२०८२ असार १३ शुक्रबार
२०८२ असार १३ शुक्रबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू

सम्भवत विश्वकै एक अग्लो उचाइमा, स्नातक र स्नातकोत्तर तहको फार्मेसी शिक्षा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगत केही वर्षदेखि सञ्चालनमा ल्याएको छ। कर्णाली प्रदेशमा स्वास्थ्य सेवा सुधार र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनको एउटा नयाँ युग सुरु हुँदैछ। विगत चार वर्षदेखि सञ्चालनमा ल्याएको फार्मेसी कार्यक्रमबाट अब छिट्टै पहिलो ब्याचका योग्य र दक्ष फार्मासिस्टहरू स्वास्थ्य सेवा क्षेत्रमा प्रवेश गर्नेछन्। फार्मेसीसँगै प्रतिष्ठानमा चिकित्सक,  नर्स,  जनस्वास्थ्यसँग सम्बन्धित जनशक्ति उत्पादनका कार्यक्रमहरू पनि सञ्चालित छन्। यसले समग्र देशको स्वास्थ्य प्रणालीमा एक महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

फार्मासिस्ट: स्वास्थ्य सेवाको अदृश्य नायक
फार्मासिस्टहरू केवल चिकित्सकले लेखेको औषधि वितरण गर्ने व्यक्तिहरू होइनन्। उनीहरू चिकित्सक र बिरामीबीच ज्ञानको पुल हुन्। औषधिको प्रभावकारी र सुरक्षित प्रयोग सुनिश्चित गर्न फार्मासिस्टले चिकित्सकलाई औषधिका विशेषता, सम्भावित दुष्प्रभाव, र विकल्पहरूको बारेमा महत्वपूर्ण सल्लाह दिने हैसियत राख्दछन्।

औषधि उत्पादनदेखि बिक्री–वितरण, भण्डारण, गुणस्तर परीक्षण र औषधिका दुष्प्रभावको निगरानीसम्म- जहाँ-जहाँ औषधि सम्बन्धी कुनै क्रियाकलाप हुन्छ त्यहाँ फार्मासिस्टहरूको अनिवार्य भूमिका हुन्छ।

आजको आधुनिक चिकित्सा प्रणाली फार्मासिस्ट बिना कल्पना गर्न सकिँदैन। किनभने औषधि नै आधुनिक चिकित्सा प्रणालीको सबैभन्दा प्रभावकारी हतियार हो र त्यो हतियार तयार गर्ने, परीक्षण गर्ने, गुणस्तर नियन्त्रण गर्ने, र उपयुक्त प्रयोगका लागि मार्गदर्शन गर्ने जिम्मा फार्मासिस्टको हातमा छ।  विश्वभर लाखौं लाख फार्मासिस्टहरू औषधि आविष्कारमा पनि तल्लिन छन् विकसित राष्ट्रको तुलनामा नेपालमा भने फार्मासिस्टको भूमिका उजागर गर्न अझै केही समय लाग्ने देखिन्छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशिष्टता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको अन्य फार्मेसी शिक्षण संस्थाभन्दा फरक र प्रभावकारी पाठ्यक्रम अपनाएको छ। यहाँको फार्मेसी पाठ्यक्रममा परम्परागत जडीबुटी सम्बन्धी अध्ययनलाई १७% पाठ्यभार छुट्याएको छ। नेपालका अन्य विश्वविद्यालय र प्रतिष्ठानमा सञ्चालित फार्मेसी कार्यक्रममा प्रयोगात्मक अंश १० देखि २०% हाराहारीमा छ। तर यहाँ प्रयोगात्मक शिक्षाका लागि ३०% छुट्याइएको छ।  यहाँका विद्यार्थीहरू नजिकैको सरकारी आयुर्वेद केन्द्रमा गएर आयुर्वेद चिकित्सा प्रणाली सिक्ने, आयुर्वेदिक औषधि उत्पादन गर्न सिक्ने कार्यहरू पनि गरिरहेका छन्। साथै विविध शैक्षिक भ्रमणमार्फत काठमाडौँमा अवस्थित वनस्पति विभाग तथा विभिन्न अनुसन्धान केन्द्रहरू अवलोकन गरी सिक्दै आइरहेका छन्।

विद्यार्थीहरू देशैभर सञ्चालित  विभिन्न औषधि कम्पनीहरूमा केही हप्ताका लागि औषधि बनाउने कार्य सिक्नका लागि जाने गरेका छन्। प्रतिष्ठानको आफ्नै ३०० सैयाको अस्पताल सञ्चालनमा रहेको हुँदा फार्मेसी विद्यार्थीहरूले विभिन्न चिकित्सा विभागहरू घुम्दै आधुनिक चिकित्सा प्रणालीको अभ्यास पनि सिकिरहेका छन्। साथै प्रतिष्ठानको आफ्नै अस्पताल फार्मेसी भएको हुँदा फार्मेसी विद्यार्थीहरूलाई औषधिसँग सम्बन्धित थप सिकाई पनि अत्यन्तै सहज छ। विद्यार्थीहरू भविष्यमा आफूलाई अनुसन्धानमा अग्रसर गराउन आफ्नो पढाइको उत्तरार्धतिरको सेमेस्टरमा आइपुग्दा विभिन्न अनुसन्धान कार्यहरूमा सरिक हुने गर्दछन्।

अनुसन्धान र नवप्रवर्तनमा थप लगानी बढाउन सके कर्णाली क्षेत्रको अतुलनीय प्राकृतिक स्रोतलाई सदुपयोग गरी औषधि उत्पादनमा नयाँ अवसरहरू खोल्ने तर्फ पनि आगामी दिनमा विद्यार्थी तथा प्राध्यापकहरूको भूमिका अतुलनीय हुनेछ। साथै, कर्णालीको सांस्कृतिक र प्राकृतिक विशेषतालाई ध्यानमा राखेर विद्यार्थीहरूलाई स्थानीय स्रोतहरूबाट औषधि विकास गर्ने ज्ञान प्रदान गर्ने हेतुले हिमालयन हर्बल मेडिसिन विषय पठनपाठन गरिँदै आइएको छ। 

पाठ्यक्रम र यी सबै प्रयत्नहरूले फार्मेसीका विद्यार्थीलाई वास्तविक औषधि उत्पादन, गुणस्तर परीक्षण, भण्डारण र वितरण जस्ता क्रियाकलापमा दक्ष बनाउने छ भन्नेमा कुनै दुई मत देखिँदैन।

४ वर्षको यात्रा, अब योग्य फार्मासिस्ट बजारमा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले झन्डै चार वर्ष अघि शुरु गरेको फार्मेसी कार्यक्रम अहिले अन्तिम सेमेस्टरमा प्रवेश गरेको छ। यस वर्षका विद्यार्थीहरू चाँडै बजारमा आएर स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति बन्ने छन्। यहाँ आउने अधिकांश विद्यार्थीहरू सरकारी छात्रवृत्ति लिएर आएका हुन्छन् उनीहरूले सरकारी योजनामा दुई वर्ष राष्ट्रलाई सेवा गर्नेछन्। सरकारले खटाएको ठाउँमा देशका कुना काप्चामा गएर सेवा दिनेछ। र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकेको ज्ञान, सीप, अनुभव र विनम्रता समाजलाई आवश्यकता अनुसार समर्पित गर्नेछन्। केही हप्ता अगाडि फार्मेसी महाविद्यालयले कुशल फार्मेसी अभ्याससँग सम्बन्धित एक दिने कार्यशाला सञ्चालन गरेको थियो। यस्ता विविध कुराहरूले विद्यार्थीलाई थप अब्बल बनाइरहेको छ।

