२०८२ असार १२ बिहीबार
२०८२ असार १२ बिहीबार

युवाको मुस्कानभित्रको डिप्रेसन

आजको समाजमा ‘कसरी देखिन्छौं  भन्ने कुरा ‘कस्तो छौं’ भन्दा महत्वपूर्ण जस्तो बनाइएको छ। यही बनावटी मुस्कानभित्र, धेरै युवाहरू मौन पीडामा छन्- आफ्नै मनभित्र गुम्सिएको डिप्रेसनसँग एक्लै लड्दैछन्।

डिप्रेसन अब केवल बयस्कको समस्या रहेन। युवावस्थामा सुरु हुने डिप्रेसन विश्वभर सबैभन्दा बढी देखिएको मानसिक स्वास्थ्य समस्या हो। अझ दुखद कुरा : धेरैले यसलाई ‘नाटक’, ‘कमजोरी’ वा ‘धेरै सोच्ने बानी’ भनेर बेवास्ता गर्छन्। तर यथार्थ के हो?

डिप्रेसन के हो र किन हुन्छ?
डिप्रेसन कुनै सामान्य ‘दुःखी महसुस’ होइन। यो एक गम्भीर मानसिक अवस्था हो, जसमा व्यक्तिले जीवनप्रति रुचि गुमाउँछ, आत्मविश्वास घट्छ, थकान, निराशा, असफलताको डर र आत्मग्लानी महसुस गर्छ।

 प्रमुख कारणहरू:
•    परिवारमा समस्या – आमाबुबाको झगडा, सम्बन्ध विच्छेद वा अभिभावकीय ध्यानको कमी।
•    सामाजिक दबाब – सफल बन्नुपर्ने र अरूजस्तो देखिनुपर्ने अपेक्षा।
•    शिक्षा र करियरको तनाव – मार्कसिटमा देखिने अंक  र भविष्यको डरले थिचिने अवस्था।
•    बुलिङ (जिस्क्याइने/अपमान गरिने व्यवहार) – विद्यालय, क्याम्पस या अनलाइनमा।
•    सामाजिक सञ्जालको गलत प्रभाव – अरूको ‘सजिलो’ जीवन देखेर आफूलाई कमजोर ठान्ने।

डिप्रेसनले युवामा पार्ने असर
•    पढाइमा कमजोर प्रदर्शन
•    आत्मग्लानी र आत्महत्या सोच्ने अवस्था
•    साथीभाइ वा परिवारबाट टाढिने
•    शारीरिक लक्षण: निद्रामा गडबडी, भोक घट्ने वा बढ्ने
•    लत लाग्ने बानी: धूम्रपान, मदिरा वा लागूपदार्थतर्फ आकर्षण
•    युवाहरू भित्रै भित्र रोइरहेका छन्, तर समाज ‘बोल्दैनौं भने समस्या नै छैन’ भन्ने सोचमै अडिएको छ।

 डिप्रेसनबाट निस्कन के गर्न सकिन्छ?

युवाहरूका लागि:
खुलेर कुरा गर्नुहोस् – साथी, परिवार, शिक्षक वा परामर्शदाता।

नियमित व्यायाम र ध्यान – हप्तामा ३–५ दिन, ३० मिनेट शारीरिक क्रियाकलाप।

सजिलो लक्ष्य बनाउनुहोस् – ठूलो कुरामा निराश नहुनुहोस्, सानो प्रगति पनि सफलता हो।

सामाजिक सञ्जालको प्रयोग सोचेर गर्नुहोस् – नकारात्मक तुलना नगर्नुहोस्।


अभिभावक र समाजका लागि:
बच्चालाई सुनिदिनुहोस् – केवल आदेश नदिई, उनीहरूले के महसुस गरिरहेका छन्, त्यो बुझ्नुहोस्।

गुनासो गर्दा ‘नाटक नगर’ नभन्नुहोस् – सानो कुरा जस्तो लागे पनि गम्भीर रूपमा लिनुहोस्।

परामर्श सेवा दिनुहोस् – विद्यालय, कलेज वा समुदायमा ‘काउन्सिलिङ’ अनिवार्य बनाउनुहोस्।

अन्त्यमा,

‘युवाहरू टुट्दैनन्, टुटाइन्छन्-  बेवास्ताले। उनीहरूलाई दोष दिने होइन, दिशा दिने समय हो। हामी समयमै बुझ्न सक्छौं भने, हजारौं जीवन बच्न सक्छन्। बोलौं, बुझौं र साथ दिऔँ—किनभने मौन युवाको मनभित्र ठूलो चिच्याहट लुकेको हुन्छ। चुप लाग्नेहरू सधैँका लागि हराउन नपाउन्।

 मानसिक स्वास्थ्य सामान्य स्वास्थ्य जत्तिकै जरूरी हो। डिप्रेसन कमजोरी होइन, उपचार गर्न सकिने अवस्था हो। सहारा दिनुहोस्—सजाय होइन।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट