काठमाडौँ । गुगलले एउटा नयाँ परीक्षणात्मक एप ‘डपल’ (Doppl) सार्वजनिक गरेको छ । जसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी तपाईँलाई विभिन्न पोसाकहरूमा कस्तो देखिन्छ भनेर हेर्न सघाउने छ ।

डपल एपमा प्रयोगकर्ताले सुरुमा आफ्नो पूर्ण-कदको फोटो अपलोड गर्नुपर्ने हुन्छ । त्यसपछि एपमा फोटो तथा स्क्रिनशट प्रयोग गरेर विभिन्न पोसाकहरू भर्चुअल रूपमा परीक्षण गर्न सकिन्छ । यी तस्बिरहरू कुनै थोक पसलमा देखिएको लुगा, साथीको लुगा वा सामाजिक सञ्जालमा देखिएको पोसाकका स्क्रिनशट पनि हुन सक्छ ।
एक पटक परीक्षण गर्न चाहेको पोसाक चयन गरेपछि डपलले प्रयोगकर्ताको भर्चुअल भर्सनमा त्यो पोसाक लगाएको तस्बिर बनाउँछ । यति मात्र होइन, डपलले तस्बिरलाई एआईबाट तयार पारिने भिडिओमा पनि रूपान्तरण गर्न सक्छ, जसले प्रयोगकर्तालाई वास्तविक जीवनमा पोसाक कस्तो देखिन्छ भन्ने राम्रो जानकारी दिन्छ ।
गुगलले यो डपल एप ‘गुगल ल्याब’को एक प्रयोगको रूपमा रहेको र हाल प्रारम्भिक चरणमा रहेको बताएको छ । कम्पनीले बिहीबार गरेको घोषणा अनुसार यो एप हाल अमेरिकामा रहेका आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध छ । परीक्षणात्मक रूपमा सार्वजनिक गरिएकाले यो एप अन्य क्षेत्रहरूमा कहिलेसम्म आउँछ वा आउँदैन भन्ने बारे कम्पनीले केही खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: असार १३, २०८२ ११:३७
सामाग्री श्रोत :
टेक पाना