२०८२ असार १ आईतवार
२०८२ असार १ आईतवार

नेपालको स्वास्थ्य प्रणालीका चुनौतीहरु

नेपालको वर्तमान सविधानले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा पाउने मौलिक हक प्रदान गरेको छ । तर  सञ्चारमाध्यममा आम मानिसलाई साधारण स्वास्थ्य सेवा पाउन पनि सकसपूर्ण रहेको खबरहरु दिनहुँ आइरहेका छन्। नेपालको स्वास्थ्य प्रणाली बलियो नहुँदा आम मानिसहरुलाई स्वास्थ्य सेवा झन्झटिलो, महँगो र पहुच भन्दा बाहिर रहेको छ । आम नेपालीहरुको स्वास्थ्यमा व्यक्तिगत खर्च पनि करिब ५४ प्रतिशत रहेको छ । यसको जरो खोतल्न नेपालका स्वास्थ्य प्रणालीका चुनौतीहरुको बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ र सोही अनुसार योजना बनाएर स्वास्थ्य प्रणाली बलियो बनाउँदै लैजानु पर्दछ ।  नेपालको स्वास्थ्य प्रणालीको चुनौतीहरुको बारेमा यहाँ बुँदागत समिक्षा गर्न खोजिएको छ।

नेपालका प्राय अस्पतालहरुमा शुद्ध खानेपानी नियमित उपलब्धता सुनिश्चित हुन सकेको छैन। जसले गर्दा अस्पताल तथा स्वास्थ्य संस्थाका पानी व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । बिजुलीको आपूर्ति नियमित नहुँदा अस्पतालमा रहेका महंगो र महत्वपुर्ण मेडिकल औजारहरु छिट्टै बिग्रने गरेका छन्। यी बिग्रिएका औजारहरु नियमित मर्मत नहुने र स्वास्थ्य सेवा पनि नियमित नहुने गरेको छ। अस्पतालहरु र स्वास्थ्य संस्थाका तथ्यांक ब्यबस्थित रहेको पाइदैन । धेरै तथ्यांकहरु डिजिटल प्रविधिमा राख्नुपर्ने भएपनि उच्च गतिको इन्टरनेट उपलब्ध हुन सकेको छैन। अस्पतालको फोहोर व्यवस्थापनको लागत बढी हुनु र उक्त व्यवस्थापनमा स्थानीय निकायहरुले अस्पतालहरुलाई उचित प्राथमिकता दिईएको पाइँदैन। नेपालका सरकारी अस्पतालहरुमा ९८ प्रकारका नि:शुल्क औषधिहरु उपलब्ध गराउन बजेटको कमी रहेको छ। यी सबै औषधिहरु नियमित आवश्यक नपर्ने खालका पनि रहेका छन्। मेडिकल औजारहरु नियमित बिग्रदा मर्मत तथा सम्भार गर्न आवश्यक बजेट तथा जनशक्ति छैन। नेपालका प्राय अस्पतालहरुको भौतिक संरचना पूर्ण रुपमा स्वास्थ्य सेवामैत्री नभएको अवस्था  पनि छ। 

अस्पतालहरुमा चाहिने औषधीहरु, मेडिकल औजारहरु तथा अन्य सामग्रीहरु पर्याप्त छैनन्। कतिपय अस्पतालहरुमा मेडिकल औजारहरु थन्किएको अवस्थामा रहेका छन्। नियमित औषधिहरु उपलब्ध गराउन सार्वजनिक खरिद प्रक्रिया नै बाधक र झन्झटिलो रहेको छ। भएका मेडिकल औजारहरुको उपयोग गर्न पर्याप्त र दक्ष जनशक्ति छैन। प्राय दुर्गमका सरकारी अस्पतालहरुले दक्ष चिकित्सक विशेष गरी विशेषज्ञ चिकित्सकहरुको नियमित उपस्थिति गराउन सकिरहेका छैनन्। विशेषज्ञ चिकित्सकमा पनि कहिले कुन विधा त कहिले कुन विधाको आउने  भएकोले कुनै खास स्वास्थ्य सेवाको दीर्घकालिन सुनिश्चितता हुन सकेको छैन। जस्तै कुनै एक अस्पतालमा स्त्रीरोग विशेषज्ञ छात्रवृत्तिको बोन्डमा आउनुभयो तर  दुई वर्ष पछि बोन्ड सकिएर जाँदा फेरि अर्को स्त्री रोग विशेषज्ञ सुनिश्चित गर्ने व्यवस्था मजबुत छैन । प्राय सबै अस्पतालहरुमा अस्पताल ब्यबस्थापन अधिकृतको दरबन्दी छैन । यसले गर्दा चिकित्सकहरुले नै प्रशासनिक कार्यबोझले गर्दा बिरामीहरुलाई सेवा दिन सकेका छैनन्।  

सरकारी अस्पतालहरुमा प्राय चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको बढी ध्यान सरुवा, बढुवा र काज जस्ता प्रशासनिक कुराहरुमा हुने गरेको छ। सरुवामा तालमेल नहुँदा चिकित्सकहरुको उपलब्धता सुनिश्चित छैन र भब्य भवनबाट पनि आधारभूत स्वास्थ्य सेवा पनि सुनिश्चित छैन। नेपालको धेरै दुर्गमका अस्पतालहरुमा मेडिकल अधिकृतमा आधारित भएर स्वास्थ्य सेवा प्रदान गरिएको छ। तर मेडिकल अधिकृत (मे. अ.) को मुख्य उद्देश्य जति सक्दो छिटो एमडी वा एमएस वा उच्च चिकित्सा शिक्षा हासिल गर्ने हुने भएकोले प्राय मे. अ., केही अपवाद बाहेकले स्वास्थ्य सेवालाई प्राथमिक कार्य नमानी उच्च शिक्षाको तयारी गरिरहेका हुन्छन् र यसले स्वास्थ्य सेवालाई प्रत्यक्ष असर गरीरहेको हुन्छ । अर्को ठुलो चुनौती चाही बिशेषज्ञ चिकित्सकहरु न्यून तलबको करार सेवामा आकर्षित नहुनु र विशेषज्ञ चिकित्सकहरुको स्थायी दरबन्दी अति नै न्यून हुनु हो। नेपालको संविधान प्रदत्त आकस्मिक सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकका साथै तालिमप्राप्त स्वास्थ्यकर्मीहरु कम भएकोले गुणस्तरीय आकस्मिक सेवा प्रदान गर्न पनि चुनौती छ। 

नेपालको सबै सरकारी अस्पतालहरुमा चिकित्सक, नर्स, फर्मासिस्ट, एनेस्थेसिया असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजीस्ट, प्रयोगशालाकर्मी, रेडियोग्राफ़र, फिजीयोथिरापिस्ट, मेडिकल रेकर्डर, सरसफाईका  गर्ने जनशक्ति लगायतका अतिआबश्यक जनशक्ति अति न्यून रहेको छ । यसको साथै मनोसामाजिक परामर्शकर्ता, अस्पताल ब्यबस्थापन अधिकृत, कम्प्युटर अधिकृत वा सहायक जस्ता अहिलेको युगमा नभई नहुने जनशक्तिको दरबन्दी नै नरहेको छ । व्यवस्थापनमा सुधार गर्नु पर्ने क्षेत्र धेरै हुँदा नियमित रुपमा चिकित्सक नहुनु र सरकारी अस्पतालमा बिशेषज्ञ चिकित्सक उपलब्ध भएपनि सोहि बिषयको स्वास्थ्य सेवा दिगोरुपमा उपलब्ध हुने सुनिश्चित छैन। 

नेपालमा रहेको धेरै समाजको मान्यता सामान्य प्राथमिक उपचार गर्न पनि ठूला शहर मै जानु पर्ने धारणा रहेको छ। जसले गर्दा स्वास्थ्यमा हुने खर्चमा यातायात लगायत अन्य धेरै खर्च बढेर गएको छ। नेपालको स्वास्थ्य प्रणाली (मोडेल) मा द्विविधा हुँदा आधारभूत स्वास्थ्य सेवाको लागि पनि मानिसहरु ठूला शहरकेन्द्रित हुनु परिरहेको छ । साथै जनस्वास्थ्यको कार्यक्रमहरु प्रभावकरी रुपमा कार्यान्वयन नहुँदा नसर्ने तथा मानसिक रोग बढिरहनु र सरुवा रोगहरुको भार कम गर्न नसक्नु नेपालको लागि ठुलो चुनौती बनिरहेको छ । साथै क्यान्सर रोग पनि बढी नै रहेको अवस्था छ । नेपालले अपेक्षित रुपमा मातृ शिशु स्वास्थ्यमा उल्लेख्य प्रगति गर्न सकेको छैन । अझै पनि शहरी क्षेत्रहरुमा पनि मातृ मृत्युको घटना भैरहेको अवस्था छ । 

स्वास्थ्य बिमा कार्यक्रम आफैमा एउटा राम्रो कार्यक्रम हुँदा पनि स्वास्थ्य सेवाको सोधभर्नाको भुक्तानी गर्न अति नै ढिलाई भैरहेको छ । स्वास्थ्य बिमाको भुक्तानीको श्रोतहरु के के हुने, बिमितको संख्या बढाउन के के गर्ने, स्वास्थ्यका अन्य निशुल्क कार्यक्रमहरु र स्वास्थ्य बिमा कसरि अगाडी बढाउने भन्ने योजना नहुँदा अर्बौ रकम भुक्तानी गर्न बाँकी भै सरकार आलोचित बनिरहेको अवस्था छ । नेपालका ठुला ठुला अस्पतालहरु, मेडिकल कलेजहरु र प्रतिष्ठानहरुको स्वास्थ्य बिमाको सोधभर्ना अर्बौ रकम भुक्तानी हुन बाँकी हुँदा सप्लाइ चेनमा  गम्भीर असर गरिरहेको छ । 

अस्पतालहरुको अन्तरिक व्यवस्थापनमा बाह्य सामाजिक, राजनीतिक तथा अन्य दबाब सिर्जना भइ काममा नै नकारात्मक प्रभाव परिरहेको छ । साथै अस्पतालहरुको स्वास्थ्य सेवाको अनुगमन तथा निरीक्षणको अभावमा जस तसो व्यवस्थापन भइरहेको अवस्था छ ।  करार सेवामा छनौट प्रक्रिया पारदर्शी र योग्यता र क्षमतामा आधारित बनाई छिटो र छरितो नभएकोले झन्झटिलो र खर्चिलो मात्र भएको छ। 

स्थानीय तहको स्वास्थ्यको क्षेत्राधिकार स्पस्ट पार्न नसकिएको र स्थानीय तहहरु स्वास्थ्यमा लगानी गर्न हिच्किचाउनु, स्थानीय तहको दरबन्दी पूर्ण नहुनु र करारमा कर्मचारी व्यवस्थापन प्रभावकारी नहुँदा सेवा प्रवाहमा नै चुनौती थपिएको छ। संघीयता पछिको दिनहरुमा सार्वजनिक स्वास्थ्य संस्थाहरुबाट हुने खरिदमा औषधिहरुको मूल्य फरक फरक पर्न गएको छ र अधिकतम मूल्य कायम नहुँदा खरिद दरमा तालमेल देखिएको छैन। 

नेपालको आफ्नो मौलिक स्वास्थ्य प्रणालीहरु: आयुर्बेद, होमीयोप्याथी, आम्ची लगायतका स्वास्थ्य सेवा विधिहरुको समयानुकुल परिमार्जन गर्न सकिएको छैन। साथै निजि स्वास्थ्य सेवाहरुको अनुगमन, नवीकरण तथा नियमन पारदर्शी नहुँदा सेवाग्रहिहरु नै मारमा परिरहेका छन्। 

आधुनिक चिकित्सा प्रणालीको जग भनेको चिकित्सा शिक्षा हो। तर नेपालको चिकित्सा शिक्षा र नेपालमा प्रदान गरिने स्वास्थ्य सेवाविच तालमेल भएको देखिँदैन। अस्पतालबाट प्रदान गरीने स्वास्थ्य सेवाको गुणस्तर निरन्तर वृद्धि गर्ने प्रक्रिया प्राय अस्पतालहरुमा मृत अवस्थामा रहेको छ। 

समग्रमा नेपालको स्वास्थ्य प्रणाली तथ्यांकमा आधारित नभएर नीति निर्माण गर्ने तहमा स्वविवेक मात्र प्रयोग हुँदा आम जनताले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच भन्दा धेरै टाढा रहेको महसुस गरेका छन् । जहाँ चुनौती,  त्यहाँ उपचार भनेझैं यी सबै चुनौतीहरुको उचित व्यवस्थापन भने सम्भव  छ। यसको लागि राज्यनै आम जनताप्रति जिम्मेवार भएर स्वास्थ्य प्रणालीको नीतिमा आवश्यक फेरबदल गरी सोही अनुसार रणनीति र योजना बनाई कार्यान्वन गर्नुपर्ने  हुन्छ । 

(प्रा. डा. विकास गौचन हाल राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिनमा प्राध्यापकको रुपमा कार्यरत छन् ।)
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट