२०८२ असार ९ सोमबार
LATEST NEWS
२०८२ असार ९ सोमबार

फ्याक्टचेकः अस्ट्रेलिया पुगेकी नेपाली वृद्धाले साँच्चिकै भ्लग बनाएको ठानेर झुक्किएपछि एआई भिडिओ भाइरल

काठमाडौँ । पछिल्ला केही दिनयता अस्ट्रिलियाबाट एक वृद्धा नेपाली महिलाले बनाएको भ्लगले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । सामाजिक सञ्जाल टिकटकमा ‘ह्युमन रिभाइभ’ नामक अकाउन्टबाट राखिएको उक्त भिडिओ दशौँ लाखले हेरेका छन् । धेरैले उक्त भिडिओलाई वास्तविक ठान्दै आफ्नो धारणा राखिरहेका छन् । टेकपाना फ्याक्टचेकबाट उक्त भिडिओ एआईले बनाएको पुष्टि भएको छ । 

दाबी

टिकटकमा ‘ह्युमन रिभाइभ’ (Human Revive) नामक अकाउन्टले ३ असार २०८२ (१७ जुन २०२५) मा ‘Nepali Aama in Australia Vlog 1’ क्याप्सन राख्दै एक भिडिओ राखेको थियो । भिडिओमा एक वृद्धाले परम्परागत नेपाली पोसाकमा सिड्नी हार्बर ब्रिज र ओपेरा हाउसको पृष्ठभूमिमा सेल्फी भिडिओ खिचिरहेकी देखिन्छिन् । १ मिनेट ४ सेकेन्डको भिडिओको सुरुवातदेखि ८ सेकेन्डसम्म महिला भन्छिन्, “हे गाइज, वेलकम टु माइ भ्लग । शेर बहादुर, केपी र प्रचण्डले नेपालमै बसेर खान नै दिएनन् र हामी त आयौँ है अस्ट्रेलिया । म देखाउँछु अस्ट्रेलिया कस्तो छ अब ।”

८ देखि १५ सेकेन्डको क्लिपमा उनी सिड्नी ओपेरा हाउसको नजिक पुगेर भिडिओ खिचिरहेकी देखिन्छिन् । “यो चाहिँ सिड्नी ओपेरा हाउस हो रे । हेर्नुस् त कस्तो अचम्मको बिल्डिङ छ । यहाँ आएर भिडिओ बनाएन भने चाहिँ अस्ट्रेलिया आएको हुँदैन रे है ।”

त्यसपछि १५ देखि २३ सेकेन्डको क्लिपमा उनको पछाडि सिड्नी हार्बर ब्रिज प्रस्ट देखिन्छ । उनी भन्छिन्, “हे गाइज ! मैले त इङ्लिस बोल्न पनि जानिसकेँ नि । This is called Sydney Harbour Bridge. It is one of the historical bridge of Australia.”

२३ देखि ३१ सेकेन्डको क्लिपमा उनी डार्लिङ हार्बरको किनारमा हिँड्दै भिडिओ खिचिरहेकी देखिन्छिन् । उनी भन्छिन्, “यो चाहिँ डार्लिङ हार्बर हो है गाइज । नाम पनि डार्लिङ चा हौ । हाम्रोतिर त डार्लिङ भन्यो भने मार्छ । यता ठाउँको नाम नै डार्लिङ छ ।”

त्यसपछिको ३१ देखि ३९ सेकेन्डसम्मको क्लिपमा उनी सडकको छेउमा उभिएकी छिन् र पछाडिबाट ट्राम (रेल) गइरहेको देखिन्छ । “हेर्नुस् त यहाँ त बाटोमा रेल कुद्छ । हाम्रोतिर त गाडी पाउन नि गाह्रो हुन्छ । अनि मान्छे किन नेपालमै बसिराख्छन् त ?” उनी सोध्छिन् ।

त्यसपछिको ३९ देखि ४७ सेकेन्डको क्लिपमा उनी एउटा सुपरमार्केटभित्र आलु र तरकारी भएको ठाउँमा पुग्छिन् । “गाइज ! आलु र सब्जीहरू सारै महँगो हो । अब नेपालबाट ल्याएर सागसब्जी बेच्नु पर्‍यो यता । राम्रो बिजनेस आइडिया छ है गाइज ।”

अब आउने ४७ देखि ५५ सेकेन्डको क्लिपमा उनी एउटा सुन्दर, हरियो पार्कमा पुग्छिन् । उनी त्यसैलाई देखाउँदै भन्छिन्, “यता त सारै सफा हुने रैछ हौ । न धुँवा न धुलो । झन् नेपाली कति धेरै, जता गएपनि आमा भन्छन् । अनि नेपाल अस्ट्रेलियामा रैछ गाइज ।”

अन्तिम अर्थात् ५५ सेकेन्डदेखि १ मिनेट ४ सेकेन्डसम्मको क्लिपमा उनी रेलभित्र बसेर बाहिर हेर्दै भिडिओ बनाइरहेकी छिन् । “ल गाइज, भिडिओ र भ्लग बनाउँदै गर्छु । लाइक, कमेन्ट र फलो चाहिँ गर्न नबिर्सिनु है । See you soon. Love you everyone.”

यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ५६ लाख भ्युज, चार लाख ७५ हजार लाइक, ११ हजार बढी कमेन्ट र ६१ हजार पटकभन्दा बढी शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।  

अनुसन्धान

टिकटकमा यस भिडिओले चर्चा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा पनि यो व्यापक रूपमा भाइरल भइरहेको छ । फेसबुकमा ‘कल्पना बिस्ट’ नामक फेसबुक पेजबाट पनि यो भिडिओ राखिएको छ । यो सामग्री तयार पार्दासम्म सो भिडिओमा ६४ हजार बढी रियाक्सन, ७४० कमेन्ट र १० लाख बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

पूर्णहाङ राई नामका प्रयोगकर्ताले ‘आन्टी कडा’ क्याप्सन राख्दै सोही भिडिओ राखेका छन् । सो भिडिओमा १६ हजार बढी रियाक्सन, ४२६ बढी कमेन्ट र चार लाख ७५ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै खेलाडी नामक फेसबुक पेजले पनि ‘स्माइली’ ईमोजी राख्दै सोही भिडिओ पोस्ट गरेको छ । सो भिडिओमा ११ हजार रियाक्सन, १७७ कमेन्ट, २४१ शेयर र दुई लाख ३२ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

यसरी यही भिडिओ प्रसँग नै नखुलाई राख्ने कैयौं टिकटक अकाउन्ट र फेसबुक अकाउन्ट तथा पेज छन् । 

यो भिडिओ बनाउने ‘ह्युमन रिभाइभ’ नामक टिकटक अकाउन्टले पनि प्रयोगकर्तालाई भ्रममा पार्न ‘यो भिडिओ एआईले तयार नपारेको’ दाबी गर्दै कमेन्ट गरिरहेको छ । त्यसमा आएका अधिकांश कमेन्ट हेर्ने हो भने धेरैले भिडिओ वास्तविक नै ठानेको देखिन्छ । केहीले भने भिडिओमा बोल्ने महिलाको आत्मविश्वासको प्रशंसा समेत गरेका छन् । केहीले भने भिडिओ एआईले नै बनाएको भन्दै आफ्नो धारणा राखेका छन् ।

भिडिओ विश्लेषण गर्दा उक्त भिडिओ एआईले बनाएको स्पष्ट हुन्छ । भिडिओ पोस्ट गर्ने क्रियटरले कतै पनि भिडिओ एआईले बनाएको भन्ने नखुलाए पनि भिडिओको दायाँपट्टि तल ‘Veo’ को वाटरमार्क छ । अर्थात् यो भिडिओ भिओ थ्रीले तयार पारेको स्पष्ट हुन्छ । 

त्यसपछि भिडिओको सुरुवाति समयमै अर्थात् ४ सेकेन्डतिर वृद्धा महिलाको पछाडिपट्टि उडिरहेका चरा एक्कासि हराउँछन् । भिडिओको सात सेकेन्डमा महिलाको पृष्ठभूमिमा देखिने पसलहरूको नाम पनि स्पष्ट देखिँदैन । पसलको बोर्डमा भएको टेक्स्ट बिग्रिएको प्रस्ट देखिन्छ । यसबाट पनि भिडिओ एआईले बनाएको पुष्टि हुन्छ ।

भिडिओको नौ सेकेन्डमा ओपेरा हाउसमा नेपालको राष्ट्रिय झण्डा देखिन्छ, जुन वास्तविक रूपमा छँदै छैन । 

पहिलो आठ सेकेन्ड र त्यसपछि सुरु हुने नौ सेकेन्डपछि देखिने महिलाको अनुहार पनि परिवर्तन भएको छ । त्यसपछि १६ सेकेन्डमा पनि महिलाको अनुहार परिवर्तन हुन्छ । त्यसबेला पनि पृष्ठभूमिका दृश्य अस्वाभाविक देखिन्छन् । 

त्यसपछि २४ सेकेन्डमा अर्को दृश्य देखिन्छ । सुरुवातदेखि २३ सेकेन्डसम्म देखिएको भिओको वाटरमार्क २४ औं सेकेन्डमा गायब हुन्छ । र, २४ औँ सेकेन्डपछि देखिने महिलाको अनुहार पनि पहिले देखिएका महिलासँग मेल खाँदैन । 

३२ सेकेन्डको क्लिपमा महिलाको पृष्ठभूमिमा ट्राम (विद्युतीय रेल) कुदिरहेको देखिन्छ । त्यसमा पनि महिलाको फोटो फरक छ । त्यस्तै रेल पृष्ठभूमिबाट हटिसकेपछि देखिने पसलहरूको बोर्ड पनि अस्पष्ट देखिन्छ । 

त्यसपछि ४० औं सेकेन्डमा महिला सुपरमार्केटमा देखिन्छिन् । त्यसमा पनि महिलाको अनुहार परिवर्तन भएको छ । त्यसमा पृष्ठभूमिको दृश्य अस्वाभाविक लाग्छ । अब सुरु हुने ४८ औँ सेकेन्डको क्लिपमा सुरुवाति क्लिपमा देखिएकी महिलाभन्दा कैयौँ फरक महिला देखिन्छिन् । त्यसपछिको अन्तिम ५६ औं सेकेन्डपछि महिला रेलमा यात्रा गरिरहेकी देखिन्छिन्  । 

त्यसमा भिओको वाटरमार्क प्रस्ट देखिएको छ भने क्याप्सनमा अक्षरहरू सबै बिग्रिएका छन् । 

यहाँ १ मिनेट ४ सेकेन्डको भिडिओमा हरेक ८ सेकेन्डमा फरक फरक क्लिप देखिएका छन् । भिओ थ्रीले अहिले आवाजसहितको भिडिओ जम्मा आठ सेकेन्डको बनाउन सक्छ । उही पात्र भएको अर्को भिडिओ बनाउन त्यही किसिमको प्ररिस्कृत प्रम्प्ट आवश्यक पर्छ । त्यसो गर्दा पनि दुरुस्तै अनुहार मिल्ने अर्को क्लिप बनाउन एआईलाई गाह्रै पर्छ । त्यसैले हरेक आठ सेकेन्डपछि भिडिओमा देखिने महिलाको स्वरूप नै फरक देखिएको छ । आवाज केही हदसम्म पहिलेकै क्यारेक्टरसँग मिल्दोजुल्दो सुनिए पनि हरेक क्लिपमा भिन्नता पाउन सकिन्छ ।

 

भिडिओ एआईले बनाएको हो वा होइन भन्ने पहिचान गर्ने टुल हाइभ मोडेरेसनमा भिडिओ अपलोड गर्दा यो ९९.३ प्रतिशत एआईले बनाएको हुनसक्ने देखियो । 

एआई भिडिओ राखेर भ्रममा पार्दै ‘ह्युमन रिभाइभ’

पहिलो पटक ‘ह्युमन रिभाइभ’ नामक टिकटक अकाउन्टबाट १३ जुन २०२५ मा भिडिओ राखेको देखिन्छ । उक्त भिडिओ पनि एआईले नै तयार पारेको हो । एआईमा पनि गुगलको नयाँ टुल ‘भिओ थ्री’ले सो भिडिओ बनाएको वाटरमार्कबाट स्पष्ट हुन्छ । 

त्यसपछि पनि उक्त अकाउन्टबाट ‘भिओ’ निर्मित भिडिओहरू निरन्तर अपलोड भइरहेका छन् । माथि चर्चा गरिएकी वृद्धाको भिडिओ नै उक्त अकाउन्टबाट पोस्ट गरिएको पहिलो यस्तो सामग्री देखिन्छ । सोही भिडिओले व्यापक चर्चा पाएपछि प्रयोगकर्ता हौसिएर यस्तै प्रकृतिका अन्य भिडिओ निरन्तर पोस्ट गरिरहेका छन् ।

भिडिओमा कतै पनि ती सामग्री एआईद्वारा निर्मित हुन् भनेर खुलाइएको छैन । यतिसम्म कि प्रयोगकर्ताले ‘भ्लग भाग १, भाग २, भाग ३’ जस्ता शीर्षक राखेर दर्शकलाई थप भ्रममा पार्ने प्रयास गरिरहेका छन् । यिनै भ्रामक भिडिओलाई वास्तविक ठानेर अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि टिकटक र फेसबुकमा व्यापक रूपमा शेयर गरिरहेका छन् ।

दाबी

देशको बेथितिबाट दिक्क भएर अस्ट्रेलिया पुगेकी नेपाली वृद्धाले भ्लग बनाइन् । 

दाबीकर्ता

नेपाली रिभाइभ नामको टिकटक अकाउन्ट, ‘पूर्णहाङ राई’, ‘खेलाडी’, ‘कल्पना बिस्ट’ नामक फेसबुक पेज ।

तथ्य

भिडिओ वास्तविक नभई गुगलको नयाँ एआई टुल ‘भिओ थ्री’ले निर्माण गरेको हो ।

निष्कर्ष

‘नेपाली रिभाइभ’ नामक टिकटक अकाउन्ट, ‘पूर्णहाङ राई’ र ‘खेलाडी’ नामक फेसबुक पेजले एउटा भिडिओ पोस्ट गर्दै देशको बेथितिबाट दिक्क भएर अस्ट्रेलिया पुगेकी एक नेपाली वृद्धा महिलाले भ्लग बनाएको भ्रामक दाबी गरिरहेका छन् । भिडिओलाई वास्तविक देखाउन उनीहरूले कमेन्टमा समेत ‘यो साँचो हो’ भनेर लेखिरहेका छन् । तर, फ्याक्टचेकको विश्लेषणबाट यो भिडिओ वास्तविक नभई गुगलको नयाँ एआई भिडिओ जेनेरेसन टुल ‘भिओ’ (VEO) बाट बनाइएको कृत्रिम भिडिओ भएको पुष्टि हुन्छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ १६:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट