२०८२ असार ४ बुधबार
२०८२ असार ४ बुधबार

किन आफ्नो प्रविधि निःशुल्क बाँड्दैछ चीन ?

काठमाडौँ । डिजिटल अर्थतन्त्रको जग ओपन सोर्स सफ्टवेयरले बनेको छ, जुन जो कोहीले निःशुल्क प्रयोग गर्न सक्छन् । विश्वका धेरैजसो वेबसाइटहरू अपाचे (Apache) र एन्जिनेक्स (Nginx) जस्ता दुई ओपन सोर्स प्रोग्राम प्रयोग गरेर चलिरहेका छन् । अधिकांश कम्प्युटर सर्भरहरू लिनक्स (Linux) बाट चल्छन्, जुन गुगलको एन्ड्रोइड (Android) अपरेटिङ सिस्टमको पनि आधार हो । क्लाउड-कम्प्युटिङ कार्यभारहरू व्यवस्थापन गर्न व्यापक रूपमा प्रयोग हुने कुबरनेट (Kubernetes) पनि ओपन सोर्स हो । यी सफ्टवेयरहरू डेभलपरहरूको विश्वव्यापी समुदायद्वारा मर्मत र सुधार गरिन्छन् ।

चीनले लामो समयदेखि यस समुदायको परिधिमा रहेर काम गर्दै आएको भए पनि हालका वर्षहरूमा यसको अभिन्न अङ्ग बनेको छ । अमेरिका र भारतपछि, चीन गिटहब (GitHub) मा सबैभन्दा ठुलो ओपन सोर्स सफ्टवेयर डेभलपरहरूको समूह भएको देश हो । अलिबाबा (Alibaba), बाइडु (Baidu) र ह्वावे (Huawei) जस्ता चिनियाँ प्रविधि कम्पनीहरूले ओपन सोर्समा ठुलो लगानीकर्ता र योगदानकर्ताको रूपमा भूमिका खेलिरहेका छन् ।

चीन विशेष गरी ओपन सोर्स आर्टिफिसियल इन्टेलिजेन्स (AI) मोडलहरूको विकासमा सक्रिय रहेको छ, जसमा डीपसीक (DeepSeek) जस्ता एआई स्टार्टअपका अत्याधुनिक मोडलहरू पनि पर्छन् । जुन गत जनवरीमा निःशुल्क रूपमा सार्वजनिक गरिएको थियो । आर्टिफिसियल एनालाइसिस (Artificial Analysis) वेबसाइटका अनुसार, शीर्ष १५ ओपन सोर्स एआई मोडलमध्ये १२ ओटा चिनियाँ हुन् ।

ओपन सोर्समा चीनको बढ्दो चासो

ओपन सोर्समा चीनको यो नयाँ चासोलाई आफ्ना प्रतिद्वन्द्वीहरूलाई कमजोर बनाउने अमेरिकी प्रयासले थप बल पुर्‍याएको छ । अनलाइनमा सजिलै उपलब्ध कोडमा चीनको पहुँचलाई रोक्न गाह्रो छ । ह्वावेका संस्थापक रेन झेङफेईले पिपुल्स डेलीलाई बताएअनुसार, अमेरिकी प्रविधि प्रतिबन्धहरूबाट डराउनु पर्दैन, किनभने समाजका आवश्यकताहरू पूरा गर्न हजारौँ ओपन सोर्स सफ्टवेयर (प्रोग्रामहरू) हुनेछन् ।

यद्यपि, चीनमा खुला प्रविधिको उदय, जुन पारदर्शिता र विकेन्द्रीकरणमा निर्भर छ, एक अधिनायकवादी राज्यका लागि असहज छ । यदि त्यहाँको कम्युनिस्ट पार्टीको ओपन सोर्सप्रतिको धैर्यता समाप्त भयो र यसले नियन्त्रण गर्ने निर्णय लियो भने, त्यसले चिनियाँ इनोभेसनको कोर्स र विदेशमा आफ्नो प्रविधि निर्यात गर्ने डेभलपरहरूको क्षमता दुवैलाई बाधा पुर्‍याउन सक्छ ।

चीनको ओपन सोर्सको विकास

चीनको ओपन सोर्स अभियानले सन् २०१० को मध्यतिर गति लियो । काइयुआनशे (Kaiyuanshe) का सह-संस्थापक रिचर्ड लिनका अनुसार प्रारम्भिक चरणमा निःशुल्क सफ्टवेयर अपनाउन चाहनेहरूमा प्रायः  डेभलपरहरू थिए । तर, ओपन सोर्स परियोजनाहरूमा योगदान गर्दा उनीहरूका लागि जागिरका अवसरहरू सुधार हुन सक्ने महसुस भएपछि यो परिवर्तन भयो । चाँडै ठुला कम्पनीले पनि यसलाई पछ्याए, जसमा ह्वावे जस्ता कम्पनीहरूले ट्यालेन्टहरूलाई आकर्षित गर्न र प्रविधि शेयरिङ गरेर लागत घटाउन ओपन सोर्समा साथ दियो । 

सन् २०१९ मा गति अझ बढ्यो, जब अमेरिकाले ह्वावेलाई एन्ड्रोइड प्रयोग गर्नबाट बन्देज लगायो । यसले पश्चिमी प्रविधिमाथिको निर्भरता घटाउने प्रयासलाई थप तीव्रता दियो । ओपन सोर्सले चिनियाँ प्रविधि कम्पनीहरूलाई विद्यमान कोड प्रयोग गर्न र देशको विशाल डेभलपर समुदायको सहयोगमा आफ्नै कार्यक्रमहरू निर्माण गर्न द्रुत मार्ग प्रदान गर्‍यो ।

सन् २०२० मा ह्वावेले स्मार्टफोन र अन्य डिभाइसहरूका लागि ओपन सोर्स अपरेटिङ सिस्टम ओपनहार्मोनी (OpenHarmony) सुरु गर्‍यो । यसले अलिबाबा, बाइडु र टेन्सेन्ट (Tencent) लगायतका अन्य कम्पनीहरूसँग मिलेर ओपनएटम फाउन्डेसन (OpenAtom Foundation) स्थापना गर्‍यो, जुन ओपन सोर्स विकासमा समर्पित संस्था हो ।

चीन चाँडै नै ओपन सोर्स प्रोग्रामहरूमा एक ठुलो योगदानकर्ता मात्र नभई सफ्टवेयरको सुरुवाति प्रयोगकर्ता पनि बन्यो । जेडी डट कम (JD.com) जस्ता ई-कमर्स कम्पनीहरू कुबरनेट प्रयोग गर्ने सुरुवाति मध्येका थिए ।

एआई र हार्डवेयरमा खुला प्रविधिको विस्तार

एआईले हालसालै चीनको ओपन सोर्स अभियानलाई थप प्रोत्साहन दिएको छ । चिनियाँ कम्पनी र सरकारले खुला मोडलहरूलाई अमेरिकासँगको अन्तर कम गर्ने सबैभन्दा छिटो तरिकाका रूपमा हेरेका छन् । डीपसीकका मोडलहरूले सबैभन्दा बढी चासो उत्पन्न गरेका छन्, तर अलिबाबाले विकास गरेको क्वेन (Qwen) पनि उच्च मूल्याङ्कनमा छ, र बाइडुले चाँडै आफ्नो अर्नी (Ernie) च्याटबटको पछाडिको मोडललाई खुला गर्ने बताएको छ ।

चीनको खुला प्रविधिप्रतिको उत्साह हार्डवेयरमा पनि विस्तार भइरहेको छ । हाङझाउको रोबोटिक्स स्टार्टअप युनिट्री (Unitree) ले आफ्नो प्रशिक्षण डेटा, एल्गोरिदम र हार्डवेयर डिजाइनहरू निःशुल्क उपलब्ध गराएको छ, जसले यसलाई विश्वव्यापी मापदण्डहरू निर्धारणमा मद्दत गर्न सक्छ । सेमीकन्डक्टरहरू अर्को उदाहरण हुन् ।

चीन पश्चिमी चिप निर्माता कम्पनीहरूको डिजाइनमा निर्भर छ । आत्मनिर्भरताको लागि आफ्नो प्रयासको एक भागको रूपमा, सरकारले फर्महरूलाई आरआईएससी-भी (RISC-V) अपनाउन आग्रह गरिरहेको छ, जुन क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा विकसित गरिएको ओपन चिप आर्किटेक्चर हो ।

ओपन सोर्समा चीनका चुनौती

पारदर्शी प्रविधिले विदेशमा आफ्ना उत्पादनहरूको स्वीकार्यता जित्न मद्दत गर्ने धेरै चिनियाँ कम्पनीहरूको आशा छ । तर, यो अझै पुष्टि हुन सकेको छैन । ह्वावेको अपरेटिङ सिस्टममा देश बाहिर थोरै प्रयोगकर्ता छन् । यद्यपि केही पश्चिमी कम्पनीहरूले डीपसीकका मोडलहरू प्रयोग गरिरहेका छन् ।

एक ग्लोबल इन्टरप्राइज-सफ्टवेयर फर्मका कार्यकारीले भनेका छन् कि अन्यत्रका धेरैजसो ग्राहकहरूले चीनका एआई टुलहरू प्रयोग गर्दैनन् । किन कि कतिपयले भविष्यमा अमेरिकी प्रतिबन्धहरूबाट अवरोध हुनसक्ने जोखिम देख्छन् । अरूलाई कोडमा लुकेका ब्याकडोरहरूबाट जासुसी हुन सक्ने चिन्ता छ ।

चीनको ओपन सोर्स महत्वाकाङ्क्षा अन्य तरिकाले पनि बिमुख हुन सक्छ । चिनियाँ सफ्टवेयर इन्जिनियर क्यू निङले औँल्याएअनुसार, अन्तर्राष्ट्रिय ओपन सोर्स सम्मेलनहरूमा सहभागीले चिनियाँ सहयोगीहरूको नाम लिन हिचकिचाइरहेका हुन्छन् । किनकि उनीहरूलाई प्रतिष्ठाको जोखिम वा राजनीतिक प्रतिकारको चिन्ता हुन्छ ।

अमेरिकी सरकारले चिनियाँ ओपन सोर्स डेभलपरहरूको जीवन कठिन बनाउन सक्छ । उसले विश्वको कोडमा दुर्भावनापूर्ण हस्तक्षेपको डर देखाउन सक्छ । जसले माइक्रोसफ्टको स्वामित्वमा रहेको गिटहबबाट चीनलाई अलग्याउने प्रयास गर्न सक्छ । क्यू भन्छन् कि धेरै चिनियाँ डेभलपरहरूलाई ‘भविष्यमा पहुँचका समस्याहरू’ को डर छ ।

चीन सरकारले गीटी (Gitee) नामक घरेलु विकल्पलाई प्रवर्द्धन गरेको छ । तर, यसलाई कमै स्थानीय प्रोग्रामरहरूले प्रयोग गर्छन् । गत वर्ष केही अमेरिकी विधायकहरूले चीनको आरआईएससी-भीमा पहुँच प्रतिबन्धित गर्नुपर्ने तर्क गरेका थिए । यद्यपि, यो प्रविधिको निरीक्षण गर्ने स्विस निकायका प्रमुख एन्ड्रिया ग्यालोले यो सम्भव नभएको दाबी गर्छन् किनकि यो यूएसबी (USB) जस्तै सार्वजनिक मापदण्ड हो ।

सरकारको नियन्त्रण: सबैभन्दा ठुलो खतरा

यद्यपि, चीनको आफ्नै सरकारले नै देशको ओपन सोर्स प्रयोगका लागि सबैभन्दा ठूलो खतरा उत्पन्न गरेको छ । यद्यपि चिनियाँ सरकार सिद्धान्ततः यसलाई साथ दिन्छ । सन् २०२१ मा चिनले गिटहबमाथि प्रतिबन्धित लगायो, किनकि यो प्लेटफर्म राजनीतिक रूपमा संवेदनशील सामग्री होस्ट गर्ने कार्यमा प्रयोग हुन सक्ने चिन्ता थियो ।

डेभलपरहरूले भर्चुअल प्राइभेट नेटवर्क (VPN) को सहयोगमा यसमाथि पुनः पहुँच प्राप्त गरे । तर यस घटनाले धेरैलाई चिन्तित तुल्याएको छ । सन् २०२२ मा चिनियाँ सरकारले गीटीमा भएका सबै परियोजनाहरू आधिकारिक समीक्षाको अधीनमा हुने  घोषणा गरेको छ र डेभलपरहरूले चिनियाँ कानुनको पालना गरेको कुरा प्रमाणित गर्नुपर्नेछ ।

यस्तै ढाँचा एआईमा पनि देखिँदैछ । चिनियाँ कानुनले ‘देशको एकता र सामाजिक सद्भावलाई क्षति पुर्‍याउने’ सामग्री उत्पादन गर्न मोडलहरूलाई निषेध गर्छ । सन् २०२३ मा, ओपन सोर्स एआई मोडलहरू शेयर गर्ने फ्रान्को-अमेरिकी प्लेटफर्म हगिङ फेस (Hugging Face) चीन भित्रबाट पहुँचयोग्य भएन ।

चीनको ओपन सोर्स अभियान स्वाभाविक छ, जुन डेभलपरहरू र प्रविधि फर्महरूद्वारा सञ्चालित छ । त्यहाँको सरकारले हालसम्म यसलाई प्रोत्साहन दिएको छ, किनकि यसले घरेलु नवप्रवर्तनलाई गति दिने र पश्चिमी प्रविधिमाथिको निर्भरता कम गर्ने उसका उद्देश्यहरू पूरा गर्छ । यदि चिनियाँ नेताहरूले खुला प्रविधिमा निर्भर हुने स्वतन्त्रता र प्रयोगको संस्कृतिलाई सीमित गरे भने, यसको सम्भावनालाई पनि सीमित गर्नेछ ।

-द इकोनोमिस्ट

पछिल्लो अध्यावधिक: असार ४, २०८२ २१:१६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट