
काठमाडौँ । बिहीबार, १९ असार २०८२ (४ जुलाई २०२५) मा अनलाइनखबर, नागरिक न्युज, नेपाल खबर लगायतका अनलाइन माध्यमले ५ महिनामै २४५ मिटर लामो विनयी खोला पुल निर्माण सम्पन्न भएको समाचार राखे । अच्युत पुरीको बाइलाइनमा अनलाइन खबरमा प्रकाशित उक्त समाचारमा नारायणगढ-बुटवल सडक खण्डमा पर्ने २४५ मिटर लामो विनयी खोला पुल पाँच महिनाकै अवधिमा निर्माण सम्पन्न भएको दाबी गरिएको छ ।
नागरिक दैनिकले समेत ५ महिनामै पुल निर्माण भएको समाचार वसन्त ढुंगानाको बाइलाइनमा राखेको छ । उता नेपाल खबरले भने बाइलाइन बिनाको समाचारमा ६ महिनामै पुल बनेको दाबी गरेको छ । मूलधार भनिने अनलाइन माध्यमले यस खाले समाचार राखेपछि अन्य विभिन्न सामाजिक सञ्जाल पेज तथा प्रयोगकर्ताहरूले समेत यस्तै दाबी सहित समाचार तथा दाबीहरू शेयर गरिरहेको पाइयो ।
तर, टेकपानाको फ्याक्टचेकले भने उक्त दाबी भ्रामक रहेको तथ्य फेला पारेको छ । वास्तवमा सन् २०१९ देखि निर्माण सुरु भएको यो पुल भर्खर अहिले आएर मात्रै सम्पन्न भएको हो । पाँच महिनाअघि सोही ठाउँमा रहेको करिब पाँच दशक पुरानो पुल भत्किएपछि निर्माण कार्यलाई केही तीव्रता भने दिइएको थियो । लामो समयदेखि निर्माणाधीन पुलको अन्तिम चरणको कामलाई आधार मानेर ‘पाँच महिनामै पुल बनेको’ भन्दै अनलाइन सञ्चार माध्यम तथा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भ्रामक समाचार प्रकाशन तथा शेयर गरेको पाइएको छ ।

दाबी
बिहीबार, १९ असार २०८२ (४ जुलाई २०२५) मा अनलाइनखबरले ‘पुल निर्माणमा अभूतपूर्व उपलब्धि, ५ महिनामै बन्यो २४५ मिटर लामो विनयी खोला पुल’ शीर्षकमा एक समाचार प्रकाशित गर्यो । अच्युत पुरीको बाइलाइनमा प्रकाशित उक्त समाचारमा नारायणगढ-बुटवल सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनालको भनाइलाई स्रोतका रूपमा प्रस्तुत गरिएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।
समाचारको लिडमा लेखिएको छ, “नेपालमा पुल निर्माणमा नयाँ कीर्तिमान बनेको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोला पुल ५ महिनामै तयार पारी बिहीबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको छ।”
यसबाट पाँच दशक पुरानो पुल भाँचिएको पाँच महिनामै नयाँ पुल सम्पूर्ण रूपमा तयार भएको सन्देश दिएको छ । तर, समाचारको बीचमा ‘पुरानो पुल भाँच्चिनु अघि कुन हालतमा थियो नयाँ पुल ?’ उपशीर्षक राखेर लेखिएको अंशले नै समाचारको मूल दाबीलाई खण्डन गर्छ । त्यसमा पुरानो पुल भत्किनुअघि नै नयाँ पुलका आठमध्ये दुई ओटा स्पानमा सुपरस्ट्रक्चरको काम सकिएको उल्लेख छ ।
अर्थात् समाचारमा अगाडि भनिएको छ, “५ वर्षदेखि निकै सुस्त गतिमा काम गरेको चिनियाँ निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसनले समेत काममा गति दियो । वर्षाअघि बाँकी रहेको ६ स्पानको सुपरस्ट्रक्चर र दायाँ-बायाँको एप्रोच सडक समेत बनाउन निर्माण व्यवसायीकै सक्रियताले भूमिका खेलेको उनले बताए ।”
