काठमाडौँ । काठमाडौँबाट फालिएको फोहरलाई आफ्नो बनाउने ‘बञ्चरे डाँडा’ । केही समय पहिले त्यहाँको डम्पिङ साइटको भौगोलिक अवस्थाका बारेमा अध्ययन गरेर विकास योजना बनाउनुपर्ने थियो । उसो त त्यहाँको दुर्गन्ध र प्रदूषणले आजित स्थानीयले आफ्नो जग्गामा आएर मानिसहरूले जग्गा नापिरहेको सहन सकेनन् । स्थानीयले विवाद सुरु गरेपछि भौतिक रूपमा जग्गाको सर्भे गर्न समस्या भयो ।

त्यसपछि ड्रोन प्रविधि प्रयोग गरेर त्यहाँको सर्भे गरियो । त्यसबेला सर्भे गर्ने काममा संलग्न थियो, ‘जिओभेसन नेपाल’ (Geovation Nepal) । सन् २०२१ देखि ड्रोनबाट विभिन्न क्षेत्रमा सेवा पुर्याउँदै आएको यस कम्पनीलाई कुमार पौडेल, दीपा लम्साल, प्रविन लम्साल, उपेन्द्र ओली, प्रविन राणा, क्षितिजा जसपाउले सञ्चालन गर्दै आएका छन् ।
जियोम्याट्रिक्स इन्जिनियरहरूले सुरु गरेको यो कम्पनीले सुरुमा त ड्रोन प्रयोग गरेर सर्भे र म्यापिङको काम थालेको सह-संस्थापक प्रविन लम्साल बताउँछन् । त्यसपछि बिस्तारै कम्पनीको सेवा अन्य क्षेत्रमा पनि विस्तार गरियो ।
जिओभेसन नेपालले नगरस्तरीय सर्भे, हाउस म्यापिङ, वन्यजन्तु गणना तथा वासस्थान म्यापिङ लगायतका काम गर्दै आएका छन् । केही समयअघि मात्र ड्रोन प्रयोग गरेर कम्पनीले दुर्लभ मानिने जनावर ‘नाउर’को गणना गरेको थियो । यसअघि घडियालको पनि गणना गरिएको थियो । यस्तै गैँडा र हाब्रे (रेड पाण्डा) गणना गर्ने योजना पनि छ ।

सुरक्षा जोखिम कम गर्न ड्रोन प्रविधि
परम्परागत रूपमा नापी गर्ने व्यक्तिहरू थिओडोलाइट, टेप, प्रिज्म, डेटा कलेक्टर, ट्राइपड, कम्पासजस्ता सामान बोकेर जमिनका हरेक कुनामा नापेर सर्वेक्षण गर्छन् । तर, नेपालजस्तो जटिल भूगोल भएको ठाउँमा हिमाल र पहाडका खोँचका हरेक कुनामा पुगेर मापन गर्दा अनेकौँ समस्या र सुरक्षा जोखिम आउन सक्छन् । यसको समाधान ड्रोन नै रहेको लम्साल सुनाउँछन् ।
नयाँ पुस्ता प्रविधिसँग अभ्यस्त भएकाले पहिले जस्तो चार–पाँच दिन हिँडेर सर्भे गर्ने जनशक्ति कम हुँदै गएको लम्सालले बताए । उनले भने, “राति जङ्गलमा बास बसेर, जोखिम मोलेर सर्भे गर्ने जनशक्ति पाउन गाह्रो हुँदैछ । त्यसको उत्तम विकल्प ड्रोन हो ।”
ड्रोन प्रविधिले सुरक्षा जोखिम गर्नुको साथै समय पनि बचत गर्ने उनले बताए । “सामान्य रूपमा नापी गर्न एक महिना लाग्ने काम ड्रोनबाट केही दिनमा नै गर्न सकिन्छ । ड्रोनले एक दिनमा २०० हेक्टरसम्मको जमिन सर्भे गर्न सक्छ ।” ड्रोनबाट खिच्न धेरै समय नलागेपनि नापी गर्नुपर्ने स्थानमा जान र फर्कन भने केही दिनको समय चाहिने उनले बताए ।
ड्रोनबाट डेटा सङ्कलन गरेर ल्याएपछि कार्यालयमा बसेर डेटा विश्लेषणको काममा भने अलि बढी समय लाग्ने भए पनि परम्परागत तरिकाभन्दा निकै छिटो हुने उनी बताउँछन् ।
ड्रोन प्रविधिको प्रमुख ग्राहक नै सरकार
कम्पनीको मुख्य ग्राहक नेपाल सरकार नै हो । सङ्घीय सरकार, प्रदेश सरकार र पालिकाका विभिन्न विकास परियोजनाको सर्भेको काम यो कम्पनीले गर्दै आएको छ । सरकारका सडक, सिँचाइजस्ता पूर्वाधार सम्बन्धी कामका लागि नापी गर्दै आएको कार्यकारी निर्देशक कुमार पौडेलले बताए । यस्तै लगानी बोर्डजस्ता सरकारी निकायका काम कम्पनीले गर्दै आएको छ ।
निजी क्षेत्रअन्तर्गत जलविद्युत् परियोजनाका लागि सर्भे गर्दै आएको कम्पनीले विश्व बैंक, एसियाली विकास बैंक, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) जस्ता अन्तर्राष्ट्रिय संस्थासँग मिलेर काम गर्दै आएको छ । यस्तै कृषि सहकारीहरूसँग मिलेर कृषि उपज उत्पादनका लागि जमिन कस्तो छ भनेर मापन गर्ने योजना रहेको उनले सुनाए । आगलागी तथा अन्य विपद्को समयमा ड्रोन प्रविधिको प्रयोग कसरी गर्ने भनेर नेपाल प्रहरीलाई ड्रोन प्रयोग सम्बन्धी तालिम पनि दिएको छ ।
पौडेलका अनुसार कम्पनीको हरेक परियोजनाका लागि छुट्टै अनुमति लिनुपर्छ । साना ड्रोनका लागि जिल्ला प्रशासन कार्यालयबाट ड्रोनको अनुमति पाउने भए पनि दुई किलोग्रामभन्दा ठुला ड्रोनहरूको अनुमति गृह मन्त्रालयबाट लिने गरिएको छ । यसरी अनुमति लिने क्रममा हप्तादेखि महिनासम्म पनि समय लाग्ने गरेको उनले बताए ।
यद्यपि ड्रोन प्रविधिलाई लिएर सरकारी निकायको बुझाइ भने केही परिवर्तन हुँदै गएको सह-संस्थापक लम्साल बताउँछन् । उनले भने, “पहिले सरकारले ड्रोनलाई थ्रेटजस्तो बुझ्ने गर्थ्यो । अहिले धेरै बुझ्ने भएकाले प्रक्रिया पहिलेभन्दा सजिलो र सुधारिएको छ । ड्रोनलाई विद्युतीय वा फोटोग्राफीमा राख्ने भन्ने खालको अन्योलता थियो । तर, अहिले त्यो हटेको छ ।”
समय बित्दै जाँदा सरकारबाट सकारात्मक प्रतिक्रियासँगै परियोजनाहरू पाउने क्रम पनि बढेको उनले बताए । उनी भन्छन्, “यो विकास आयोजनाका लागि निकै उपयोगी छ । त्यसैले पूर्वाधार विकासको कामका लागि पनि प्रोजेक्ट मिल्न थाल्यो ।” तर, सरकारले अनुमति प्रक्रियालाई अझै सरल बनाउन सक्ने भए पनि त्यसमा खासै चासो नदेखाएको कम्पनीको अनुभव छ ।
ड्रोनले काम सहज बनाए पनि प्रविधि भने महँगो
जिओभेसनसँग सर्भे, म्यापिङ, वन्यजन्तु गणना, कृषि जस्ता विभिन्न कामका लागि फिक्स्ड विङ, मल्टी रोटर, भिटोल, थर्मल, मल्टिस्पेक्ट्रल सेन्सर जडित ड्रोनहरू छन् ।
कम्पनीको सुरुवातमा डीजेआईको फ्यान्टम मोडेलको ड्रोनबाट काम सुरु गरेका थिए । यसले फोटोग्राफी र भिडियो ग्राफीका लागि प्रयोग गरिन्थ्यो । यसमा थर्ड-पार्टी सफ्टवेयरको प्रयोग गरेर सर्वेक्षण गरिन्थ्यो । त्यसपछि विस्तारै अन्य ड्रोनको प्रयोग गर्न थालियो ।
तर, ड्रोन प्रविधि निकै महँगो छ । उनका अनुसार कम्पनीसँग दुई लाख ५० हजारदेखि एक करोड रुपैयाँसम्म तिरेर किनेका ड्रोनहरू छन् । तथ्याङ्क विश्लेषणका लागि हार्डवेयर, रोबोटहरू महँगो शुल्क तिरेर किनिएका छन् भने महँगो शुल्क तिरेर सफ्टवेयरको वार्षिक सदस्यता लिइएका छन् ।
प्रविधि महँगो भए पनि ड्रोनले छोटो समयमा नै काम गर्न सक्ने भएकाले अझ सस्तो हुनुपर्ने खालको धारणा ग्राहकहरूबाट मिल्ने गरेको छ । लम्साल भन्छन्, “छिट्टै सर्भे गरिसक्ने भएकाले यो सस्तो हुनुपर्ने धारणा बनाउँछन् । तर यसलाई चलाउन महँगो प्रविधि र जनशक्तिको प्रयोग भएका हुन्छन् । यसले दिने सुरक्षा र सहजताको मूल्याङ्कन खासै गर्दैनन् ।”
कृषि क्षेत्रमा पनि प्रयोग गर्ने योजना
कृषि क्षेत्रमा पनि ड्रोनको प्रयोग गरेर कृषि कार्यलाई थप सहज बनाउन सकिने लम्साल बताउँछन् । ड्रोनको सहायताले बाली लगाउनुभन्दा पहिले खेतको ढाँचा कस्तो छ, धान खेती गर्ने हो भने पानी लाग्छ कि लाग्दैन भन्ने जानकारी ड्रोनबाट लिन सकिन्छ । उक्त डेटाबेसबाट बाली लगाउन सहज हुने उनले बताए ।
त्यसपछि बालीमा कुनै रोग भएमा ड्रोनले सेन्सरबाट रोग पत्ता लगाउने, बालीहरूमा पानी पुगेको छ कि छैन भन्ने जानकारी लिन्छ । त्यसपछि रोगका लागि आवश्यक औषधीहरू ड्रोनबाटै स्प्रे गर्ने सुविधा दिने योजनाअनुसार स्प्रेयर ड्रोन अर्डर गरिसकेको उनले सुनाए ।
विपद् व्यवस्थापनका लागि भरपर्दो प्रविधि बन्न सक्छ ड्रोन
गत वर्ष असोजमा आएको बाढीले काठमाडौँ उपत्यकासँगै बागमती प्रदेशका अधिकांश क्षेत्रमा क्षति पुर्यायो । ललितपुरको नख्खु खोलामा आएको भीषण बाढीले हेर्दा हेर्दै टहराको छतमा बसेको परिवारलाई बगाएको थियो । यस्तो विपद्को समयमा उद्धारका लागि ड्रोन निकै उपयोगी हुने कार्यकारी निर्देशक पौडेल बताउँछन् ।
उनले भने, “त्यहाँ हामीले ड्रोनको प्रयोग गरेर बाढीको बीचमा फसेकालाई यति समयसम्म होल्ड गरेर बस्नु भनेर सूचना दिन सक्थ्यौँ । हेलिकप्टरलाई नपर्खी डोरी फालेर आफैँ उद्धारमा खट्न सक्थ्यौँ ।” विदेशमा विपद् व्यवस्थापनमा ड्रोनको ठूलो भूमिका रहँदै आएको उनले बताए । तर, नेपालमा विपद् व्यवस्थापनमा ड्रोनको प्रयोग व्यापक रूपमा सुरु भइसकेको छैन । उनले थपे, “विभिन्न निकायसँग समन्वय गरेर विपद्को समयमा उद्धारमा खटिन हामी तयार छौँ ।”
नेपालका हिमतालको अवस्थाबारे जानकारी लिन पनि सरकारले ड्रोनको प्रयोग गर्न सकिन्छ । कार्यकारी निर्देशक पौडेलका अनुसार कुनै प्राकृतिक विपद्का कारण नोक्सानी भएमा बीमा कम्पनीले उक्त ठाउँको सर्वेक्षणका लागि पनि ड्रोनको प्रयोग गर्न सकिन्छ । “कुनै दुर्घटना भएमा बीमा कम्पनीलाई रकम भुक्तानी गर्न प्रमाण चाहिन्छ । यदि ठूला जलविद्युत् आयोजनामा दुर्घटना भयो भने तत्कालै त्यसको ड्रोनबाट अनुगमन गरेर भुक्तानी गर्न सकिन्छ ।”
शब्दचित्रमा जिओभेसन नेपाल
विवरण
|
जानकारी
|
कम्पनीको नाम
|
जिओभेसन नेपाल प्रा.ली.
|
सेवा क्षेत्र
|
ड्रोनमा आधारित सेवा
|
सुरुवाती लगानी
|
२५ लाख रुपैया
|
कम्पनीको मूल्याङ्कन
|
२ करोड रुपैयाँ
|
वार्षिक आम्दानी
|
१.५ करोड
|
संस्थापकहरू
|
कुमार पौडेल, दिपा लम्साल, प्रविन लम्साल, उपेन्द्र ओली, प्रवीन राणा, क्षितिजा जसपाउ
|
कार्यकारी निर्देशक
|
कुमार पौडेल
|
सीटीओ
|
बालकुमार लम्साल
|
स्थापना वर्ष
|
४ जनवरी, २०२१
|
ठेगाना
|
काठमाडौँ महानगरपालिका- ४, बालुवाटार
|
ईमेल
|
|
फोन
|
९७६३४९०७६३
|
संस्थागत विकास
|
ड्रोनमार्फत सर्वेक्षणका काम गरेको कम्पनीले विगत तीन वर्षमा आफ्नो सेवाहरूलाई अन्य क्षेत्रम पनि विस्तार गरेको छ । भुगोलको विश्लेषण, विपद् व्यवस्थापन, सहरी योजना, वन्यजन्तु तथा पारिस्थितिक संरक्षण, जलवायु कार्य र कृषि क्षेत्रमा ड्रोनको प्रयोग गर्दै आएको छ ।
लिडार (LiDAR) सर्वेक्षण, हिमतालहरूको निगरानी, जलविद्युत् र सडक जस्ता पूर्वाधार निर्माणको निरीक्षण, प्रसारण लाइनको योजना, आवास सर्वेक्षण, बहु-क्षेत्रीय विश्लेषण तथा कृषियोग्य जमिनमा मल र कीटनाशक छर्ने काम गर्दै आएको छ । यस्तै परोपकारी संस्थाका साथै सरकारी र निजी क्षेत्रका विभिन्न मानिसहरूलाई ड्रोनसम्बन्धी तालिम उपलब्ध गराउँछ ।
|
सामाजिक सञ्जाल
|
|
सेवा
|
ड्रोनमा आधारित सर्भे, भुगोल सम्बन्धी सेवा, विकास आयोजनाको अनुगमन र निगरानी, विपद् व्यवस्थापन तथा उद्दार, पर्यावरणीय कार्य, संरक्षण क्षेत्रमा वन्यजन्तु गणना र ड्रोनमा आधारित कृषि सेवा ।
|
ग्राहक कम्पनीहरू
|
हरेक वर्ष १५ एजेन्सी
|
विशिष्ट विशेषता
|
ड्रोनमा आधारित पूर्ण सर्वेक्षण र तथ्याङ्क विश्लेषण सेवा
|
अवार्ड/ प्रमाणपत्रहरू
|
आईसीटी स्टार्टअप अवार्ड २०२४ को फाइनलिस्ट
|
उद्देश्य तथा लक्ष्य
|
ड्रोन सेवामार्फत नयाँ सम्भावनाहरू उजागर गर्ने ।
|
अबका योजनाहरू
|
वार्षिक ग्राहक २५ एजेन्सी पुर्याउने लक्ष्य
|
कर्मचारी सङ्ख्या
|
१२
|
पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १८:२
सामाग्री श्रोत :
टेक पाना