काठमाडौँ । फिल्म शुटिङ, खेलकुदको उद्घाटन, सवारीसाधन सार्वजनिकदेखि विपदमा परेकाको उद्धारसम्म, यी सबै काममा ड्रोनको प्रयोग सामान्य भइसक्यो । तर, यस्ता विशेष कामका लागि आवश्यक पर्ने शक्तिशाली र कस्टमाइज्ड ड्रोन नेपालमै बन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

अनिल प्रधान र उनको टिमले नेपालको भूगोल र आवश्यकताअनुसार विभिन्न प्रकारका ड्रोन निर्माण तथा एसेम्बल गर्दै आएका छन् । सामान्य मनोरञ्जनका लागि प्रयोग हुने साना ड्रोनदेखि २०-२५ किलोसम्मको भार बोकेर उड्न सक्ने शक्तिशाली ‘सिने लिफ्टर’ र विपद् उद्धार ड्रोनसम्म उनीहरूले नेपालमै तयार पारेका छन् ।
नक्खु बाढीको दुःखद घटनाले जन्मायो ‘उद्धार ड्रोन’
यो ठुलो र शक्तिशाली ड्रोन बनाउनुको पछाडि एउटा दुःखद घटना जोडिएको छ । गत वर्ष काठमाडौँको नक्खु खोलामा आएको बाढीले मानिसहरूलाई बगाइरहेको तर तत्काल उद्धार हुन नसकेको घटनाले अनिललाई छोयो ।

“त्यतिबेला मानिसहरू बाढीको बीचमा फसेका थिए । तर हेलिकप्टर पनि पुग्न सकेन । यदि हामीले ड्रोनमार्फत लाइफ ज्याकेट वा डोरी मात्रै पनि खसालिदिन सकेको भए कसैको ज्यान बच्थ्यो कि भन्ने लाग्यो,” अनिल भन्छन्, “त्यही घटनाले हामीलाई यस्तो ड्रोन बनाउन प्रेरित गर्यो ।”
यो ड्रोनले १२ किलोसम्मको वजन सजिलै बोक्न सक्छ र २० देखि २५ किलोसम्मको भार उठाएर उड्ने क्षमता राख्छ । यसमा सामान खसाल्न मिल्ने विशेष ‘ड्रप मेकानिजम’ जडान गरिएको छ । जसले गर्दा बाढी वा अन्य विपदमा फसेकाहरूलाई लाइफ ज्याकेट, डोरी, औषधि वा खानेकुरा जस्ता अत्यावश्यक सामग्री पुर्याउन सकिन्छ ।
फुटबल मैदानदेखि हात्ती आतंकसम्म ड्रोनको प्रयोग
अनिल र उनको टिमले बनाएका ड्रोनहरूको प्रयोग विविध क्षेत्रमा भइसकेको छ । केही समयअघि सम्पन्न केपी ओली गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनमा ड्रोनबाटै फूल बर्साइएको थियो । त्यस्तै, प्रोटोन कम्पनीको नयाँ विद्युतीय गाडी सार्वजनिक गर्दा ड्रोनले नै पर्दा उचालेर अनावरण गरेको थियो ।
यति मात्र होइन । झापा र मोरङका स्थानीय तहसँगको सहकार्यमा हात्ती आतंक नियन्त्रणका लागि पनि ड्रोन प्रयोग गरिएको छ । ड्रोनमा जडान गरिएको शक्तिशाली साइरन बजाएर हात्तीलाई मानव बस्तीबाट जंगलतिर धपाउने काममा समेत यो प्रविधि सफल भएको अनिल बताउँछन् ।
के साँच्चै ‘मेड इन नेपाल’ हो ?
अनिलका अनुसार ड्रोनका मोटर, प्रोपेलर, इलेक्ट्रोनिक कम्पोनेन्ट जस्ता मुख्य पार्टपुर्जाहरू विदेशबाटै आयात गर्नुपर्छ । तर, ड्रोनको डिजाइन, फ्रेम कटिङ, थ्रीडी प्रिन्टिङ र नेपालको आवश्यकताअनुसारको कस्टमाइजेसनको काम भने उनीहरूको टिम ‘जीबीएस’ले नेपालमै गर्छ ।
“हामीले नेपालको भूगोल र वातावरण सुहाउँदो ड्रोन बनाउँछौँ । कुनै सरकारी वा निजी निकायले आफ्नो आवश्यकता बताएमा हामी त्यहीअनुसारको ड्रोन डिजाइन र निर्माण गरेर दिन सक्छौँ,” उनी अगाडि भन्छन् ।
चुनौतीसँगै भविष्यको योजना
नेपालमा ड्रोन प्रविधिमा काम गर्न सजिलो भने छैन । कस्टमाइज गरिएका ड्रोनको सिरियल नम्बर नहुने हुँदा दर्ता प्रक्रियामा कानुनी अड्चन छ । ब्याट्रीजस्ता सामग्री आयातमा निकै कठिनाइ छ । काठमाडौँ उपत्यकाभित्र विमानस्थलको निकटताले परीक्षण उडानका लागि समेत बाहिर जानुपर्ने बाध्यता छ ।
यी चुनौतीका बाबजुद अनिल र उनको टिम भविष्यप्रति आशावादी छन् । उनीहरू कृषि क्षेत्रमा मल र विषादी छर्ने, सुरक्षा निकायका लागि निगरानी गर्ने, ड्रोन ज्याम गर्ने (एन्टी-ड्रोन) प्रविधि विकास गर्नेदेखि ड्रोन लाइट शो जस्ता मनोरञ्जनात्मक कार्यमा समेत काम गर्ने योजनामा छन् ।
अनिलले नेपाली सेनासँग उपकरण विकासमा समन्वय गरिरहेका छन् र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पनि ड्रोन प्रयोग गरिरहेका छन् । रातिको समयमा निगरानीका लागि थर्मल इमेजिङ क्यामेरा जडान गरिएका ड्रोनको आवश्यकता र हाइब्रिड (V-TOL) ड्रोन जस्ता उन्नत प्रविधिमा अनुसन्धान भइरहेको उनी सुनाउँछन् ।
यस्ता सामाजिक कामलाई निरन्तरता दिन प्रधानको ड्रोन स्टार्टअप एफपीभी मार्टले अन्य व्यवसायिक काम पनि गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: असार ७, २०८२ २२:५५
सामाग्री श्रोत :
टेक पाना