यो समाचार सामाजिक सञ्जालहरूमा शेयर गरिएको छ । अनलाइनखबरको आधिकारिक फेसबुक पेजबाट यो पोस्ट दुई पटक शेयर भएको देखिन्छ । यो फ्याक्टचेक गर्दासम्म पहिलो पटक शेयर गरिएको पोस्टमा १२०० भन्दा बढी लाइक (रियाक्सन सहित) र १०० कमेन्ट आएका छन् भने ३८ पल्ट शेयर भएको छ (हेर्नुहोस्: ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क, स्क्रिनशट) । वेबसाइटभित्र जाँदा समाचार ८ हजारभन्दा बढी पल्ट शेयर भएको देखाइएको छ ।
दोस्रो पटक शेयर गरिएको पोस्टमा ८१० रियाक्सन, ९२ कमेन्ट र १३ शेयर छन् । (हेर्नुहोस्: ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट, स्क्रिनशट) ।
अनुसन्धान
अनलाइन खबरमा समाचार आइसकेपछि अन्य अनलाइन न्युज पोर्टल, फेसबुक पेज तथा प्रयोगकर्ताले यही शीर्षक कपी पेस्ट गर्दै राखेका छन् । नेपाल खबर (अर्काइभ), नागरिक न्युज (अर्काइभ) पालिका टेलिभिजन, शिव डुम्रे, गणेश बस्नेत, महेन्द्रबहादुर गुरुङ लगायतका प्रयोगकर्ताले अनलाइन खबरकै जस्तो शीर्षक र क्याप्सन राखेर शेयर गरेका छन् ।
टेकपाना फ्याक्टचेकले यही विषयमा तथ्यजाँच गर्ने क्रममा अनलाइन खबरमा प्रकाशित समाचारको बीच खण्डमै माथिको दाबीलाई खण्डन गरेको फेला पार्यो । समाचारको शीर्षक, आमुख र मध्य भागको सुरुवाततिर पुल पाँच महिनामै निर्माण सम्पन्न भएको दाबी गरिएको छ । तर, मध्य भागमा उपशीर्षक राखेर नयाँ पुलको निर्माण कार्य पाँच वर्षअघिदेखि थालिएको बताइएको छ । त्यसमा लेखिएको छ, “५ वर्षदेखि निकै सुस्त गतिमा काम गरेको चिनियाँ निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसनले समेत काममा गति दियो । वर्षाअघि बाँकी रहेको ६ स्पानको सुपरस्ट्रक्चर र दायाँ-बायाँको एप्रोच सडकसमेत बनाउन निर्माण व्यवसायीकै सक्रियताले भूमिका खेलेको उनले बताए ।” त्यसपछि भने पछिल्लो पाँच महिनामा पुल निर्माण कार्य कसरी तीव्र गतिमा अगाडि बढ्यो भन्ने उल्लेख गरिएको छ ।
यस विषयमा हामीले नारायणगढ-बुटवल सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनाललाई सम्पर्क गर्यौँ । पछिल्लो पाँच महिनामा पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको विषयलाई अनलाइन खबरले फरक रूपले व्याख्या गरी समाचार लेखेको उनले बताए ।
“पाँच महिनामा पुल बन्यो भनेर आएका समाचारहरूमा केही गलत व्याख्या भएको छ,” खनालले भने, “यो पुलको फाउन्डेसन (जग) र दुई ओटा स्पान (एक पिलरदेखि अर्को पिलरमाथि राखिने पुलको भाग) पहिले नै बनिसकेका थिए । पाँच महिनाको अवधिमा निर्माण सम्पन्न भएको भनेको बाँकी रहेका ६ ओटा स्पानको ‘सुपर स्ट्रक्चर’ (गाडी गुड्ने स्ल्याबसहितको माथिल्लो भाग) मात्र हो ।”
इन्जिनियर खनालले पुलको जग र पिलर (सब-स्ट्रक्चर) को काम पहिल्यै सकिएको र बाढीले क्षति पुर्याएपछि माथिल्लो भागको कामलाई तीव्रता दिइएको बताए । यद्यपि छोटो समयमा यति धेरै काम सम्पन्न हुनुलाई उनी आफैँमा एउटा उपलब्धि मान्छन् ।
यो पुलको निर्माण मात्र नभएर समग्र सडक विस्तार आयोजना नै सन् २०१९ बाटै सुरु भएको थियो । अहिले पुल सञ्चालनमा आए पनि समग्र आयोजनाको काम सम्पन्न हुन भने अझै समय लाग्ने खनालले जानकारी दिए ।
“यो पुलको आयोजना सन् २०१९ बाटै सुरु भएको हो, समग्रमा परियोजना सुरु भएको ६ वर्ष भइसक्यो । अहिले पुल सञ्चालनमा आए पनि समग्र आयोजना सम्पन्न हुन अझै करिब एक वर्ष लाग्न सक्छ,” खनालले भने ।
