काठमाडौँ । सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा प्रहरीले थालेको छानबिनबाट एक करोड ३१ लाख ६२ हजार रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार भएको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले पक्राउ परेका दुई जनामाथि छानबिन गर्दा यस्तो रहस्य खुलेको हो ।

केही समयअघि फेसबुक पेज तथा टेलिग्राम ग्रुपमार्फत समीर तामाङ नाम गरेको अकाउन्टबाट आफू ठगीमा परेको भन्दै परिसरमा उजुरी परेको थियो । जसअनुसार विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोस्ट गरी प्रलोभनमा पारेर २३ लाख १५ हजार रुपैयाँ ठगी गरेको आरोप लगाइएको थियो ।
उक्त निवेदनका आधारमा प्रहरीले धादिङको थाक्रे गाउँपालिका ५ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा ६ बस्ने १९ वर्षीय समीर तामाङ र काठमाडौँको गोकर्णेश्वर १ सुन्दरीजल बस्ने १९ वर्षकै क्रिस पोखरेललाई पक्रियो । काठमाडौँको माइतीघरबाट नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान गर्दा ठुलो परिमाणको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गरेको समेत देखिएको प्रहरीले जनाएको छ ।
यस विषयमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको थप म्याद अनुमति लिई बाँकी अनुसन्धानका भइरहेको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असार १३, २०८२ १३:४०
सामाग्री श्रोत :
टेक पाना