काठमाडौं- उपचारमा लापरबाहीका घटनाहरूमा भर्खरै गठित उपभोक्ता अदालतले लगातार तीनवटा फैसला गरेको छ। सही उपचार प्रक्रिया नअपनाइएका कारण ज्यान नै गएको तथा झन् पीडा थपिएको विषयलाई लिएर गरिएका उजुरीमा अदालते अस्पताल तथा चिकित्सकहरूलाई करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्ने गरी फैसला सुनाएको हो।
विभिन्न तीन बिरामी र उनीहरुका आफन्तको उजुरीमा ॐ अस्पताल, हिमाल अस्पताल र ग्रान्डी सिटी अस्पतालमा उपचारका क्रममा लापरबाही भएको ठहर अदालतले गरेको छ।
उपभोक्ता अदालतका लगातार फैसलाले स्वास्थ्य क्षेत्रमा तरंग सिर्जना गरेको छ। अस्पताल र चिकित्सकहरु यसले आफूलाई हतोत्साही बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरोकारवाला भेट्न पुगेका छन्।
नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल, निजी अस्पताल र मेडिकल कलेज संघका प्रतिनिधिहरूले प्रधानमन्त्रीसँग भेट गरी अदालतका निर्णयले चिकित्सकको मनोबल खस्किने चिन्ता उनीहरुले प्रकट गरेका छन्। नेपाल चिकित्सक संघले सरोकारवालाहरु सँगको संवाद पनि अघि बढाएको छ।
अहिलेसम्म चिकित्सा क्षेत्रका तीनवटा फैसला भएका छन्। जसको परिणाम यसप्रकार छ ।
ॐ अस्पताललाई ५६ लाख ८१ हजार
ओम अस्पतालले उपचारमा लापरबाही गरेको ठहर गर्दै उपभोक्ता अदालतले ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ। रामप्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले यो फैसला गरेको हो।
बासन्त गौतमले आफ्ना बुवा हरिहरप्रसाद गौतमको उपचारमा लापरबाही भएको दाबी गर्दै ५ करोड क्षतिपूर्तिको मागसहित उजुरी दायर गरेका थिए। ९८ वर्षीय गौतमलाई बाथरुममा लडेपछि चाबहिलस्थित ॐ अस्पताल लगिएको थियो, जहाँ इमरजेन्सी कक्षमा सामान्य चेकजाँच गरेर डिस्चार्ज गरिएको थियो। पछि अर्को अस्पतालमा एक्सरे गर्दा खुट्टामा फ्याक्चर देखिएको थियो।
जम्मा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ती भराउने आदेश भएको छ। अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न २ चिकित्सकलाई ३ लाख ५ हजारका दरले २० प्रतिशत क्षतिपूर्ति भराउने आदेश भएको हो।
ग्राण्डी सिटी अस्पताल र चिकित्सकलाई ५७ लाख १९ हजार
वर्षा भण्डारीले आफ्नो खुट्टाको शल्यक्रियापछि संक्रमण भइ पीडा बढेको भन्दै ग्राण्डी सिटी अस्पताल र चिकित्सक डा. संजीव त्रिपाठीविरुद्ध ३ करोड १७ लाख क्षतिपूर्ति दाबी गरेकी थिइन्।
उपभोक्ता अदालतले अस्पताल र चिकित्सकको तुलनात्मक लापरबाहीको जिम्मेवारी निर्धारण गर्दै ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्तिको आदेश दिएको हो।
अदालतका अनुसार चिकित्सक त्रिपाठीले ७० प्रतिशत (४० लाख ३ हजार ३००) र अस्पतालले ३० प्रतिशत (१७ लाख १५ हजार ७००) बेहोर्नुपर्नेछ।
हिमाल अस्पताल र डाक्टरलाई १ करोड ४५ लाख
गंगा गौतमले २८ महिनाकी छोरी प्रशंसा गौतमको मृत्यु लापरवाहीका कारण भएको भन्दै हिमाल अस्पताल र चिकित्सकमाथि उजुरी दायर गरेका थिए।
अदालतले अस्पताललाई १ करोड १ लाख ८० हजार र बालरोग विशेषज्ञ डा. जयदेव यादवलाई ४३ लाख ६३ हजार रुपैयाँ तिर्न आदेश दिएको छ। नेपाल मेडिकल काउन्सिलले यसअघि यादवलाई ‘लापरवाही गर्दै उपचार नगरेको’ भन्दै चेतावनी मात्र दिएको थियो, तर अदालतले काउन्सिलको प्रतिवेदनसमेत आधार बनाई ठोस फैसला सुनाएको हो।
सरोकारवालाको भनाइ
चिकित्सकीय लापरवाही प्रमाणित गर्ने कार्य मेडिकल काउन्सिलको कार्यक्षेत्र : डा अनिल कार्की, अध्यक्ष एनएमए
चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की स्वास्थ्य सेवाको विशिष्ट प्रकृतिको भएको बताउँछन्। डा कार्कीका अनुसार स्वास्थ्य सेवा अन्य उपभोग्य वस्तु वा सेवाभन्दा फरक छ। यो आकस्मिक र आधारभूत सेवा हो र यसमा चिकित्सक र बिरामीबीचको विश्वासको सम्बन्ध महत्त्वपूर्ण हुन्छ, जसलाई उपभोक्ता अदालतले परिभाषित गर्न नमिल्ने तर्क उनको छ।
चिकित्सा क्षेत्रबाट मर्का परेका उपभोक्ताले न्याय पाउन थालेका छन् : विष्णु प्रसाद तिमिल्सेना, वरिष्ठ अधिबक्ता
सामाग्री श्रोत :
swasthyakhabar

