला झन महँगा छन् । अहिलेसम्म बजारमा आएका अन्य बायो डिग्रेडेबल झोला पनि महँगो छन् । प्लास्टिकसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय र सस्तो झोला बजारमा आएका नै थिएनन् ।”

आफूहरूले भने सहुलियत मूल्यमा नै बजारमा बायो डिग्रेडेबल झोला बनाएर प्लास्टिकको झोलाको विकल्प बन्ने लक्ष्य राखेको उनले बताइन् । उनले भनिन्, “नेपाली बजारको २० प्रतिशत झोला बायो डिग्रेडेबल झोलाले ओगट्ने गरि बजारमा जाने लक्ष्य राखेका छौँ ।” 

यता प्लास्टिकको झोलामात्र नभएर बोतलहरू पनि वातावरणका लागि निकै हानिकारक भएको डा. भूपेन्द्र बताउँछन् । उनले भने, “मिनिरल वाटरको बोतलमा पानी खाएर जथाभाबी फालिरहेका हुन्छन् । यो निकै ठुलो समस्या भएको छ । वातावरणमा पनि धेरै असर पुर्‍याइरहेको छ ।” यहीकारण भावी दिनमा जैविक रूपमा नष्ट हुने बायो डिग्रेडेबल बोतल बनाउने सोच रहेको उनले सुनाए । त्यस्तै अहिलेको झोलाको गुणस्तर थप बढाउँदै जाने र १० केजी क्षमतासम्मका झोला बनाउने योजना राखिएको छ । 

पछिल्लो अध्यावधिक: असार २१, २०८२ १७:२३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट