काठमाडौँ । आजको युगमा काम, अध्ययन, स्ट्रिमिङ र वेब ब्राउजिङका लागि छिटो र भरपर्दो इन्टरनेट अपरिहार्य बनिसकेको छ । तर, हामीलाई कति स्पिड चाहिन्छ वा इन्टरनेट स्पिडको अर्थ के हो भन्ने कुराले अलमलमा पारिरहेको हुन्छ ।

इन्टरनेट कनेक्टिभिटीका दुई महत्त्वपूर्ण पक्षहरू छन्, ब्यान्डविथ र लेटेन्सी । यी दुई प्रायः एक अर्कासँग जोडिने गर्छन्, तर अर्थ भने फरक छ । यद्यपि दुवैले हाम्रो इन्टरनेट अनुभवको स्पिड र गुणस्तरमा ठुलो प्रभाव पारिरहेका हुन्छन् ।
आज हामी तपाईँलाई ब्यान्डविथ र लेटेन्सीबिचको भिन्नतालाई सरल रूपमा बुझाउँदै छौँ । ब्यान्डविथले एकै पटकमा कति डेटा ट्रान्समिट गर्न सकिन्छ भनेर बुझाउँछ ।
अर्थात् ब्यान्डविथले निश्चित समयमा इन्टरनेट कनेक्सनमार्फत अधिकतम कति डेटा पठाउन वा प्राप्त गर्न सकिन्छ भन्ने जनाउँछ । यसलाई सामान्यतया मेगाबिट प्रति सेकेन्ड (एमबीपीएस) वा गिगाबिट प्रति सेकेन्ड (जीबीपीएस) ले जनाइन्छ ।

अर्कोतर्फ लेटेन्सीले भने तपाईँको कम्प्युटरबाट डेटा गन्तव्यमा पुग्न (फिर्ता आउन समेत) लाग्ने समय मापन गर्छ । यी दुई बिचको भिन्नतालाई कार र राजमार्गको उदाहरणको रूपमा समेत बुझ्न सकिन्छ ।
ब्यान्डविथ भनेको राजमार्गमा कति लेनहरू छन् भन्ने हो । अब यसैलाई इन्टरनेटको सन्दर्भमा हेर्दा धेरै लेन भनेको उच्च ब्यान्डविथको रूपमा लिन सकिन्छ । लेटेन्सी भनेको कारलाई गन्तव्यमा पुग्न लाग्ने अवधि हो, अर्थात् छिटोमा यात्रा पुरा गर्न लाग्ने समय ।
हामी इन्टरनेटको स्पिडलाई प्रायः इन्टरनेट प्याकेजका लागि विज्ञापन गरिएको डाउनलोड र अपलोड स्पिडको रूपमा बुझिरहेका हुन्छौँ । तर, ब्यान्डविथ तपाईँको इन्टरनेट पर्फर्मेन्सको एक अंश मात्र हो । तपाईँको इन्टरनेट प्याकेजले दैनिक रूपमा कति राम्रोसँग काम गर्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ ।
हाई-ब्यान्डविथ प्याकेजहरू फास्ट अनुभवसँग सम्बन्धित हुन सक्छन्, तर तपाईँले प्रयोग गरिरेको डिभाइस, इन्टरनेट कनेक्सनको प्रकार र त्यसको लेटेन्सी पनि यसमा छुटाउनै नहुने महत्त्वपूर्ण कारकको रूपमा रहेका हुन्छन् ।
इन्टरनेटको गति परीक्षण गरेर इन्टरनेट कनेक्सनको स्थिति पत्ता लगाउन सकिन्छ । यसका लागि ओकलाको स्पिड टेस्टको सहायता लिन सकिन्छ । जसले डाउनलोड स्पिड, अपलोड स्पिड र लेटेन्सीको जानकारी दिन्छ ।
लेटेन्सी इन्टरनेट पर्फर्मेन्समा प्रायः बेवास्ता गरिएको पाटो हो । तपाईँको डेटा एक ठाउँबाट अर्को ठाउँ पुग्न लाग्ने समयले इन्टरनेटको अनुभव कति छिटो वा ढिलो महसुस हुन्छ भन्नेमा ठुलो प्रभाव पार्छ । यो विशेषगरी अनलाइन गेमरहरूका लागि महत्त्वपूर्ण हुन्छ ।
जहाँ गेमहरूका कमान्ड सर्भरमा जति छिटो रजिस्टर हुन्छन्, त्यति नै उनीहरूको प्रदर्शन पनि राम्रो हुन सक्छ । यद्यपि गेमरहरूले मात्र कम लेटेन्सीको इन्टरनेट केनेक्सनको ख्याल राख्नुपर्छ भन्ने होइन ।
उच्च ब्यान्डविथ वा कम लेटेन्सी: कुन बढी महत्त्वपूर्ण ?
