२०८२ असार १३ शुक्रबार
२०८२ असार १३ शुक्रबार

एआईलाई फोटो तयार पार भन्दा भोलि तपाईंकै अनुहार देखाइदियो भने ?

आजको डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग व्यापक भइरहेको छ । च्याटजीपीटी जस्ता जेनेरेटिभ एआई टुल लोकप्रिय भएसँगै ठुला प्रविधि कम्पनीले पनि आ-आफ्ना एआई सिस्टम बजारमा ल्याउन थालेका छन् । त्यही क्रममा मेटाले आफ्नो एआई टुल ‘मेटा एआई’ ल्याएको थियो । अहिले यो टुल मेटाको स्वामित्वमा भएका सामाजिक सञ्जाल तथा मेसेजिङ प्लेटफर्म फेसबुक, मेसेन्जर, इन्टाग्राम र ह्वाट्सएपमा उपलब्ध भइसकेको छ । 

प्रयोगकर्तासँग मान्छेकै शैलीमा कुराकानी गर्न सक्ने, लेख लेख्ने, जानकारी दिने र शब्दकै भरमा फोटो तयार पारिदिने क्षमता यस एआई टुलमा छ । तपाईं आफैँ कल्पना गर्नुस् त, मेसेन्जरमा बोल्ने मान्छे कोही नहुँदा तपाईं के गर्नुहुन्थ्यो ? अब आफ्ना कुरा मेसेन्जरबाटै एआईलाई सुनाउन सकिन्छ । एआईले पनि मान्छेकै शैलीमा अझ भनौं तपाईंले विश्वास गर्ने नजिकको साथीले जसरी तपाईंका कुरा सुन्छ, सल्लाह दिन्छ । तपाईंले कुनै फोटो बनाउनु पर्‍यो, मेसेन्जरमा ‘मेटा एआई’लाई भन्नुभयो भने बनाइदिन्छ । 

जेनेरेटिभ एआई त्यसमा पनि सामाजिक सञ्जाल कम्पनीले नियन्त्रण गरेको टुलका यी फिचर आकर्षक देखिए पनि यसका थुप्रै जोखिम छन् । त्यसमध्ये प्रयोगकर्ताको गोपनीयतासँग जोडिएको जोखिमलाई लिएर बढी चर्चा हुने गरेको छ । 

हामीले प्रम्प्ट दिएपछि ‘मेटा एआई’ (Meta AI)ले अत्यन्तै प्रभावकारी ढङ्गले केही सेकेन्डमै फोटो तयार पार्न सक्छ । तपाईंले अहिले पनि प्रयास गर्नुभयो भने बढीमा एक मिनेटभित्र तपाईंले चाहेको जस्तो फोटो मेटा एआईले निर्माण गर्छ । यस्तो फोटो त एआईले विभिन्न डेटालाई आधार मानेर बनाउँछ भन्ने तपाईंलाई लाग्न सक्छ । यस्तो धेरैलाई लाग्छ । तर, पछिल्लो समय एआई टुलले प्रयोगकर्ताले सामाजिक सञ्जालमा अपलोड गरेका फोटोलाई नै आधार मानेर त्यसलाई तोडमोड गरी खोजे अनुसारको फोटो तयार पार्दैछ भन्ने विषय सतहमा आउन थालेको छ । केही दिनअघि मैले मेटा एआईलाई “पोर्चुगलमा नेपाली झण्डा भएको फोटो देखाऊ” भन्ने प्रम्प्ट राखेर फोटो तयार पार्न अनुरोध गरेँ । 

एआईले क्षणभरमै मलाई उपलब्ध गराएको फोटो एआईले निर्माण गरेको नभई कसैले फेसबुकमा अपलोड गरेको वास्तविक जस्तो देखिन्थ्यो । त्यस फोटोमा मानिसको अनुहार ब्लर गरिएको भए पनि त्यो फोटो स्पष्ट रूपमा व्यक्तिगत भन्ने पुष्टि गर्ने आधार धेरै थिए । यही कुराले मलाई झस्कायो । किनभने मेटा एआईले आज यदि अरूको फोटो देखाउन सक्छ भने भोलि मेरो निजी फोटो पनि अरू प्रयोगकर्ताको प्रम्प्टमा नदेखाउला भन्न सकिन्न । 

उदाहरणका लागि मैले एभरेस्ट बेस क्याम्पमा वास्तविक मान्छे भएको फोटो देऊ भन्दा मेटा एआईले अनुहार ब्लर गरेर फोटो उपलब्ध गराउँछ । यसको आशय मेटा एआईले अनुहार बनाउन सक्दैन भन्ने होइन, प्रयोगकर्ताको गोपनीयता कायम गर्न अनुहार ब्लर गरेको हो ।

मेटा एआईको टर्म्स अफ सर्भिस (Terms of Service) का अनुसार कम्पनीले आफ्नो एआई मोडेललाई फेसबुक वा इन्स्टाग्राममा सार्वजनिक रूपमा उपलब्ध पोस्ट, फोटो र अन्य सामग्रीबाट ट्रेन गर्न सक्छ भनेर स्पष्ट लेखिएको छ । त्यस्तै सार्वजनिक रूपमा उपलब्ध नभएका गोप्य जानकारी, मेसेज वा प्राइभेट डेटालाई त्यस प्रयोजनका लागि उपयोग नगर्ने दाबी मेटाको छ । सार्वजनिक रूपमा उपलब्ध सामग्री भने यसले स्वतः प्रशिक्षणको रूपमा प्रयोग गर्न सक्ने भनेर कतै लुकाएको छैन । त्यसैले प्रयोगकर्ताले सार्वजनिक रूपमा पोस्ट गरेका सामग्री एआई मोडेलको प्रशिक्षणमा परेर उत्तरको रूपमा देखिन सक्ने अवस्था सिर्जना भएको हो ।

विशेषगरी युरोपेली संघ (ईयू) भित्रका प्रयोगकर्ताहरूलाई ‘जेनेरल डेटा प्रोटेक्सन रेगुलेसन’ (जीडीपीआर) अन्तर्गत आफ्नो व्यक्तिगत डेटा एआई मोडेलको प्रशिक्षणमा प्रयोग नगर्नका लागि अनुरोध गर्ने स्पष्ट अधिकार प्रदान गरिएको छ । तर दुर्भाग्यवश नेपालमा यस्ता अधिकारहरू सुनिश्चित गर्ने कानुनी संरचना अझै स्थापित भइसकेको छैन । एक विकासशील र प्रशासनिक रूपमा कमजोर राष्ट्र भएकाले नेपाली प्रयोगकर्ताको डेटा संरक्षण सम्बन्धी अधिकार अहिले पनि अस्पष्ट र सीमित अवस्थामा रहेको छ । यसले मेटा जस्ता कम्पनीलाई प्रयोगकर्ताको सामग्रीलाई प्रशिक्षणमा प्रयोग गर्ने अवसर अझ सहज बनाइदिएको छ । यसमा आफ्ना नागरिकको डेटा सामाजिक सञ्जालका प्लेटफर्मले आफ्नो स्वार्थका लागि वा गोपनीयता नै हनन् हुने गरी दुरुपयोग गर्न नसकोस् भन्नका लागि राज्यले गम्भीर रूपमा सोच्ने बेला आएको छ । 

त्यस्तै एआईले प्रयोगकर्ताको वास्तविक फोटो, नाम, लोकेसन जस्ता संवेदनशील विवरण समेट्न थाल्नुले पहिचान चोरी (आइडेन्टिटी थेप्ट)को जोखिम निम्त्याउने सम्भावना उत्तिकै छ । गलत मनसाय भएका व्यक्तिले आफूलाई उपयुक्त हुने विवरण मागेर डिफफेक भिडिओ बनाई ठगी गर्न वा नक्कली अकाउन्ट बनाएर ब्ल्याकमेल गर्न सक्छन् । त्यसैले एआईले आफ्नो फोटो तालिमका लागि प्रयोग गर्‍यो, अनि नतिजामा फोटो दियो भनेर मख्ख पर्नुभन्दा पनि यसले निम्याउन सक्ने समस्यालाई मध्यनजर गरेर सजग हुनुपर्ने अवस्था आएको छ ।

त्यसोभए यस्तो गोपनीयता समस्या समाधानका उपाय के हुन् ? तपाईंले के गर्दा मेटाले तपाईंका व्यक्तिगत विवरण आफ्नो एआई मोडेललाई तालिम दिनका लागि प्रयोग गर्न नसक्ला ?

पहिलो कुरा प्रयोगकर्ताले आफ्ना पोस्ट वा फोटोहरू ‘पब्लिक’ (Public) होइन ‘फ्रेन्ड्स वन्ली’ (Friends Only) वा ‘प्राइभेट’ (Private) सेटिङमा राख्नु अत्यन्त आवश्यक छ । तपाईं फेसबुकको सेटिङमा रहेको प्राइभेसी अप्सनबाट यसलाई सेट गर्न सक्नुहुन्छ । 

दोस्रो: यदि तपाईंले मेटा एआई (Meta AI) प्रयोग गर्दा कुनै सन्दर्भमा तपाईंको निजी फोटो प्रयोग गरिएको फेला पार्नुभयो भने तपाईंले मेटालाई उक्त फोटो हटाइदिन अनुरोध गर्न सक्नुहुन्छ । त्यसका लागि मेटाले लिङ्क पनि उपलब्ध गराएको छ । यहाँ क्लिक गरेर सबै विवरण भरी आफ्नो व्यक्तिगत फोटो हटाउनका लागि अनुरोध गर्न सक्नुहुन्छ । यस लिङ्क खोलिसकेपछि तपाईंले आफ्नो नाम, ईमेल र कुन प्रम्ट राख्दा तपाईंको फोटो देखियो भन्ने विवरण राखी फोटो हटाउने अनुरोध गर्न सक्नुहुन्छ । मेटाले तपाईंकै व्यक्तिगत फोटो नै रिजल्टका रूपमा देखाइरहेको छ भन्ने प्रमाण यो पनि हो । 

मेटा एआई प्रयोग गर्दा तपाईं उत्तिकै सचेत हुनुपर्छ । यसको ‘टर्म्स अफ सर्भिस’ (Terms of Services) मा ‘तपाईंले एआईबाट प्राप्त गरेका चित्र वा जानकारीमा तपाईंको कुनै कानुनी अधिकार हुँदैन । यदि तपाईंले ती सामग्रीहरू प्रयोग गरेर कुनै किसिमको कानुनी समस्यामा पर्नुभयो भने, त्यसको जिम्मेवारी मेटाको नभई तपाईंकै हुनेछ’ भनेर स्पष्ट लेखिएको छ । अर्थात् तपाईंले मेटा एआई प्रयोग गरी निर्माण गरेको कुनै सामग्रीका कारण भोलि कानुनी झमेला आयो भने एआईले बनाएको हो भनेर तपाईं उम्किन सक्नुहुन्न । यसले प्रयोगकर्तालाई आफ्नो डेटा प्रयोगबारे सजग हुन, सोचविचार गरेर एआई सिस्टम प्रयोग गर्न र डिजिटल गोपनीयता अधिकारको रक्षा गर्न सचेत बनाएको छ । 

आजको समयमा एआईले धेरै कुरा सजिलो बनाइरहे पनि गोपनीयता सम्बन्धी खतरा निम्त्याइरहेको छ । त्यसैले एआई प्रयोग गर्दा केवल परिणाम हेरेर होइन, त्यस पछाडिको प्रणाली, डेटा स्रोत र यसको दीर्घकालीन असरबारे पनि जान्न जरुरी छ । सचेत प्रयोग नै सुरक्षित प्रयोग हो ।

(लेखक पोखरेल साइबर सुरक्षा अनुसन्धानकर्ता हुन् । उनले मेटासँग जोडिएर साइबर सुरक्षाका थुप्रै काम गरेका छन् ।)

 

पछिल्लो अध्यावधिक: असार १२, २०८२ १६:१६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट