२०८२ असार २१ शनिबार
LATEST NEWS
२०८२ असार २१ शनिबार

साढे १३ अर्बभन्दा बढीको जोइनिङ बोनससहित मेटामा आबद्ध भए भारतका त्रपिट बंशल

काठमाडौँ । सिलिकन भ्यालीमा चलिरहेको प्रविधि कम्पनीहरूको तीव्र प्रतिस्पर्धा बीच भारतीय ट्यालेन्टहरूले समेत ठुलो लाभ उठाइरहेका छन् । यसै क्रममा आईआईटी कानपुरका त्रपिट बंशल ओपनएआई छोडेर मेटामा आबद्ध हुन पुगेका छन् ।

उनी १०० मिलियन डलरको जोइनिङ बोनससहित हालै मेटाको सुपरइन्टेलिजेन्स ल्याबमा सामेल भएको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । यो रकम करिब १३ अर्ब ६२ करोड नेपाली रुपैयाँ बराबर हुन्छ । जुन एप्पलका सीईओ टिम कुकको वार्षिक आम्दानी (७४.६ मिलियन डलर) भन्दा २५ मिलियन डलर (२ करोड ५० लाख डलर) बढी भएको बताइएको छ ।

त्रपिट बंशल सन् २०१२ को ब्याचका आईआईटी कानपुरका स्नातक हुन् । उनले आईआईटीबाट म्याथम्याटिक्स (गणित) र स्टाटिस्टिक्स (तथ्याङ्क)मा डिग्री हासिल गरेका छन् । उनले म्यासाचुसेट्स विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा पीएचडी पनि गरेका छन्, जहाँ उनले डिप लर्निङ, मेटा-लर्निङ र नेचुरल ल्याङ्वेज प्रोसेसिङ (एनएलपी) मा विशेषज्ञता हासिल गरे ।

उनको करियर सन् २०१२ मा गुडगाउँको एक कन्सल्टिङ कम्पनीमा विश्लेषकको रूपमा सुरु भएको थियो । त्यसपछि उनले बैंगलोरको इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएससी) मा इन्टर्नको रूपमा काम गरे । समयक्रमसँगै उनले फेसबुक (२०१६), ओपनएआई (२०१७) , गुगल (२०१८), र माइक्रोसफ्ट (२०२०) मा विभिन्न भूमिकामा रहे ।

सन् २०२० मा उनले ‘फ्यु-शट नेचुरल ल्याङ्वेज प्रोसेसिङ बाई मेटा-लर्निङ विदआउट लेबल डेटा’ शीर्षकको आफ्नो पीएचडी शोधपत्रको डिफेन्स गरे । सन् २०२२ मा बंशल फुल-टाइम प्राविधिक कर्मचारीको रूपमा ओपनएआईमा आबद्ध भए । त्यहाँ उनले सह-संस्थापक र मुख्य वैज्ञानिक इल्या सुत्स्केभरसँग रिइन्फोर्समेन्ट लर्निङ (आरएल) को काम गरे । साथै कम्पनीको पहिलो एआई रिजनिङ मोडल ०१ को निर्माणमा संलग्न भए । उनको योगदानलाई च्याटजीपीटीको रिजनिङ क्षमताहरूको जग मानिन्छ । उनले रिइन्फोर्समेन्ट लर्निङ र रिजनिङलाई आकार दिनमा महत्त्वपूर्ण भूमिका खेले ।

अहिले त्रपित बंशल मेटाको सुपरइन्टेलिजेन्स टोलीमा सामेल भएका छन् । यो टोली मार्क जुकरबर्गले हालै औपचारिक रूपमा सुरु गरेको मेटा सुपरइन्टेलिजेन्स ल्याब्स (एमएसएल) को एक हिस्सा हो । यो डिभिजन आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) को विकासमा समर्पित छ । यसले ओपनएआई, एन्थ्रोपिक र गुगल डिपमाइन्ड जस्ता प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको छ ।

मेटाले आक्रामक रूपमा एआईका ट्यालेन्टहरूलाई आकर्षित गरिरहेको छ । जसमा ओपनएआईका पूर्व सीईओ अलेक्जेन्डर वाङ र गिटहबका पूर्व सीईओ नट फ्रिडम्यान जस्ता दिग्गजहरू पनि छन् । कम्पनीले एआई अनुसन्धानकर्ताहरूलाई चार वर्षका लागि ३०० मिलियन डलरसम्मको प्याकेज अफर गरिरहेको छ। यद्यपि बंशलको सम्झौताको विवरण त्यति स्पष्ट त छैन ।

मेटा पछिल्लो समय एआईलाई लिएर लामा ४ मोडेल र मेटा एआई एप वरिपरि केन्द्रित छ । लामा ४ मोडेलले नयाँ मेटा एआई एपलाई पावर दिनेछ र यसलाई ओपनएआई र गुगल जस्ता कम्पनीहरूका मोडेलहरूसँग प्रतिस्पर्धा गर्न डिजाइन गरिएको हो । मेटाको एआई एपले सामाजिक सञ्जालको पर्सनलाइजेसनलाई भोइस-बेस एआईमा जोडेर करिब १ अर्ब प्रयोगकर्ताहरूलाई आकर्षित गरिरहेको छ ।

मेटाले एआईलाई फेसबुक, इन्स्टाग्राम, र ह्वाट्सएपमा एकीकृत गरेर प्रयोगकर्ताको आवश्यकता बुझ्ने र भविष्यवाणी गर्ने एआईको क्षमतालाई समेत बढावा दिइरहेको छ । यसका अतिरिक्त, मेटाको एआई रे-बान मेटा ग्लाससम्म विस्तार भएको छ ।

बंशलको विशेषज्ञताले मेटालाई सार्वजनिक रूपमा उपलब्ध एआई रिजनिङ मोडेलको विकासलाई तीव्र बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । उनको सिस्टम निर्माण सम्बन्धी विशेषज्ञताले मेटाको अर्को पुस्ताका लार्ज ल्याङ्वेज मोडेललाई आकार दिनेछ र सम्भवतः ओपनएआईको ०३ तथा डिपसिकको आर १ सँग प्रतिस्पर्धा गर्न सक्नेछ ।

 

पछिल्लो अध्यावधिक: असार २०, २०८२ १८:२५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट