काभ्रेपलाञ्चोक। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो ।

कार्यालयद्वारा आज जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ ।
यसअघि यही असार ६ गते काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बिपी राजमार्गमा असार ७ गतेदेखि सोही समयमा करिब १० घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाएको थियो ।
मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई यसअघि १५ दिनका लागि राति सञ्चालनमा रोक लगाइएको काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

उनका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो । आइतबारदेखि काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ ।
गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड सडक नै बगाएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको यस राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् ।
बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । क्षतिग्रस्त राजमार्ग निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