काठमाडौँ । अनलाइन संसारमा सुरक्षित रहनका लागि बलियो र युनिक पासवर्ड प्रयोग गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरा सायद हामी सबैलाई थाहा छ । अनेकौँ अकाउन्टहरूका लागि छुट्टा छुट्टै पासवर्ड राख्नु पर्ने र बेलाबेलामा परिवर्तन गरी रहनु पर्ने हुँदा ती सबैलाई सम्झनु निकै गाह्रो वा असम्भव प्राय काम हो ।

यही समस्याको समाधानको रूपमा पासवर्ड म्यानेजरहरूको जन्म भएको हो । बजारमा वनपासवर्ड, ड्याशलेन, बिटवार्डेन जस्ता विभिन्न थर्ड-पार्टी (third-party) पासवर्ड म्यानेजरहरू अलि पहिले देखि नै उपलब्ध छन् ।
तर, पछिल्लो समयमा एप्पल, गुगल र माइक्रोसफ्ट जस्ता प्रमुख प्रविधि कम्पनीहरूले पनि आआफ्नै निःशुल्क पासवर्ड म्यानेजर टुलहरू प्रदान गरिरहेका छन् । यी विकल्पहरू तपाईँको लागि कत्तिको उपयुक्त छन् ? आज हामी तपाईँलाई यसै विषयमा बताउँदै छौँ ।
निःशुल्क रूपमा उपलब्ध बिल्ट-इन पासवर्ड म्यानेजरका फाइदा

यी प्लेटफर्म-आधारित पासवर्ड म्यानेजरहरूका केही आकर्षक फाइदाहरू छन् । जो थर्ड-पार्टी सफ्टवेयर वा एप जस्तो छुट्टै रूपमा डाउनलोड गरी रहनु पर्दैन । यसले गर्दा प्रयोग गर्न सजिलो हुन्छ ।
तपाईँका पासवर्डहरू एप्पल आईडी, गुगल अकाउन्ट, माइक्रोसफ्ट जस्ता तपाईँका अकाउन्ट मार्फत स्वचालित रूपमा सिंक हुन्छन् । परिणामस्वरूप नयाँ डिभाइसमा लगइन गर्दा पासवर्डहरू तुरुन्तै उपलब्ध हुन्छन् ।
अर्को महत्वपूर्ण कुरा यी टुलहरू प्रयोग गर्नका लागि तपाईँले शुल्क तिरेर कुनै सब्सक्रिप्सन लिई हरनु पनि पर्दैन । तपाईँका पासवर्डहरू तपाईँको ईमेल, क्लाउड स्टोरेज र डिभाइस सुरक्षामा प्रयोग हुने स्तरकै इन्क्रिप्सन र टु फ्याक्टर अथेन्टिकेसन फिचर मार्फत सुरक्षित हुन्छन् ।
कसका लागि उपयुक्त ?
यदि तपाईँ प्राविधिक रूपमा धेरै जानकार हुनुहुन्न वा तपाईँको अनलाइन जीवन सरल छ भने, प्लेटफर्ममा आधारित पासवर्ड म्यानेजर उत्कृष्ट विकल्प हुन सक्छन् ।
यदि तपाईँ एप्पल इकोसिस्टममा पूर्ण रूपमा जोडिनुभएको छ (जस्तै म्याकबुक, आईफोन, एप्पल वाच) भने, एप्पलको आईक्लाउड किचेन (iCloud Keychain) र पासवर्ड एप (Passwords app) तपाईँका लागि धेरै उपयोगी हुन सक्छ । यसले म्याक र आईओएस डिभाइसहरूमा निर्बाध रूपमा काम गर्छ । साथै समूहमा पासवर्ड शेयरिङको सुविधा पनि यसमा राम्रो छ । तर यसका लागि समूहका सबै सदस्यहरू एप्पल डिभाइस प्रयोगकर्ता नै हुनुपर्छ ।
त्यस्तै यदि तपाईँका अधिकांश काम जिमेल, क्रोम ब्राउजर र एन्ड्रोइड फोनमा केन्द्रित छन् भने, गुगल पासवर्ड म्यानेजर (Google Password Manager) एक राम्रो विकल्प हो । यो हरेक एन्ड्रोइड डिभाइस र क्रोम ब्राउजरमा उपलब्ध हुन्छ । यति मात्र होइन यसले आईफोनमा पनि अटोफिल सेवाको रूपमा काम गर्न सक्छ ।
ध्यान दिनुपर्ने कुराहरू
निःशुल्क रूपमा उपलब्ध यी विकल्पहरूमा केही कमी कमजोरीहरू पनि छन् । विशेषगरी यदि तपाईँ विभिन्न प्लेटफर्म र ब्राउजरहरू बीच नियमित रूपमा स्विच गर्नुहुन्छ भने यस्तो समस्या महसुस गर्न सक्नु हुनेछ ।
यी टुलहरू प्रायः आफ्नै प्लेटफर्ममा मात्र राम्रोसँग काम गर्छन् र अन्यमा सीमित वा कुनै पनि कार्यक्षमता प्रदान गर्दैनन् । उदाहरणका लागि, गुगल पासवर्ड म्यानेजर एप्पलको सिरी ब्राउजरमा काम गर्दैन ।
यस बाहेक यी टुलहरूमा सीमित फिचर मात्रै उपलब्ध छन् । थर्ड-पार्टी पासवर्ड म्यानेजरहरूको तुलनामा गुगल र एप्पलका इनबिल्ट पासवर्ड म्यानेजरहरूमा आधारभूत सुविधाहरू मात्र हुन्छन् । यिनीहरूले बलियो पासवर्डहरू सिर्जना गर्न सक्छन् । तर पासवर्डको लम्बाइ वा क्यारेक्टर तथा सिम्बोलहरू समावेश गर्ने/नगर्ने जस्ता अनुकूलन विकल्पहरू प्रदान गर्दैनन् ।
त्यस्तै यिनीहरूमा पासवर्ड शेयरिङको समेत समस्या हुन्छ । जस्तै गुगल पासवर्ड म्यानेजरमा पासवर्ड शेयर गर्दा त्यसको एउटा कपी मात्र पठाइन्छ; मूल पासवर्ड परिवर्तन गर्दा त्यसको पुरानो कपी रही रहन्छ ।
अनि माइक्रोसफ्टको पासवर्ड म्यानेजर ?
माइक्रोसफ्टको पासवर्ड म्यानेजर टुल भने हाल सङ्क्रमणकालीन अवस्थामा छ । कम्पनीले जुलाई २०२५ सम्म अथेन्टिकेटर एपमा भएका पासवर्डहरू एज ब्राउजरमा सार्न आग्रह गरेको छ । यसैले, अहिले माइक्रोसफ्टको बिल्ट-इन टुलहरू प्रयोग नगरेकै राम्रो हुन्छ ।
पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ १४:३६
सामाग्री श्रोत :
टेक पाना