२०८२ असार ५ बिहीबार
LATEST NEWS
२०८२ असार ५ बिहीबार

स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र

माननिय मन्त्रीज्यू,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
काठमाडौं, नेपाल


विषय : विनम्र अनुरोध सहित खुल्ला पत्र ।
 

महोदय,

मानिसको जीवन तथा मरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने अस्पताल तथा स्वस्थ्य सेवा प्रदायकहरु अत्यन्तै संवेदनशील क्षेत्र हुन् । उच्च गुणस्तरको सेवाप्रवाह आजको आवश्यकताका रुपमा खट्किएको कुरा आजको यथार्थ हो।

चिकित्सकको चिकित्सकिय चुस्तता, प्राविधिकको कामप्रतिको इमान्दारिता साथै अस्पतालको चुस्त व्यवस्थापनले बिरामीको सेवाप्रवाहमा अहम् भूमिका निर्वाह गरेको हुन्छ। बिरामी अस्पतालको गेटबाट प्रवेश गरे पश्चात् सेवा पाएर नफर्किएसम्म उसले सुलभ तथा गुणस्तरीय सेवा पाउनका लागि अस्पतालको व्यवस्थापन चुस्त रहनु जरुरी रहन्छ । संख्यात्मक रुपमा नेपालमा सरकारी तथा निजी अस्पतालहरुको संख्या विगत दुई दशकमा आशातित रुपमा वृद्धि भएको पाइन्छ । अस्पतालको चुस्त व्यवस्थापन विना अस्पतालको सेवा गुणस्तर हुन सक्दैन भन्ने यथार्थलाई नीति निर्माता महशुस नगरेको देखिन्छ । विदेशका अस्पतालहरुको अस्पताल व्यवस्थापनमा दक्ष अस्पताल व्यवस्थापन विषयमा अध्ययन गरेका जनशक्तिकै दरवन्दी सृजना गरेर पदपूर्ति गरेको पाइन्छ। 

नेपालमा हजारौंको संख्यामा अस्पताल व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर गरेर दिक्षित जनशक्ति पाइन्छ। यसता दक्ष जनशक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कसैको ध्यान गएको पाइँदैन। विश्वविद्यालय जनशक्ति उत्पादन गर्ने भट्टीको रुपमा जनशक्ति उत्पादन गर्दैछ। त्यहाँबाट उत्पादित जनशक्ति कहाँ खपत होलान् ? कसरी खपत होलान् ? भन्ने विषयमा विश्वविद्यालय प्रशासनलाई कुनै सरोकार छैन। विडम्बना यस विषयमा दिक्षित धेरै दक्ष जनशक्ति विदेशिन बाध्य छन्। निजी क्षेत्रबाट संचालित केही अस्पतालले अस्पताल व्यवस्थापनमा दिक्षित जनशक्ति राखेर आफनो व्यवस्थापनमा चुस्तता ल्याएको उदाहरण नेपालमै प्रशस्तै रहेको छ । सरकारी तवरमा करारमा अस्पताल व्यवस्थापन अधिकृतलाई पदपूर्ति गरेर अस्पातलको न्यूनत्तम सेवा मापदण्डमा उत्कृष्ट भएका अस्पताल व्यवस्थापनका जनशक्तिले चुस्त तवरले कार्य गर्न सक्छन भन्ने उदाहरण हो। 

हजारौंको संख्यामा अस्पताल व्यवस्थापनका दक्ष जनशक्ति उत्पादन भएर खेर गइरहँदा समेत लोक सेवा आयोग मार्फत् स्थायी पदपूर्ति नहुनु तथा लामो समयदेखि करारमा मात्र अस्पताल व्यवस्थापन अधिकृतलाई काममा लगाइरहनु खेदपूर्ण विषय हो।  जनस्वास्थ्य ऐन तथा नियमावली, न्यूनत्तम सेवा मापदण्डमा व्यवस्था भए अनुसार देशका सबै २५ शैया माथीका अस्पतालहरुमा स्थायी दरबन्दीमा अस्पताल व्यवस्थापन अधिकृत तथा प्रशासकको पद सृजना हुनु आजको आवश्यकता हो । अस्पताल प्रशासन अस्पतालको चुस्त सेवा प्रवाहको लागि अपरिहार्य विभाग हो तथा सो विभागमा दक्षा जनशक्तिको व्यवस्थापन आजको टड्कारो आवश्यकता हो। ७/८ तहमा अस्पताल व्यवस्थापन अधिकृत तथा ९/१० तहमा अस्पताल प्रशासकको स्थायी दरबन्दी यथासक्य खोल्नु आवश्यक छ। देश संघीयतामा गएको छ । स्वस्थ्य सेवा सबै नागरिकको मौलिक हक हो । सबै जनताको निजी अस्पतालमा पहुँच छैन। सरकारी अस्पतालमा जनताले पाउनु पर्ने सबै सेवा छैन, भएकोमा समेत राम्रो व्यवस्थापन छैन । सबै जनताले यदि सरकारी अस्पतालबाटै जेजति सेवा प्रदान हुने गरेको छ, ती सेवा गुणस्तरीय पाउने हो भने पैसा खर्च गर्न सक्ने नागरिक मात्र निजी अस्पतालमा जाने यथार्थ आजको सत्य हो। सरकारी अस्पतालको बेथिति रोक्न सरकार तथा निति निर्माताको यस तर्फ पनि ध्यान जानु अत्यन्त जरुरी देखिन्छ। जसका लागि चुस्त व्यवस्थापन आवश्यक छ। 

