काठमाडौँ । काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागले ‘मौलिक अनुसन्धान र सञ्चार सिद्धान्त’ विषयमा एक दिने राष्ट्रिय सङ्गोष्ठी सम्पन्न गरेको छ । विभिन्न विशेषज्ञतामार्फत मौलिक अनुसन्धान र सञ्चार सिद्धान्तलाई विमर्शात्मक अवधारणामा ल्याउने उद्देश्यले बुधबार यो कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ ।

कार्यक्रमकी प्रमुख वक्ता इन्डोनेसियास्थित बुदी लुहुर विश्वविद्यालयकी डा. एनजीएके कुर्निएसरीले अनुसन्धानमा मौलिकताको महत्त्वमाथि जोड दिँदै पूर्वीय तथा पश्चिमा दर्शनबिच सहकार्य आवश्यक रहेको धारणा राखिन् ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले अनुसन्धानमा आफ्नै मौलिकता र पहिचान झल्किने गरी कार्य गर्नुपर्ने बताए ।
त्यसैगरी, आमन्त्रित अतिथि विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनलाई एक प्रभावकारी सञ्चार माध्यमको रूपमा चिनाउँदै नेपालमा यसलाई शैक्षिक पाठ्यक्रमको मुख्य क्षेत्रका रूपमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । उनले नेपालमा पब्लिक रिलेसन (जनसञ्चार) को क्षेत्र अझै प्रभावकारी रूपमा स्थापित हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयमा सञ्चार अध्ययन गरिरहेका स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) तहका विद्यार्थी एवं शोधार्थीहरूले अनुसन्धान पत्र प्रस्तुत गरेका थिए ।
सङ्गोष्ठी तीन सत्रमा विभाजित थियो, जसमा ‘सञ्चारमा दार्शनिक दृष्टिकोण’, ‘नेपाल र एसियाली सञ्चार परम्परा’, र ‘भाषा, साहित्य तथा दर्शनसँग सम्बन्धित विषयवस्तु’ मा केन्द्रित अनुसन्धान पत्रहरू प्रस्तुत गरिए ।
कार्यक्रममा केयू स्कूल अफ आर्ट्स अन्तर्गतको भाषा तथा आमसञ्चार विभागद्वारा प्रकाशित ‘बोधि’ त्रैमासिक जर्नलको दशौँ अंक पनि सार्वजनिक गरिएको थियो ।
पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ १३:५८
सामाग्री श्रोत :
टेक पाना