काठमाडौँ । कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ मा पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेपछि आफूलाई फोन र मेसेजमार्फत धम्की आउन थालेको कमेडियन प्रभात लामाले बताएका छन् । बिहीबार फेसबुकमा स्टाटस लेख्दै लामाले लोकतान्त्रिक मुलुकमा राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गर्न पाइने अधिकार जस्तै पूर्वराजाको पनि व्यंग्य गर्न सकिने उल्लेख गरेका छन् ।

“म हालको गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्छु भने पुर्व राजाको क्यारिकेचर गर्दा गलत के भयो ?” लामा लेख्छन् ।
“तपाईँको राजा नआउँदै यस्तो रवाफ देखाउनु हुन्छ भने साँच्चै राजा आएको दिन के गर्नु हुन्छ ? मलाई मेरो काम गर्न दिनुस् तपाईँ तपाईको राजा ल्याउदै गर्नुस् ।”
उनले क्यारिकेचरप्रति जनजाति कलाकारले गरेको भन्दै जातीय आधारमा असन्तुष्टि देखाउनु अनुचित भएको टिप्पणी गरेका छन् । उनले भने, “क्षमता र ल्याकत राख्नु हुन्छ भने तपाईँहरू पनि गर्नुस् । कलाकारितामा आउनुस् । जातभातको कुरै नगर्नुस् । गर्नु शोभनीय कुरा पनि होइन ।”

लामाले व्यंग्य र क्यारिकेचरले कसैको मानमर्दन गर्ने नभई, सामाजिक तथा राजनीतिक सन्देश दिन ठट्यौलो शैली अपनाउने माध्यम भएको तर्क गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई व्यक्तिगत रूपमा हजुरबुवा समान मानेर सधैँ सम्मान र आदर रहेको उल्लेख गर्दै धम्कीको भाषा प्रयोग नगर्न आग्रह गरेका छन् ।
“कार्यक्रम केवल मनोरञ्जनको लागि तयार पारिएको हो । राजनीतिक अभिष्ट पूरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको कार्यक्रम होइन । हेरेर मज्जाले हाँस्नु होला । सुझाव चाहिँ दिँदै गर्नु होला,” उनले स्टाटसमा लेखेका छन् ।
पछिल्लो अध्यावधिक: असार १३, २०८२ ७:४९
सामाग्री श्रोत :
टेक पाना