वेब ब्राउजिङलाई इन्टरनेटमा सबैले गर्ने कामको रूपमा लिने हो भने विभिन्न शैक्षिक अनुसन्धान र क्लाउडफ्लेयरका अनुसार २५ एमबीपीएस र त्यसभन्दा उच्च (मानौँ १ जीबीपीएस) इन्टरनेटमा वेब पेजहरू लोड हुने गतिमा खासै फरक हुँदैन । यस विपरीत कम लेटेन्सी भएको इन्टरनेट कनेक्सनले वेब पृष्ठहरूलाई छिटो लोड गर्न र समग्र अनुभव राम्रो बनाउन मद्दत गर्ने कुरामा धेरै फरक पार्न सक्छ । फाइबर इन्टरनेटमा प्रायः अन्य प्रकारका इन्टरनेट कनेक्सनभन्दा कम लेटेन्सी हुन्छ । यदि ब्यान्डविथ समस्या बनिरहेको छ भने, उच्च ब्यान्डविथ प्याकेजमा जान वा अर्को इन्टरनेट सेवा प्रदायक रोज्न सकिन्छ ।
अचेल एआई हाम्रो दैनिक जीवनको हिस्सा बन्दै गइरहेको छ । यस्तोमा चाहे टेक्स्ट च्याटबट होस् वा एआई बटसँग गरिने मौखिक कुराकानी नै किन नहोस्, सहज अन्तरक्रियाका लागि कम लेटेन्सी महत्त्वपूर्ण हुन्छ । मिलिसेकेन्डले मात्रै पनि यसको अनुभवमा निकै फरक पार्न सक्छ ।
पिङ (Ping) को भूमिका
गेमिङ कम्युनिटीमा विशेष गरी ‘पिङ’ र ‘लेटेन्सी’ एकअर्काको सट्टामा प्रयोग भएको सुन्न पाइन्छ । यी शब्दहरू एकअर्कासँग सम्बन्धित भए पनि ठ्याक्कै एउटै भने होइनन् । पिङ भनेको लेटेन्सीको मापन हो, जुन मिलिसेकेन्ड (ms) मा व्यक्त गरिन्छ । इन्टरनेटको स्पिड टेस्टले तपाईँको पिङ रेट बताउन सक्छ । गेमरका लागि सामान्यतया पिङ ५० एमएसभन्दा कम वा कम्तीमा १०० भन्दा कम हुनुपर्छ । पिङ धेरै हुँदा वेबसाइटहरू ढिलो लोड हुने वा जुम मिटिङमा भिडिओ अड्किने समस्या निम्त्याउन सक्छ ।
राम्रो लेटेन्सीका लागि आफ्नो घरको इन्टरनेट डिभाइसहरू अपग्रेड गर्न सक्नु हुन्छ । वाई-फाई र अन्य प्रविधिहरूमा पछिल्लो समय नाटकीय सुधारहरू भएका छन्, जसले लेटेन्सीलाई व्यवस्थापन गर्छन् । स्मार्ट टिभी र डेस्कटप कम्प्युटर जस्ता डिभाइसहरूलाई इथरनेट केबुल मार्फत जोड्न सक्नु हुन्छ । किन कि वाई-फाई आफैँमा बढी लेटेन्सीको कारण बनिरहेको हुन सक्छ ।
यस्तोमा तारबाट जोड्दा छिटो र थप स्टेबल कनेक्सन बन्छ । यस बाहेक आफ्नो आईएसपीलाई सम्पर्क गर्न नहिचकिचाउनु होस्, किनकि उनीहरूको तर्फबाट पनि समाधान गर्न मिल्ने समस्या वा सुधारका ठाउँ हुन सक्छन् । यस हिसाबले अनलाइन आवश्यकताहरू पूरा गर्न कम लेटेन्सी र पर्याप्त ब्यान्डविथ दुवै जरुरी छन् ।
पछिल्लो अध्यावधिक: असार १३, २०८२ १५:५०
सामाग्री श्रोत :
टेक पाना