काठमाडौँ । स्मार्टफोनमा बैंक विवरणदेखि परिवार र साथीहरूको तस्बिरसम्मका निजी जानकारी भरिएको हुन्छ । यस्ता डेटालाई सुरक्षित राख्न प्रयोगकर्ताले सतर्कता अपनाए पनि केही साइबर आक्रमणबाट जोगिन गाह्रो पर्छ । त्यसमध्ये एक हो- ‘स्टिङरे अट्याक’ (stingray attack) । यो आक्रमण विधिबाट फोनका कल र एसएमएसहरू चोरी गरिन्छ ।

स्टिङरे अट्याकमा स्मार्टफोनलाई नक्कली टावरसँग जडान गराइन्छ र प्रयोगकर्ताको फोन सम्पर्क र मेसेजहरू निगरानी गरिन्छ । यस्तो आक्रमणबाट जोगाउन गुगलले एन्ड्रोइड १६ मा नयाँ सुरक्षा फिचर ल्याउने तयारी गरेको छ ।
गुगलले ‘मोबाइल नेटवर्क सेक्युरिटी’ नामक नयाँ सेटिङ पुनः ल्याउँदैछ । यो सेटिङ फोनको ‘सेफ्टी सेन्टर’ मा रहनेछ, जुन ‘सेक्युरिटी एन्ड प्राइभेसी’ ट्याबमार्फत प्रयोग गर्न सकिन्छ ।
के छ त नयाँ फिचरमा ?

‘मोबाइल नेटवर्क सेक्युरिटी’ मा दुई प्रमुख विकल्प रहनेछन् । पहिलो हो- ‘नेटवर्क नोटिफिकेसन’ । यसलाई अन गरेपछि फोन अनइन्क्रिप्टेड नेटवर्कमा कनेक्ट हुँदा वा फोनको युनिक आइडेन्टिफायर (जस्तै IMEI) माग्दा प्रयोगकर्तालाई सूचना दिन्छ । यो सुविधा डिफल्ट रूपमा अफ रहनेछ ।
दोस्रो ‘टुजी नेटवर्क प्रोटेक्सन’ हो । यसले फोनमा टुजी नेटवर्क डिसेबल गर्ने वा इनेबल गर्ने विकल्प दिन्छ । टुजी नेटवर्क हाल पनि धेरै कमजोर मानिन्छ र साइबर आक्रमणका लागि सजिलो लक्ष्य मानिन्छ ।
तर यो सुविधा हालको सबै फोनमा आउने छैन । एन्ड्रोइड १६ सँगै आउने नयाँ स्मार्टफोनहरूमा मात्र यो सुविधा उपलब्ध हुने बताइएको छ । यसको लागि फोनमा ‘एन्ड्रोइडको रेडियो HAL 3.0 ड्राइभर’ सपोर्ट हुनुपर्छ । हाल एन्ड्रोइड १६ अपडेट भइसकेका पिक्सेल फोनहरूमा भने यो फिचर नदेखिएको विभिन्न मिडियाले उल्लेख गरेका छन् ।
यसपहिले एन्ड्रोइड १२ मा गुगलले टुजी नेटवर्क अफ गर्ने सुविधा ल्याएको थियो । एन्ड्रोइड १५ मा भने कुनै नेटवर्कले फोनको युनिक आइडेन्टिफायर माग्दा प्रयोगकर्तालाई सचेत गराउने फिचर थपिएको थियो । तर अब एन्ड्रोइड १६ मा यो अझ सशक्त र स्पष्ट रूपमा उपलब्ध हुने भएको हो ।
पछिल्लो अध्यावधिक: असार १४, २०८२ २२:१
सामाग्री श्रोत :
टेक पाना