उक्त सडकमा भएको पुरानो पुल २६ पुस २०८१ मा भारतीय ट्रकले ठक्कर दिँदा भाचिएको थियो । त्यही दिन ‘टकेन्द्र बोहोरा’ले आफ्नो युट्युब च्यानलमा ‘दुम्किबासमा आज पुल भाचियो हामी बाचियो । महेन्द्र राजमार्ग अवरुद्ध । धन्न केही भयन ।’ शीर्षकमा भिडिओ राखेका थिए । उक्त भिडिओको ३७ औं सेकेन्डमा दायाँतिर नयाँ पुल निर्माण भइरहेको देखिन्छ । यतिसम्म कि पुल भासिएको हेर्न केही व्यक्ति त्यही नयाँ पुलमाथि चढेर हेरिरहेका देखिन्छन् । भिडिओको लगभग अन्तिमसम्म नै नयाँ पुल निर्माण भइरहेको प्रस्ट देखिन्छ ।
यी विभिन्न तथ्यलाई आधार मान्दा अनलाइन खबर, नागरिक न्युज, नेपाल खबर आदिले ‘पाँच महिनामै २४५ मिटर पुलको निर्माण सम्पन्न गरी कीर्तीमान’ भन्दै भ्रामक शीर्कक राखेको पुष्टि हुन्छ ।
दाबी
पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ खण्डको दुम्कीबासस्थित ‘विनयी खोला पुल’ ५ महिनामै तयार भएको कीर्तिमान राख्यो ।
दाबीकर्ता
अनलाइन खबर । नेपाल खबर । नागरिक न्युज । अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बुटवल-नारायणगढ खण्डको दुम्कीबासस्थित ‘विनयी खोला पुल’ पाँच महिनामै निर्माण सम्पन्न भएको होइन । यसको निर्माण कार्य सन् २०१९ देखि नै सुरु भएको थियो ।
करिब पाँच महिनाअघि त्यहाँ रहेको पाँच दशक पुरानो पुल भत्किएपछि त्यसअघि कछुवा गतिमा बनिरहेको नयाँ पुल निर्माणको कामले केही तीव्रता मात्रै पाएको हो । समग्र पुल पाँच महिनामा बनेको नभई पछिल्लो पाँच महिनाको अवधिमा बाँकी रहेको ६ ओटा स्पान र सुपरस्ट्रक्चरको काम सम्पन्न भएर पुल बिहीबारदेखि सञ्चालनमा आएको हो ।
निष्कर्ष
बिहीबार, १९ असार २०८२ (४ जुलाई २०२५) मा अनलाइनखबरले ‘पुल निर्माणमा अभूतपूर्व उपलब्धि, ५ महिनामै बन्यो २४५ मिटर लामो विनयी खोला पुल’ शीर्षकमा एक समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको शीर्षक र आमुखमा २४५ मिटर लामो पुल पाँच महिनामै सम्पन्न भएको दाबी गरिएको छ ।
तर, त्यही समाचारको मध्यभागमा राखिएको उप-शीर्षकमा पुरानो पुल भाँचिनुअघि नै नयाँ पुलको अवस्थाबारे उल्लेख छ । अर्थात् समाचारमा एकातिर पुल पाँच महिनामै बनेको दाबी गरिएको छ भने अर्कोतिर त्यसको निर्माण पाँच वर्षअघि नै सुरु भएको तथ्य पनि उल्लेख छ ।
अनलाइन खबरलाई पच्छ्याउँदै नागरिक न्युजले पनि ‘नारायणगढ-बुटवल सडक: पाँच महिनामै विनयी खोलामा पुल निर्माण’ शीर्षकको समाचार राखेको छ । नेपाल खबर नामक अनलाइनले ‘विनयी खोलामा ६ महिनामै बन्यो नयाँ पुल, चल्न थाले गाडी’ भनेर हेडलाइन राखेको छ ।
यसबाहेक समाचारमा उद्धृत गरिएका आयोजनाका सूचना अधिकारी शिव खनालले समेत आफ्नो भनाइको आशय नै बङ्ग्याएर प्रस्तुत गरिएको बताएका छन् । पुरानो पुल भत्किएको दिन युट्युबमा अपलोड गरिएको एक भिडियोमा पनि नयाँ पुलको अधिकांश काम पहिल्यै सम्पन्न भइसकेको देखिन्छ ।
यी विभिन्न तथ्य र आधारहरूले अनलाइनखबरमा प्रकाशित उक्त समाचारको शीर्षक र लिड भ्रामक रहेको पुष्टि हुन्छ ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ १७:५२
सामाग्री श्रोत :
टेक पाना