काठमाडौँ । तपाईंले मोबाइलमा गर्ने हरेक कल, पठाउने प्रत्येक मेसेज र प्रयोग गर्ने हरेक बाइट डेटाको पछाडि एउटा अदृश्य ‘पावर हाउस’ले २४ सै घण्टा काम गरिरहेको हुन्छ । त्यो यस्तो ठाउँ हो, जहाँ तपाईंको डेटा कहिल्यै सुत्दैन र त्यसलाई चलाउने पूर्वाधार पनि एक सेकेन्डका लागि बन्द हुँदैन । यही डिजिटल संसारको मुटु कस्तो हुन्छ भनेर टेकपानाले हालै एनसेलको नख्खुस्थित अत्याधुनिक डेटा सेन्टरको भ्रमण गरेको छ ।

बाहिरबाट हेर्दा सामान्य देखिने भवन, तर भित्र प्रवेश गर्दा सुरक्षाको तह-तह पार गर्नुपर्छ । बायोमेट्रिक प्रणाली र कडा सुरक्षा जाँचपछि हामी डेटा सेन्टरको भित्री करिडोरमा पुग्यौँ । तर त्यसअघि एउटा अनौठो नियम पालना गर्नुपर्यो- जुत्ता खोल्ने । “भित्रका संवेदनशील उपकरणहरूमा धुलोका कणले असर नगरोस् भनेर यसो गरिएको हो,” एनसेलका टेक्नोलोजी तथा आईटी युनिट हेड मदन कुमार घिमिरेले सुरुमै प्रस्ट्याए ।
सेतो करिडोर हुँदै भित्र पस्दा विभिन्न कक्षहरू देखिन्छन्, जहाँ पावर, ब्याट्री, कुलिङ र सर्भरहरूलाई छुट्टाछुट्टै राखिएको छ । यो डेटा सेन्टर विश्वप्रसिद्ध ‘अपटाइम इन्स्टिच्युट’ द्वारा ‘टियर-थ्री’ स्तरको प्रमाणित रहेको उनले सुनाए । उनका अनुसार यसले ९९.९८२% अपटाइमको ग्यारेन्टी दिन्छ । अर्थात्, वर्षमा जम्मा १.६ घण्टाभन्दा कम समय मात्र बन्द हुन सक्ने सम्भावना रहन्छ ।
कहिल्यै नजाने बत्ती: तीन तहको पावर ब्याकअप

डिजिटल सेवाको मेरुदण्ड भनेकै निरन्तर पावर सप्लाई हो । एनसेलले यसका लागि तीन-पत्रे फलामे किल्ला जस्तै मजबुत व्यवस्था गरेको जनाएको छ ।
सरकारी लाइन: लगनखेल सबस्टेसनबाट ११ केभीका दुई ओटा छुट्टाछुट्टै भूमिगत लाइनबाट बिजुली ल्याइएको छ । “यो हाम्रो आफ्नै डेडिकेटेड लाइन हो, अरू कसैसँग शेयर गरिएको छैन,” एनसेल डेटा सेन्टरका टिम हेड हरि चौलागाईंले भने, “एउटा लाइनमा समस्या आए, अर्कोबाट तुरुन्तै बिजुली आपूर्ति हुन्छ ।”
शक्तिशाली जेनेरेटर: यदि दुवै सरकारी लाइनमा समस्या आए ५०,००० लिटर इन्धन क्षमताको भूमिगत ट्यांकसँग जोडिएका १२५० केभीएका पाँचओटा शक्तिशाली जेनेरेटरहरू छन्। यीमध्ये दुई ओटाले नै हालको लोड धान्छ भने तीन ओटा जगेडामा रहन्छन् । चौलागाईंका अनुसार, यो इन्धनले डेटा सेन्टरलाई पाँच दिनसम्म लगातार चलाउन सक्छ ।
ब्याट्री र यूपीएस: सरकारी लाइन जानु र जेनेरेटर चल्नुबीचको ३०-४५ सेकेन्डको ग्यापमा सेवा अवरुद्ध हुन नदिन विशाल ब्याट्री र यूपीएस (Uninterruptible Power Supply) कक्ष छ । यसले बिजुली गएको थाहै नपाई सेवालाई निरन्तरता दिन्छ ।
“हामीले उपकरणलाई मात्र होइन, कुलिङ प्रणालीलाई पनि यूपीएस ब्याकअप दिएका छौं,” घिमिरेले भने, “जसले गर्दा कुनै पनि हालतमा जेरो ल्याटेन्सी (शून्य ढिलाइ) मा काम हुन्छ ।”
डेटा सेन्टरलाई आगलागीबाट बचाउन ‘नोभेक १२३०’ नामक ग्यासमा आधारित फायर सप्रेसन सिस्टम जडान गरिएको छ । यसले उपकरण र मानव स्वास्थ्यलाई असर नगरी तुरुन्तै आगो निभाउँछ । त्यस्तै, नेपालको भूकम्पीय जोखिम (सिस्मिक जोन-४) लाई ध्यानमा राखेर यो डेटा सेन्टर डिजाइन गरिएको छ, जसले गर्दा ठुलो भूकम्पमा पनि सुरक्षित रहन्छ ।
कसका लागि हो यो डेटा सेन्टर ?
एनसेलको यो डेटा सेन्टर साना तथा मझौला उद्योग (SMEs), ठुला कर्पोरेट हाउस, बैंक, वित्तीय संस्था, फिनटेक र ई-कमर्स कम्पनीहरूका लागि बनाइएको हो । “हामीले समग्रमा सबै उद्योगलाई लक्षित गरेका छौं,” एनसेलका सिनियर इन्जिनियर (बिजनेस सलुसन्स) विकाश कर्णले भने ।
एनसेलले हाल ‘इन्फ्रास्ट्रक्चर एज अ सर्भिस’ (IaaS) अन्तर्गत सर्भर राख्ने ठाउँ (कोलोकेसन) र म्यानेज्ड सर्भिस दिइरहेको छ । “हामी छिट्टै नै ‘प्लेटफर्म एज अ सर्भिस’ (PaaS) र ‘सफ्टवेयर एज अ सर्भिस’ (SaaS) मोडेलमा पनि जाँदैछौं,” कर्णले थपे ।
भविष्यको तयारी
नेपालको बढ्दो डिजिटल आवश्यकता र ‘डिजिटल नेपाल फ्रेमवर्क’ को यात्रालाई यो डेटा सेन्टरले बलियो आधार दिएको छ । “हामी क्लाउड-रेडी छौं,” एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सियोले भने, “नेपालमा डिजिटल कमर्स र पूर्वाधार तीव्र गतिमा बढिरहेको छ, त्यसका लागि हामी पूर्ण रूपमा तयार छौं ।”
एनसेलले भविष्यमा एज कम्प्युटिङको अवधारणामा समेत काम गरिरहेको छ, जहाँ ग्राहकको नजिकै साना डेटा सेन्टरहरू राखेर सेवालाई अझ छिटो र प्रभावकारी बनाइनेछ । “हामीसँग उत्कृष्ट पूर्वाधार मात्र होइन, यसलाई चलाउने दक्ष जनशक्ति पनि छ,” एनसेलका प्रमुख प्राविधिक तथा सूचना अधिकृत अमिर अलीले भने, “हाम्रो लक्ष्य भनेको भविष्यका हरेक डिजिटल चुनौतीको लागि तयार रहनु हो ।”
हेर्नुहोस् भिडिओ
पछिल्लो अध्यावधिक: असार ७, २०८२ १७:५६
सामाग्री श्रोत :
टेक पाना