विश्व जगतका विकासोन्मुख देशहरुका अस्पतालहरुको दयनीय अवस्था जस्तै नेपालका सरकारी अस्पतालहरुको चिकित्सकीय र ब्यवस्थापकीय अवस्था पनि भिन्न रहेको छैन। एकदशक अगाडि फर्केर हेर्दा सरकारी अस्पतालहरु मनव संसाधन र आर्थिक स्रोतको चरम अभाव बिच गुज्रिको कुरा सर्वविधितै  छ। सरकारी छात्रबृत्तिमा पढेका चिकित्सिकहरुको परिचालन पश्चात जनताहरुले चिकित्सकीय सेवाको अनुभव गर्न पाएका थिए भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुरु गरेको अस्पताल ब्यवस्थापन सुदृढीकरण कार्यक्रम लागु भएपश्चात् अस्पताल ब्यबस्थापनमा केही कामहरु भएको र शसर्त नियमित बजेटहरु बिनियोजन गर्न थालिएको देखिन्छ । मुलुक संघियतामा गएपछि अस्पतालहरुले थप सहयोग पाइरहेका छन् । पछिल्लो एकदशक अस्पतालहरुको लागि अस्पतालको विकासका लागि यथेष्ठ प्रयासहरु भएता पनि अझै सेवाग्राहीहरुले अनुभूत गर्नेगरी सरकारी अस्पतालहरुले गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिरहेका छैनन् । यसका पछाडी विभिन्न कारणहरु रहेता पनि अस्पताल/स्वास्थ्य संस्था ब्यवस्थापन टड्कारो समस्याको रुपमा देखिन्छ।

अस्पताल व्यवस्थापन अधिकृतको अपरिहार्यता
विश्व जगतमा नै अस्पतालका विभिन्न क्षेत्रहरु चिकित्सकीय, नर्सिङ, जनस्वास्थ्य, प्यारामेडिक जस्तै अस्पताल ब्यवस्थान पनि त्यत्तिकै महत्वका साथ अगाडी आएको छ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि अस्पताल ब्यवस्थापन बिधाको महत्वलाई दृष्टिगत गरी अस्पताल ब्यवस्थापन सुदृढीकरण कार्यक्रम अन्तर्गत न्युनतम सेवा मापदण्डमा अस्पताल ब्यवस्थापन अधिकृत हुनुपर्ने उल्लेख गरेको अस्पताल संचालन मापदण्ड २०७७ ले अस्पतालहरुमा अनिवार्य रुपमा अस्पताल ब्यवस्थापक हुनुपर्ने कुरा सुनिश्चित गरेको छ। 

यसका साथै आ. व. २०७४/७५ देखि देशै भरिका ५० वेडका अस्पतालहरुमा करार सेवा मार्फत् अस्पताल ब्यवस्थापन अधिकृतको ब्यवस्था गरिएको र क्रमिक रुपमा ओएन्डएम सर्वे मार्फत दरवन्दी सृजना गरी  सवै अस्पतालहरुमा सो पदको सुनिश्चितता गर्ने योजना रहेको बुझिन्छ । तर हालै सार्वजनिक भएको ओएन्डएम सर्वेमा अस्पताल ब्यवस्थापन अधिकृतको कुनै दरबन्दी नहुनु खेदपूर्ण छ। साथै यस विषय तथा यस विषय पढेका जनशक्तिहरुको ठूलो अपमान भएको छ। 

वर्तमान परिवर्तित परिप्रेक्षमा अस्पतालहरुको दरवन्दी सिर्जना गर्ने अधिकार स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको मातहतमा आएको हुँदा दरवन्दी सृजना गर्दा अस्पतालहरुको न्युनतम सेवा मापदण्ड र अस्पताल ब्यवस्थापनको अपरिहार्यतालाई मध्यनजर गर्दै सो पद सुनिश्चित गरिदिनु हुन ध्यानाकर्सण सहित सादर अनुरोध गर्दछौं। साथै उक्त पदका लागि आवश्यक पर्ने जनशक्ति (अस्पताल/स्वास्थ्य सेवा ब्यवस्थापन संकाय) नेपालका विभिन्न विश्वबिद्यालयहरुबाट यथेष्ठ मात्रामा उत्पादन भइरहेको जानकारी गराउदछौं।

पोखरा विश्वविद्यालयबाट बिगत २० वर्षदेखि स्वास्थ्य सेवा ब्यवस्थापन विषयमा स्नातक, स्नातकोत्तर तहको जनशक्ति उत्पादन हुँदै आइरहेको र हाल स्नातक तहमा जम्मा १५०० जना, पोष्ट ग्य्राजुएट तहमा ३८० जना र स्नातकोत्तर तहमा ५०० जना जनशक्ति उत्पादन भइसकेको साथै बिदेशबाट यस विषयको अध्ययन गरी २०० जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट वार्षिक रुपमा थप जनशक्ति उपलब्ध रहेको छ । साथै बार्षिक ५०० जना जति स्वास्थ्य सेवा ब्यवस्थापन विषयका दक्षजनशक्ति उत्पादन हुने अवस्था रहेको छ। अस्पताल व्यवस्थापनमा दक्षता हासिल गरेका जनशक्ति अस्पतालको व्यवस्थापनमा रहँदा अस्पतालको चुस्त व्यवस्थापन हुने दृढ अपेक्षा राख्दछौं। 

तपशिल बमोजिम दरबन्दी सृजना गरी ओएन्ड एम सर्भेमा समाहित गर्न हार्दिक अनुरोध गर्दछु : 


सरकारी अस्पतालबाट सेवा गुणस्तरिय भएन भन्ने गुनासो सबै पक्षबाट भएको पाइन्छ । के कति कारणले यसको सेवामा चुस्तता आउन नसकेको हो ? यसतर्फ कसैको ध्यान पुगेको पाइँदैन । उपकरण खरिदको घोटालाको कुरा कर्मचारी प्रशासन चुस्तताको अभाव भएको साथै अन्य व्यवस्थापकीय कुरा अत्यन्तै कमजोर रहेको गुनासो हामी सबैलाई विदितै छ। सरकारी अस्पतालमा दक्ष चिकित्सक वा दक्ष प्राविधिकको कमी छैन । सायद त्यहाँ जत्तिको दक्ष चिकित्सक तथा प्राविधिक कर्मचारी हामी सायदै अन्यत्र पाउन सक्छौं तर बिरामीले भनेको समयमा सेवा पाउँदैनन साथै पाएता पनि गुणस्तरिय सेवा नपाएको गुनासो आउने गरेको छ।

यसको सुधारमा केकति कुरा अपुग हो त्यसतर्फ ध्यान जानु जरुरी छ। दक्ष तथा अनुभवि चिकित्सक तथा प्राविधिक हुँदा समेत केकति कारणले त्यहाँबाट राम्रो सेवा प्रवाह भइरहेको छैन। यसको एउटा कारण अस्पताल व्यवस्थापनको चुस्ततामा कमी पनि हुन सक्छ। 

हजारौंको संख्यामा अस्पताल व्यवस्थापन चलाउने दक्ष जनशक्ति उत्पादन भएर खेर गइरहँदा समेत लोक सेवा आयोगले यो विषयलाई मान्यता नदिनु तथा पद व्यवस्थापन नगर्नु खेदपूर्ण तथा तीतो यथार्थ बनेको छ । सरकारी अस्पतालको अस्पताल व्यवस्थापनमा यसता दक्ष जनशक्तिको व्यवस्था गर्ने हो भने केही न केही पक्कै सुधार हुने यथार्थलाई नकार्न सकिन्न । दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न तथा नेपालको सरकारी तथा निजि क्षेत्रको सेवाप्रवाहमा गुणस्तर ल्याउन अस्पताल व्यवस्थापनका दक्ष जनशक्तिलाई पदपूर्ती हुनु जरुरी छ।

बुझाइ के छ भने अस्पताल प्रशासक भन्नाले मेडिकल सुपरिटेन्डेन्ट अथवा मेडिकल निर्देशकको पछाडि फाइल बोकेर हिडने जनशक्ति हो । यो गलत बुझाइबाट सबै निस्कन जरुरी छ। अस्पताल व्यवस्थापन गरेको जनशक्ति मेडिकल निर्देशकलाई प्रशासनिक सल्लाह दिने तथा सम्पूर्ण अस्पताल प्रशासन धान्ने जनशक्ति हो। राज्यका स्वस्थ्यका विभिन्न उच्च पदमा, विभिन्न अस्पतालका विभिन्न उच्च पदमा तथा राज्यको निति निमार्ण कार्यमा समेत स्वास्थ्य सेवा व्यवस्थापन गरेका जनशक्तिले आफनो क्षमता प्रस्तुत गरेको सबैका अगाडी भएकाले यस जनशक्तिको उचित व्यवस्थापनका लागि माननिय जुझारु मन्त्रीज्यूबाट पहल तथा आवश्यक कदमका लागि विनम्र अनुरोध गर्दछु । 

धीरज मैनाली
व. प्रशासकिय अधिकृत 
नेपाल अर्थोपेडिक अस्पताल
काठमाडौं ।
(सचिव, स्वास्थ्य सेवा व्यवस्थापक संघ)
 

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट