२०८२ जेष्ठ ३० बिहीबार
LATEST NEWS
२०८२ जेष्ठ ३० बिहीबार

तपाईंले ईमेलमा यी ४ सेटिङ अन गरेको ह्याकरलाई मनै पर्दैन !

काठमाडौँ । तपाईंले आफ्नो ईमेल सुरक्षित राख्ने प्रयास नगरे ह्याकरहरू खुसी हुन्छन् । तपाईंले ईमेलमा सुरक्षाका उपाय नअपनाउनु भनेको उनीहरूलाई प्रवेश गर्ने ढोका खुला राखिदिनु सरह हो । ह्याकर यस्ता मौका गुमाउन चाहँदैनन् । तर, केही सामान्य सेटिङ अन गरेर तपाईं आफ्नो ईमेललाई ह्याकरबाट सुरक्षित राख्न सक्नुहुन्छ । यी सेटिङ मिलाउन धेरै समय पनि लाग्दैन ।

टु-फ्याक्टर अथेन्टिकेसन (2FA) को प्रयोग

आफ्नो ईमेल ह्याक हुने जोखिम कम गर्ने सबैभन्दा सजिलो उपाय भनेको टु-फ्याक्टर अथेन्टिकेसन (2FA) अन गर्नु हो । यदि कुनै ह्याकरले तपाईंको पासवर्ड पत्ता लगाइहाल्यो भने पनि उसले लग-इन गर्न अर्को तरिकाले आफ्नो पहिचान प्रमाणित गर्नुपर्छ । यो एक्सेस सामान्यतया ह्याकरसँग हुँदैन । यो मल्टिफ्याक्टर अथेन्टिकेसनको सबैभन्दा राम्रो रूप हो ।

तपाईंले टुएफएलाई विभिन्न तरिकाले अन गर्न सक्नुहुन्छ । तर अथेन्टिकेटर एप (Authenticator App) प्रयोग गर्नु सबैभन्दा उत्तम हुन्छ । उदाहरणका लागि गुगल अथेन्टिकेटर एक राम्रो विकल्प हो । धेरै पासवर्ड म्यानेजरले पनि आफ्नै अथेन्टिकेटर एप उपलब्ध गराउँछन् ।

जब तपाईंले अथेन्टिकेटर एपमार्फत टुएफए अन गर्नुहुन्छ तपाईंले लग-इन गर्दा एउटा कोड हाल्नुपर्ने हुन्छ । यस्तो कोड केही सेकेन्डमा परिवर्तन भइरहन्छ । केही अवस्थामा तपाईंले क्यूआर कोड स्क्यान गरेर पनि लग-इन गर्न सक्नुहुन्छ ।

थर्ड पार्टी एपको एक्सेस हटाउने 

हरेक वेबसाइटमा नयाँ प्रोफाइल बनाएर पासवर्ड राख्नुभन्दा आफ्नो ईमेलबाटै लग-इन गर्नु सजिलो लाग्न सक्छ । तर, यसरी थर्ड-पार्टी एप वा वेबसाइटलाई आफ्नो ईमेलको एक्सेस दिँदा तपाईंको अकाउन्ट जोखिममा पर्न सक्छ ।

तपाईंले प्रयोग गर्ने धेरैजसो एपको सुरक्षा प्रणाली बलियो होला तर सबैको हुँदैन । विशेषगरी नयाँ र परीक्षण नभएका एपमा साइन-अप गर्दा होसियार हुनुपर्छ । यदि कुनै एप पछि गएर बन्द भयो र त्यसले सुरक्षा अपडेट पाउन छोड्यो भने ह्याकरहरूले त्यही कमजोरीको फाइदा उठाउन सक्छन् ।

त्यसैले तपाईंले नियमित रूपमा प्रयोग गर्ने एपलाई मात्र आफ्नो ईमेलको एक्सेस दिनुपर्छ । आफ्नो ईमेल खाताको सेटिङमा गएर नचाहिने एपको एक्सेस हटाउने बानी बसाल्नुहोस् । यो काम हरेक केही हप्तामा कम्तीमा एक पटक गर्नुहोस् ।

ईमेलको एक्सटर्नल लोडिङ फिचर प्रयोग गर्नुहोस्

धेरैजसो अवस्थामा ईमेलमा आएका तस्बिरहरू सुरक्षित हुन्छन् । तर कहिलेकाहीँ यिनले सुरक्षा खतरा निम्त्याउन सक्छन् । साइबर अपराधीहरूले स्प्याम ईमेलमा कोड वा ट्र्याकिङ पिक्सेल राखेर पठाउन सक्छन् । जबसम्म तपाईंलाई पठाउने व्यक्ति वा कम्पनीमाथि सतप्रतिशत विश्वास छैन, ईमेलका बाह्य तस्बिरहरू खोल्दा सावधानी अपनाउनुहोस् ।

तपाईंको ईमेल सेवामा भएको इमेज लोडर प्रयोग गर्नाले तपाईंको डेटा सुरक्षित रहन्छ र ह्याकिङको जोखिम कम हुन्छ । उदाहरणका लागि आउटलुकमा यो सुविधा उपलब्ध छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् । 

  • सबैभन्दा पहिले सेटिङ्समा जानुहोस् । 

  • त्यसपछि प्राइभेसी एन्ड डेटाको अप्सनमा जानुहोस् । 

  • अनि एक्सटर्नल इमेजेजको अप्सन छान्नुहोस् । 

  • र, त्यहाँ ‘अलवेज युज द आउटलुक सर्भिस टु लोड ईमेल’को अप्सन छान्नुहोस् । 

यदि तपाईंको ईमेल सेवामा यस्तो सुविधा छैन भने अर्को सुरक्षित ईमेल सेवा प्रयोग गर्नेबारे सोच्नु उत्तम हुन्छ ।

ईमेल फिल्टरिङलाई कडा बनाउने

दुर्भाग्यवश तपाईंको ईमेल अकाउन्ट धेरै किसिमका क्याम र फिसिङ आक्रमणको सुरूवात बिन्दु बन्न सक्छ । तपाईंलाई वास्तविक ईमेलभन्दा बढी स्प्याम र फिसिङ ईमेलहरू आउन सक्छन् । त्यसैले तपाईंको ईमेल सेवाको स्प्याम फिल्टर राम्रो हुनु जरुरी छ । धेरैजसो ईमेल सेवाले स्प्याम र फिसिङ ईमेल राम्रैसँग फिल्टर गर्छन् । तर तिनीहरूले सबैलाई रोक्न सक्दैनन् ।

त्यसैले ईमेल सेवाको फिल्टरलाई पहिलो चरणको सुरक्षाको रूपमा मात्र लिनुहोस् र बाँकी सुरक्षा आफ्नो हातमा लिनुहोस् । धेरैजसो ईमेल सेवाहरूले तपाईंलाई कसले ईमेल पठाउन पाउने भनेर आफैंले छनोट गर्ने सुविधा दिन्छन्, जसलाई ‘ह्वाइटलिस्ट’ (whitelist) भनिन्छ । यसरी तपाईंले चाहेको व्यक्ति वा संस्थाबाट मात्र ईमेल प्राप्त गर्ने सेटिङ मिलाउन सक्नुहुन्छ । यसले तपाईंलाई फिसिङ र अन्य सुरक्षा खतराबाट जोगाउँछ ।

अट्याचमेन्ट ब्लक गर्ने

बाह्य तस्बिर ब्लक गर्दा ह्याकिङको जोखिम कम हुन्छ । तर तपाईं अझ एक कदम अगाडि बढेर अपरिचित व्यक्तिबाट आउने अट्याचमेन्ट पनि ब्लक गर्न सक्नुहुन्छ । केही ईमेल सेवाले तपाईंको सुरक्षित सूची (safelist) मा नभएका व्यक्तिबाट आउने तस्बिर, डकुमेन्ट र अन्य फाइलहरू रोक्ने सुविधा दिन्छन् ।

तपाईंले सुरक्षित प्रेषक (ईमेल पठाउने व्यक्ति वा कम्पनी) आफ्नो कन्ट्याक्ट सूचीमा भएका व्यक्ति वा विश्वसनीय डोमेनबाट मात्र एट्याचमेन्ट स्वीकार गर्ने नियम बनाउन सक्नुहुन्छ । यी सबै सुविधा एकैपटक अन गर्नुपर्छ भन्ने छैन । तर कम्तीमा एउटा विकल्प प्रयोग गर्नु राम्रो उपाय हो ।

बलियो पासवर्डको प्रयोग

माथि उल्लेखित सबै सुरक्षाका उपायहरू अपनाउँदा पनि तपाईंको ईमेल खातालाई ह्याक हुनबाट बचाउने सबैभन्दा राम्रो तरिका बलियो पासवर्ड नै हो । आजकल बलियो पासवर्ड बनाउन धेरै सजिलो छ । एप्पल पासवर्ड जस्ता पासवर्ड जेनेरेटर एपले तपाईंको लागि एक मिनेटभन्दा कम समयमै अनुमान गर्न नसकिने पासवर्ड बनाइदिन्छन् ।

तपाईंको सबै अकाउन्टको पासवर्ड फरक-फरक र पृथक हुनुपर्छ । यदि तपाईंको एउटा अकाउन्टको पासवर्ड धेरै बलियो छ भने पनि त्यसलाई अन्य अकाउन्टमा कहिल्यै प्रयोग नगर्नुहोस् । यदि तपाईंको डेटा कहिल्यै चोरी भयो भने एउटै पासवर्डले तपाईंका धेरै अकाउन्ट जोखिममा पर्नेछन् ।

तपाईंले पासवर्डको सट्टामा ‘पासकी’ (Passkeys) को प्रयोग पनि गर्न सक्नुहुन्छ । यसले तपाईंलाई ह्याकरबाट मात्र नभई फिसिङ जस्ता खतराहरूबाट पनि बचाउँछ ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ ८:५५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट