सिरहा- गोलबजार नगरपालिका–१० ले स्थानीय स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ। वडा कार्यालयले आयोजना गरेको एक समारोहमा पाँच जना स्वयंसेविकालाई साइकल प्रदान गरिएको हो। यो पहलले समुदायमा स्वास्थ्य सेवा पुर्याउने कार्यमा गति र सहजता थप्ने अपेक्षा गरिएको छ।
जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले कार्यक्रममा बोल्दै स्वास्थ्य स्वयंसेविकाको योगदान अमूल्य रहेको उल्लेख गरे। “स्वयंसेविकाले समुदायको स्वास्थ्यमा पुर्याएको योगदान अतुलनीय छ। यो साइकल वितरणको पहल अन्य वडाका लागि पनि उदाहरण बन्नेछ,” उनले भने।
वडाध्यक्ष उपेन्द्रकुमार मुखियाले साइकल वितरणको मुख्य उद्देश्य स्वयंसेविकाको कार्यक्षेत्रमा सहजता ल्याउनु रहेको बताए। ‘स्वयंसेविकाले टाढा–टाढासम्म पैदल हिँडेर सेवा दिनुपर्ने बाध्यता थियो। साइकलले उनीहरूको कामलाई तीव्र र प्रभावकारी बनाउनेछ,’ उनले थपे।
साइकल प्राप्त गर्ने स्वयंसेविकाहरूले यो सहयोगले आफूहरूको मनोबल र कार्यक्षमता बढेको बताएका छन्। स्वयंसेविका निमा लामाले भनिन्, ‘टाढाको बस्तीमा पुग्दा धेरै समय लाग्थ्यो। अब साइकलले हामीलाई छिटो र सहज रूपमा सेवा दिन सघाउनेछ।’
अर्की स्वयंसेविका पुजन थापाले वडाको यो कदमले आफूहरूलाई सम्मानित र प्रेरित बनाएको बताइन्। ‘यो साइकल हाम्रो कामको गति मात्र होइन, हाम्रो जिम्मेवारीप्रति वडाको विश्वास पनि हो,’ उनले भनिन्।
यो पहलले स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता बढ्ने विश्वास वडा कार्यालयले लिएको छ। यस्ता प्रयासले अन्य क्षेत्रमा पनि प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar















