२०८२ जेष्ठ ३० बिहीबार
LATEST NEWS
२०८२ जेष्ठ ३० बिहीबार

मुटुरोग विशेषज्ञ डा लक्ष्मण दुबेको अनुभव: उपत्यका बाहिर कस्तो छ, मुटुरोगको अवस्था र उपचार?

मुटुरोग विशेषज्ञ डा लक्ष्मण दुवे लामो गंगालाल अस्पतालमा काम गरिसकेपछि उपत्यकाबाहिर सेवा दिन पुगेका हुन्। हाल बुटवलको क्रिमसन अस्पतालमा मुटुरोग विशेषज्ञका रुपमा कार्यरत उनले मुटु रोग सेवा उपत्यकाबाहिर फैलाउन योगदान गरेका छन्। बिगत ८ वर्षदेखि त्यहाँ बसेर उनले सेवा दिइरहेका छन्। उपत्यका बाहिरका बिरामी, रोग र उपचारलाई लिएर उनको अनुभूति यसप्रकार छ :

बुटवलमा क्याथल्याब सेवाको सुरुवात
मुटुरोगको उपचारका लागि प्रायः जुनसुकै भुगोलमा पनि समान खालका बिरामी आउने गर्छन्। काठमाडौंमा मुलुकभरबाट बिरामी आउने भएकोले धेरै किसिमका केशहरु आउने गर्थे। बुटवलमा करिब ८ वर्ष अगाडि मात्रै क्याथ ल्याब सेवाको सुरुवात गरिएको हो। 

गंगालाल र भरतपुर अस्पतालमा धेरै किसिमका एन्जियोप्लाष्टी सर्जरी गरिसकेको अनुभवका आधारमा मैले क्याथ ल्याब सेवा बुटवलमा सुरु गरेको थिएँ। 

हृदयाघात भएका बिरामीहरुलाई यही नै सेवा दिन सकेमा काठमाडौंसम्म पुग्दा ज्यान जाने जोखिमलाई त्यसले अन्त्य गर्न सहयोग गरेको छ। 

तत्कालीन समयमा त्यहाँ क्याथ ल्याब सेवा नभएका कारण पनि मानिसहरु उपचारका लागि काठमाडौं जाने परिपाटी बसेको थियो। त्यसैले यहाँको मानिसहरुलाई मुटु उपचारमा विश्वास दिलाउन कठिन भएको थियो । 

काठमाडौंमा काम गरेर फर्किएको डाक्टर भएको थाहा पाउने बिरामीहरु भने काठमाडौं जान छोडिसक्नु भएको थियो। हाल बुटवल आएर करिब ८ वर्षमा मैले एन्जियोग्राफी, एन्जियोप्लास्टी र पेशमेकर गरी २ हजार भन्दा बढी शल्यक्रिया गरिसकेको छु। नतिजा राम्रै पनि आएको छ। जसले गर्दा बिरामीहरुले भरोसा समेत गर्न थालेका छन्।

उपत्यका र उपत्यका बाहिरमा फरक
बाइपास सर्जरी गर्नुपर्ने केसहरुलाई काठमाडौं रेफर गर्दै आएका छौं। त्यसबाहेक रक्तचाप, हृदयाघात भएका बिरामीहरुलाई भने यही उपचार दिँदै आएका छौं। यद्यपि बाइपास सर्जरीका लागि पहल भने गरिरहेका छौं । यही नै उक्त सेवा सुरु गर्न सकिएमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गराउन सकिन्थ्यो। 

हाम्रो अस्पतालमा दुर्गम क्षेत्रका बिरामीहरु उपचारका लागि आउने गर्छन्। यहाँ प्रायः दाङ, प्युठान, अर्घाखाँची, गुल्मी लगायतका जिल्लाबाट बढी मात्रामा बिरामी आउने गर्छन्। 

पहाड र दुर्गम क्षेत्रबाट आएका बिरामीहरु यहीँ उपचार गराउन पाउँदा खुसी र प्रफुल्ल हुन्छन्। तर यहाँका केही स्थानीय मानिसहरु भने काठमाडौं धाउने गरेको पाइन्छ। त्यस्तो हुँदा पनि यहीँ उपचार गराउने बिरामीको संख्या बढी छ । करिब ९० प्रतिशत बिरामीहरु यहीँ नै उपचार गराउँदै आएका छन्। 

कतिपय बिरामीलाई काठमाडौं जान इच्छुक भए जानुस् भन्दा ‘तपाईंजस्तो डाक्टर छोडेर हामी किन काठमाडौं जाने?’ पनि भन्नु हुन्छ। जुन मैले यो ८ वर्षमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धी हो।

बिरामीको यही जवाफबाट हामीले राम्रै गरिरहेको महशुुस हुन्छ। यद्यपि अझै पनि मुटु रोगप्रतिको सचेतना भने  मानिसहरुमा एकदमै कम भएको पाइएको छ। यहाँ कतिपय बिरामीहरु हृदयाघात भएको २–३ दिनपछि मात्रै अस्पताल आइपुग्ने गर्छन् ।  बिरामीहरु सुरुवाती अवस्थामा ग्यास्ट्रिक वा साधारण दुखाइ भन्दै अस्पताल आउँदैनन्। शिक्षितहरु समेत समयमा नै अस्पताल आउँदैनन्। 

एक मुटु रोग विशेषज्ञका रुपमा दिनुपर्ने सबै सेवा दिन  खासै ठूलो चुनौतीको सामना गर्नुपरेको स्थिती छैन। कतिपय बिरामीहरुले अस्पताल भर्ना भएको २४ घन्टामै निको नहुने त्राससहित भन्नुहुन्छ– यहाँ निको नहुने भए काठमाडौं लैजानुपर्‍यो? कतिपय यहीँ निको हुने बिरामी पनि हाम्रो सेवालाई विश्वास नगरेर काठमाडौं लैजाँदा भने दुःख लाग्छ। कतिपय अवस्थामा बाइपास सर्जरी नभएकोले पनि बिरामी रेफर गर्नुपर्ने अवस्था आउँछ। यी केस बाहेकका समस्या भने भोग्नुपरेको छैन। 

यहाँ मुटुरोग विभाग मेरो पहिलोपटक नेतृत्वमा सञ्चालन गरिएको थियो। यहाँ कार्डिलोजिष्ट र मुटु विभागमा मेडिकल अफिसर भने कार्यरत छन्। 

नेपालमा मुटु रोगको अवस्था 
पश्चिमा देशहरुमा मुटु रोगका बिरामीहरुको संख्या घट्दै गएपनि  नेपालजस्तो विकासोन्मुख मुलुकहरुमा मुटुरोग बढ्दोे छ। 

मुटु रोगको प्रमुख कारक जीवनशैली पनि हो । विकसित मुलुकका मानिसहरु बढी सजग भएका कारण पनि मुटुरोगका कारण हुने मृत्यु घट्दै गएको हो। 

नियमित स्वास्थ्य परीक्षण तथा समयमै उपचारका कारण पनि मुटुका रोगका कारण हुने मृत्युदर घट्दै गएको हो। 

नेपालीहरुमा पछिल्लो समय शारीरिक व्यायामको कमी हुँदै गएको छ। जसले नेपालमा मुटुरोगीहरुको संख्या बढाउन भूमिका खेलिरहेको छ। त्यस्तै अत्याधिक मात्रामा प्रशोधित खानेकुराको सेवन,हरियो सागसब्जी तथा फलफूलको कम खानु, बढ्दो मानसिक तनाव लगायतका विभिन्न कारक तत्वहरुका कारण नेपालमा मुटु रोगीहरुको संख्या बढ्दो अवस्थामा रहेको हो। 

मुटु रोग लाग्न सक्ने अन्य कारणहरु जस्तै हाइपरटेन्सन, डायबिटिजका समस्याहरु पनि पछिल्लो समय बढिरहेको छ। 

रोकथाम 
मुटु रोगको रोकथामका लागि जीवनशैली परिवर्तन आवश्यक छ । दैनिक १ देखि आधा घन्टा कम्तीमा हिँड्ने, प्रशोधित खानेकुराको सेवन कम गर्ने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सागसब्जी तथा फलफूलको सेवन गर्ने, नियमित व्यायाम गर्न तथा नियमित स्वास्थ्य परीक्षण गराउन सकेमा मुटुरोग लाग्ने जोखिमलाई कम गर्न सकिन्छ।

ग्रामीण क्षेत्रमा समयमा नै उपचार जाने परिपाटी नहुँदा मुटु रोगका कारण मृत्यु हुने बिरामीको संख्या उच्च रहेको छ । काठमाडौंमा देशैभरिबाट बिरामी आउने भएकोले संख्या बढी भएपनि उपत्यका बाहिर पनि बिरामीको चाप उस्तै रहेको छ। 

अहिले ३० –३५ वर्षमै पनि हृदयाघात भएर आउने बिरामीहरु धेरै छन्। म आफैंले महिनामा ३,४ वटा यस्ता केशहरुको शल्यक्रिया गर्दै आइरहेको छु । यस्तो अवस्थामा ज्यादै नै दुख लाग्छ । काठमाडौं बाहिरको अवस्था यस्तो हुँदा रेफरल सेन्टरका रुपमा काम गरिरहेका गंगालाल जस्तो अस्पतालको अवस्था कस्तो होला? वंशाणुगत रुपमा मुटु रोगको समस्या भएका बिरामीहरुले नियमित रुपमा मुटुको परीक्षण गराउन आवश्यक छ। 

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट