२०८२ असार १२ बिहीबार
LATEST NEWS
२०८२ असार १२ बिहीबार

करोडौँमा विदेशबाट आयात गर्ने सरकारले परीक्षणसम्म गरिदिएन स्वदेशमै ८ लाखमा तयार शवदाह मसिन

काठमाडौँ । भारतको अघोषित नाकाबन्दीले ग्यास नभएर खाना खानै समस्या भएपछि वसुन्धरा अटो एन्ड इन्जिनियरिङ वर्क्सका सञ्चालक शिवरुद्र कर्माचार्यले विद्युत्‌बाटै चल्ने एउटा मसिन बनाए । ब्याट्री वा बिजुलीबाट चलाउन सकिने लाम्चो आकारको उक्त मसिनमा फोहोर प्लास्टिक र दाउराहरू हालेर आगो बाल्न सकिन्थ्यो । 

“कतै काम नलागे सेकुवा बनाउन भए पनि हुन्छ भनेर बनाएको थिएँ । त्यो मसिनमा हामीले नाकाबन्दीको समयमा खाना बनाएर खायौँ ।” नाकाबन्दी हटेपछि त्यो मसिन एउटा कुनामा थन्कियो र कर्माचार्य आफैँले पनि बिर्सिए । 

२०७७ को अन्त्यतिर नेपालमा कोरोनाको महामारी सुरु भयो । कोभिड-१९ को सङ्क्रमणले मानिसहरूको मृत्यु हुन थाल्यो । एक दिन महामारीले ज्यान गुमाएका व्यक्तिहरूको शव विद्युतीय शवदाह मसिनमा जलाएको समाचारमा उनको नजर पर्‍यो । 

त्यसपछि कर्माचार्यले पहिला नै बनाएको मसिन सम्झिए । अनि त्यसमा केही परिमार्जन गरेर शवदाह मसिन बनाउने परिकल्पना गरे । र आफ्नो कारखानामा शवदाह मसिन बनाउने काम थाले । “आफैले बनाउनुभन्दा अघि अरूले बनाएको शवदाह मसिन हेरेको पनि थिइनँ । बरु मसिन बनाइसकेपछि पशुपति विकास कोषका कर्मचारीहरूसँग गएर त्यहाँको विद्युतीय शवदाह मसिनले कसरी काम गर्दो रहेछ भनेर हेरेँ,” उनले सुनाए । 

शवदाह मसिन बनाउनका लागि उनी कारखानामा राति २ बजेसम्म काम गर्थे । मेकानिकको दिमाग न हो, केही न केही नयाँ बनाउन मन लाग्छ । काम गर्न थालेपछि उनी खान पनि बिर्सिन्छन् । रात दिन लगाएर ६ महिनामा मसिन तयार भयो । 

कर्माचार्यका अनुसार शवदाह मसिनमा प्रयोग भएका पङ्खा लगायतका सबै सामग्री नेपालकै हुन् । बिग्रिएको पानी तान्ने मोटरलाई त्यसमा राखेका छन् । “मसिनमा मैले प्रयोग गरेका सामान सबै नेपाली नै हुन् । विदेशबाट किनरै ल्याउनु परे मोटर मात्र ल्याए पुग्छ । यसको केही पनि सामान बिग्रिए पनि म तुरुन्तै बनाउन सक्छु ।” 

कस्तो छ नेपालमै बनेको शवदाह मसिन ?

६ फिट लम्बाइ र ३.५ फिट चौडाइको उक्त शवदाह मसिनको तौल करिब ८०० केजी छ । त्यस भित्र शव राख्न मिल्ने खालि भाग छ भने बाहिरबाट चारपाटे फलामले मोडिएको छ । उक्त मोहोडामा चार पत्र फलाम राखिएको छ । यसले गर्दा मसिन भित्र आगो बलिरहेको समयमा बाहिरी भाग तात्दैन । मसिनमा चार ओटा पङ्खा जडान गरिएका छन् । 

ती पङ्खाले मसिनभित्र हावा दिने काम गर्छन् । पङ्खा चलाउन मोटर राखिएको छ । मोटरबाट कति हावा दिने, सोही अनुसार एउटा, दुइटा वा चारै ओटै पङ्खा चलाउने विकल्प रोज्न सकिन्छ । 

शव जलाउनका लागि मसिनमा कपडा र तेल हालेर सल्काउनुपर्ने र बाँकी काम मसिनले नै गर्ने उनी बताउँछन् । “मसिन बाल्दा सुरुमा अलिअलि धुवा आउँछ । तर राम्रो सँग सल्किन थालेपछि धुवा र गन्ध दुबै हराउँछ,” कर्माचार्य भन्छन् । 

मसिनभित्र शवलाई अड्याउन फलामका रड राखिएका छन् । छेउमा सानो ढोका बनाइएको छ । त्यो ढोका खोलेर रडलाई बाहिरसम्म निकाल्न सकिन्छ र शव राखेर भित्र धकेल्न मिल्छ । त्यसपछि पुनः ढोका बन्द गरिन्छ । मसिनको माथिल्लो भाग खुला राखिएको छ । 

“एक जना साधु मसिन हेर्न आएका थिए । तीनले मलाई ऋग्वेदमा दाहसंस्कार गर्दा खुला राखेर गर्नुपर्छ भनेर लेखेको कुरा सुनाएका थिए । म आफैँले त वेद पढेको छैन, तर धर्म संस्कारलाई नबिथोल्ने गरी प्रविधिको प्रयोग गरेर यो मसिन बनाएको हुँ ।” 

मसिनमा शव बलिरहेको समयमा वरिपरि मलामी बस्दा पनि गन्ध वा तापले असर नगर्ने उनको दाबी छ । यस्तै उक्त मसिनमा एउटा शव जलेर खरानी बन्न आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने अनुमान छ ।  

यसअघि उनले एउटा मसिन बनाएर राष्ट्रिय आविष्कार केन्द्रलाई पनि दिएका थिए । “उहाँहरूले मसिन बनाउँदा लागेको सबै खर्च ब्यहोर्नु भयो । अहिले मसँग भएको भन्दा पनि ठुलो मसिन बनाएर दिएको थिएँ,” उनले भने । केन्द्रलाई दिएको मसिनमा शव हाल्नु परेमा मसिनको माथिबाट हाल्ने गरी बनाइएको थियो ।” 

तर, माथिबाट राखिने भन्दा छेउबाट राख्न मिल्ने मसिन राम्रो हुने भन्दै धेरैले सुझाव दिएपछि हालको मसिन बनेको थियो । उक्त मसिन काठमाडौँकै कीर्तिपुर नगरपालिकाको खर्चमा तयार पारिएको हो । नगरपालिकाले शवदाह भवन बनाएपछि सो मसिन लैजाने छ । 

“अहिलेसम्म शव राखेर परीक्षण गर्न पाएको छैन”

गत वर्ष नै कर्माचार्यले मसिन तयार पारेका हुन् । तर शवदाहका लागि बनाइएको मसिन वास्तवमा सोचे जसरी काम गर्छ की गर्दैन भनेर उनले अहिलेसम्म परीक्षण गर्न पनि पाएका छैनन् । 

कर्माचार्य भन्छन्, “मेरो क्षमताबाट सकेजति परीक्षण गरिसकेँ । तर मानिसको शव नै त म आफैँले जलाएर हेर्न मिलेन । कुनै बेवारिसे शव परीक्षणका लागि जलाउने व्यवस्था सरकारी निकायबाट मिलाइ दिए हुन्थ्यो ।”

उनले हालसम्म एक पटकमा सय केजी राँगोका मासु, मरेका बाछा, हड्डीहरू जलाएर भने परीक्षण गरिसकेका छन् । परीक्षणका क्रममा आधा घण्टामै  सबै जलेर खरानी भएको उनले सुनाए । परीक्षण गर्न नपाएको समस्यालाई पशुपति विकास कोषमा एक दुई पटक भन्दा खासै वास्ता नभएको उनले बताए । 

त्यसपछि उनी कारखानाका अन्य काममा व्यस्त भए ।  “म मेकानिक मान्छे हो । म जे बिग्रिएर ल्याए पनि बनाउन सक्छु । नयाँ नयाँ कुराहरू पनि आविष्कार गरिरहेको हुन्छु । तर, प्रशासन र कानुन खासै जान्दिनँ । सरकारले प्रमाणीकरणमा चासो देखाए सजिलो हुन्थ्यो,” उनी भन्छन् ।

सरकारले प्रमाणीकरणको व्यवस्था मिलाइ दिए जलाएर दाहसंस्कार गर्ने क्षेत्रमा आफ्नो मसिन निकै प्रभावकारी हुने उनले बताए । यस्तो मसिन ठुलो मात्रामा भारत समेत निर्यात गर्न सकिने सम्भावना कर्माचार्यले देखेका छन् । 

“तर प्रमाणीकरण नै भएको छैन । सरकारले बेवारिसे शव मिलाइ दिएर मसिनको परीक्षण गर्न पाए हुन्थ्यो । विशेषज्ञ टोली आएर मसिनमा केही कमी कमजोरी भए, यस्तो कुरा सुधार गर्नुस् भनेर सुझाव दिए पनि हुन्थ्यो ।” मसिन हाल ८ लाख रुपैयाँसम्ममा तयार भइरहेका छन् । प्रमाणीकरण भएमा टन्नै मसिनहरू बनाउन सकिने उनले बताए । 

उनले भने, “विदेशबाट करोडौँ खर्च गरेर यस्ता मसिन नेपालमा ल्याउँछन् । तर नेपालमा नै बनेको यति राम्रो मसिनको भने सरकारी निकायले प्रमाणीकरणका लागि वास्ता नै गरेका छैनन् ।” 

बसुन्धारामास्थित उनको कारखानामा गाडीका पार्ट पुर्जा निर्माणको काम गरिन्छ । उक्त मसिन कारखानामा राख्ने ठाउँ नभएपछि गुह्येश्वरी स्थित कर्माचार्यको घरको छेवैमा टहरा बनाएर राखिएको छ । 

फोहोर जलाउने मसिन पनि बनाउने योजना

कर्माचार्यले मसिन बनाएको सुनेपछि केही समय अघि जापानी नागरिकहरू पनि अवलोकनका लागि आएका थिए । “मैले बनाएको मसिन हेर्न जापानी पनि आए । त्यहाँ यस खालका मसिनमा काम नलाग्ने प्लास्टिकहरू जलाउने काम हुँदै रहेछ । उनीहरूले ‘हाम्रोमा भन्दा राम्रो बनाउनु भयो’ भनेर प्रशंसा गरेर गए । फेरि आउँछौँ भनेका छन्,” उनले थपे ।  

त्यसपछि उक्त शवदाह मसिनकै प्रविधिमा रहेर अनावश्यक फोहर जलाउने मसिन बनाउने योजना पनि उनले बनाएका छन् । “यो मसिन त मैले शव दाहकै लागि बनाएको हुँ । तर यसको आकारमा परिवर्तन गरेर फोहोर जलाउने मसिन पनि बनाउने सोचमा छु ।” फोहोर जलाउँदा धेरै धुवा आउने भएकाले त्यसमा चिम्नी पनि थप्ने योजना उनले बनाएका छन् । 

उमेरले ६५ वर्षका कर्माचार्यसँग कुनै औपचारिक डिग्री छैन । उनले बालाजु स्थित एक वर्कसपमा काम गर्दा २०३४ सालमा ६ महिना मेकानिक सम्बन्धी तालिम लिएका थिए । त्यस बेला एसएलसीको टेस्ट पास गरेका तर, एसएलसी फेल भएकालाई चाबहिलमा तीन वर्षे मेकानिकल तालिम दिइन्थ्यो । तर आफूले टेस्ट समेत पास नगरेकाले ६ महिने तालिम मात्र लिन पाएको उनी सुनाउँछन् । 

उक्त तालिम लिएपछि कर्माचार्यले आफ्नै वर्कशप सञ्चालनमा ल्याए । जहाँ उनले ट्रली बस हुँदै पेट्रोलियम गाडी र हाल विद्युतीय पार्ट पुर्जा बनाउने काम गरिरहेका छन् । उनको वर्कशपमा २२ जनाभन्दा धेरै कर्मचारी काम गर्छन् । 

उनी भन्छन्, “मेरोमा काम गर्नेहरू पनि धेरै पढेका कोही छैनन् । सबैलाई मैले नै काम सिकाएको छु । म भइँन भनेपनि उनीहरूले काम गर्न सकून् भनेर आफूले जानेको जति सिकाउँछु ।” डिग्रीले मात्र नभएर जिज्ञासा र अनुभवले धेरै कुरा सिकाउने उनको विश्वास छ । त्यही आत्मविश्वासको बलमा बेला बेला नयाँ नयाँ मसिनहरू आफैँ बनाउँछन् ।  उनले अस्पतालमा बिरामीको शल्यक्रियामा प्रयोग हुने अपरेसन टेबुल, तार जाली बनाउने मसिन, हाइड्रोलिक मसिन लगायतमा अन्य मसिन समेत बनाइ सकेका छन् । 

पछिल्लो अध्यावधिक: असार १२, २०८२ २०:१९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट