काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको मुद्दामा दुई अनलाइन सञ्चारमाध्यमलाई उनीसँग सम्बन्धित समाचार हटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश पीताम्बर शर्माको इजलासले ‘बिजमाण्डुडटकम’ र ‘नेपालखबरडटकम’ लाई प्रकाशित समाचार तत्काल हटाउन र यस विषयमा थप सामग्री प्रकाशन नगर्न आदेश दिएको हो ।

बोर्ड अध्यक्ष श्रेष्ठले आफ्नो इज्जत प्रतिष्ठामा आँच पुऱ्याएको भन्दै निषेधाज्ञा माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेशमा सञ्चारमाध्यममा प्रकाशित समाचारका कारण कारण निवेदक श्रेष्ठलाई अपूरणीय क्षति हुनसक्ने देखिएको उल्लेख छ ।
“…विभिन्न शीर्षक राखी समाचारहरू प्रकाशन गरी निवेदकको इजजत–प्रतिष्ठानमा आँच पुर्याएको, बेइज्जती गर्ने तवरबाट समाचार प्रकाशन गरेको भन्ने निवेदनसाथ संलग्न विभिन्न मितिमा प्रकाशित समाचार समेतबाट देखिँदा निवेदकलाई हुन सक्ने अपूरणीय क्षति (Irreparable Damage) र सुविधा सन्तुलन (Balance of Convenience) को दृष्टिकोणबाट विपक्षीहरूलाई आफ्नो वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट अप्रमाणित, तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नु, नगराउनु, प्रकाशित भएका समाचारहरूअनलाइनबाट तुरुन्त हटाउनु, हटाउन लगाउनु भनी विपक्षीहरूका नाममा जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४(१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ,” आदेशमा भनिएको छ ।

अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई असार ४ गतेका लागि बोलाएको छ । साथै, निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो भनी १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि विपक्षी सञ्चारमाध्यमका नाममा आदेश जारी भएको छ ।
यो आदेशसँगै अब अर्को सुनुवाइ नभएसम्म यी दुई सञ्चारमाध्यमले धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठसँग सम्बन्धित उक्त समाचार सामग्रीहरू हटाउनुपर्नेछ भने सोही विषयमा थप समाचार प्रकाशन वा प्रसारण गर्न पाउने छैनन् ।
अदालतको यो आदेशपछि सञ्चारकर्मीहरू तथा संस्थाहरूले प्रेस स्वतन्त्रता र नियमन प्रणालीमाथि प्रश्न उठाएका छन् । समाचारप्रति चित्त नबुझ्दा उजुरी गर्ने निकाय प्रेस काउन्सिल भएपनि अदालतले समाचार नै हटाउन आदेश दिएकोप्रति उनीहरूले चिन्ता जनाएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ ७:२०
सामाग्री श्रोत :
टेक पाना