काठमाडौं- बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।
उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरु गेहेन्द्रराज रेग्मी र आन्नदराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।
वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैत ११ गते मुद्दा दर्ता गराएकी थिइन्।
उपभोक्ता अदालतले सोही मुद्दामा क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए।
उनका अनुसार मुद्दामा अदालतले लापरबाहीको तुलनात्मक दायित्वलाई विचार गरी ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो।
अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डाक्टर डा संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्ने खरेलले जानकारी दिए।
वर्षा खुट्टाको तिघ्राको पछाडिको भागले दुःख दिएपछि उपचारका लागि अस्पताल पुगेकी थिइन्। उनको खुट्टामा रहेको बोसो निकालेर प्लाष्टिक सर्जरी गरिएको थियो। वर्षाले दायर गरेको मुद्दा अनुसार चिकित्सकले दुईपटक अपरेसन गरेका थिए। तर निको हुनुको साटो संक्रमण भएर थप पीडा बढेको भन्दै उनले क्षतिपूर्ति माग गर्दै मुद्दा हालेकी थिइन्।
यसअघि अदालतले हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने र ओम अस्पताल र चिकित्सकलाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसाल गरेको थियो।
सामाग्री श्रोत :
swasthyakhabar