उत्कृष्ट र अनुभवी प्राध्यापकहरू
फार्मेसी स्कूलमा दुई जना कोरिया र अमेरिकामा फार्मेसीमा विद्यावारिधि र विद्यावारिधि पश्चात्को थप अध्ययन गरेका  शैक्षिक जनशक्ति पनि कार्यरत छन्। यस्ता अनुसन्धानमा समेत अब्बल प्राध्यापकहरूबाट विद्यार्थीहरूले केवल कोरा कागजी ज्ञान मात्र नभएर व्यवहारिक अनुसन्धानमुखी ज्ञान पनि ग्रहण गरिरहेका छन्। विद्यार्थीहरूले आधुनिक औषधि विज्ञानका नवीनतम प्रविधि र अनुसन्धान प्रविधिहरू सिक्ने अवसर पाइरहेका छन्, जसले तिनीहरूलाई स्वास्थ्य क्षेत्रमा अग्रणी र समर्पित व्यावसायी बन्न मद्दत गर्नेमा कुनै दुईमत देखिँदैन।

फार्मासिस्टको बहुआयामिक भूमिका 
औषधि उत्पादन, वितरण र परामर्श मात्र होइन, आजका फार्मासिस्टहरूले औषधि सुरक्षा, रोगीको नियमित निगरानी, डोजिङ सल्लाह, दुष्प्रभावको व्यवस्थापन, फार्माकोविजिलन्स, तथा स्वास्थ्य शिक्षामा पनि व्यापक भूमिका निर्वाह गर्छन्। विशेष गरी एण्टिबायोटिक प्रतिरोध, औषधि दुष्प्रभाव, र नक्कली औषधि नियन्त्रणका क्षेत्रमा फार्मासिस्टहरूले महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।

नेपालमा भने फार्मासिस्टको संख्यात्मक र गुणात्मक अभाव छ। यसले औषधिको विवेकपूर्ण प्रयोगमा चुनौती ल्याउँछ। तर नेपालका झन्डै ३८ जिल्लाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फार्मेसी पढ्न आएका झण्डै ७० बढी विद्यार्थीहरू निकट भविष्यमा योग्य फार्मासिस्ट बन्ने हेतुले अध्ययनरत छन्। यिनीहरूले थोरै भएपनि यस खाडललाई पूर्ति गर्नेछन्। 

चुनौती र सम्भावना
नेपालमा फार्मेसी पेशालाई अझै पूर्ण रुपमा स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा हेरिएको छैन। यद्यपि, स्वास्थ्य नीति र कानुनहरूले फार्मासिस्टको भूमिकालाई अनिवार्य बनाएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस खालको सोचलाई परिवर्तन गर्दै दक्ष जनशक्तिको अभाव पूर्ति गर्नेछ। यसले स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय औषधि सेवा सुनिश्चित गर्नेछ र बिरामीहरूको जीवनस्तरमा सुधार ल्याउनेछ।

सरकारले पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक स्रोत र नीतिमा सहयोग पुर्याउँदै यस व्यावहारिक र अनुसन्धानमुखी शिक्षालाई  थप प्रोत्साहित गर्न केन्द्रमा राखी कार्य गर्नुपर्ने देखिन्छ।

देशैभरका नागरिकहरूको करबाट भौगोलिक रूपमा थोरै विकट ठाउँमा सञ्चालित यस प्रतिष्ठानबाट उत्पादित जनशक्तिले देशका विभिन्न ठाउँमा आएर तपाईंहरुलाई आवश्यक सेवा दिनेछन्। आउनुहोस् तपाईँ हामी सबै प्रतिष्ठानका गतिविधिमा आआफ्नो ठाउँबाट सहभागी बनौं। 

(डा जोशी औषधीय रसायन विज्ञानमा विद्यावारिधि र औषधि आविष्कारमा  पोस्टडक्टरल फेलो हुन्, ‘औषधिको ज्ञान स्वस्थ ज्यान’ पुस्तकका लेखक पनि हुन्,  हाल उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी महाविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत छन्।)

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट