काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को समयमा खोजी र उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन प्रविधिको प्रयोगको पूर्वतयारी थालेको छ । यसैक्रममा, प्राधिकरणले सुरक्षा निकायका कर्मचारीहरू सहितका सहभागीलाई लक्षित गर्दै ड्रोन सञ्चालन सम्बन्धी दुई दिने तालिम सञ्चालन गरेको छ ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार तालिममा ड्रोनसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिएको छ । “अब प्रविधिको प्रयोग गर्ने बेला आएको छ,” उनले भने, “विपद्को समयमा ड्रोन प्रयोग गरेर उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले तालिम दिएका हौँ ।”
तालिममा प्राधिकरणका २५ जना कर्मचारीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ७/७ जना गरी विभिन्न निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । हाल यो तालिम काठमाडौँ उपत्यकामा केन्द्रित रहेर सञ्चालन गरिएको हो । प्रवक्ता सुनारका अनुसार, आगामी दिनमा देशका अन्य भागमा पनि सुरक्षा निकायलाई थप तालिम दिइनेछ ।
ड्रोन प्रविधिले बाढी, पहिरोजस्ता विपद्का बेला उद्धारकर्मी पुग्न नसक्ने स्थानहरूको दृश्य अवलोकन तथा स्थलगत जानकारी संकलन गर्न सघाउने प्राधिकरणको भनाइ छ । विशेषगरी सम्पर्क विच्छेद भएका वा आवतजावत अवरुद्ध भएका क्षेत्रमा ड्रोन अत्यन्त उपयोगी हुने बताइएको छ ।

हाल खोजी तथा उद्धार कार्यका लागि प्राधिकरणसँग साना स्केलका ड्रोनहरू उपलब्ध छन् । “हाल उपलब्ध ड्रोन पर्याप्त छैनन्,” प्रवक्ता सुनारले भने, “तर विपद्को समयमा प्रविधिको विकल्प छैन । त्यसैले हामी जनशक्ति र प्रविधि दुवै तयारीमा जुटेका छौँ ।”
निकट भविष्यमा खोजी, उद्धार तथा राहत वितरण कार्यमा ड्रोनको प्रयोगलाई संस्थागत बनाउँदै देशव्यापी रूपमा यसको विस्तार गर्ने योजना प्राधिकरणले अगाडि सारेको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ ६:३४
सामाग्री श्रोत :
टेक पाना