रेडियोसर्जरी भन्नाले शल्यक्रियाबिना उच्च-परिशुद्धता किरणको प्रयोगद्वारा मस्तिष्कमा रहेका विकृत वा रोगग्रस्त संरचनालाई लक्ष्य गरी उपचार गर्ने विधिलाई जनाइन्छ। यसको उद्देश्य रोगीको टिश्युमा नोक्सानी नगरी समस्या समाधान गर्नु हो। यो प्रविधिले शल्यक्रियाको विकल्प प्रदान गर्छ, विशेष गरी ती अवस्थामा जहाँ खुल्ला शल्यक्रिया जोखिमयुक्त हुन्छ।
रेडियोसर्जरीको अवधारणा सर्वप्रथम सन् १९५१ मा स्वीडेनका न्यूरोसर्जन डा. लार्स लेक्सेलले प्रस्तुत गरेका थिए। उनले विकिरणको प्रयोगद्वारा मस्तिष्कको गहिरो भागमा रहेका विकृत संरचनाहरूलाई बिना चिरफार उपचार गर्ने लक्ष्य राखेका थिए। सन् १९६८ मा उनले ‘गामा नाइफ’ नामक उपकरणको विकास गरे, जुन पहिलो व्यावसायिक रेडियोसर्जरी प्रणाली हो। पछिल्लो दशकहरूमा साइबरनाइफ, लीनियर एक्सेलेरेटर (लिनियाक) आधारित प्रणालीहरूको प्रयोग पनि प्रचलित भएको छ।रेडियोसर्जरीमा विभिन्न प्रविधि प्रयोग गरिन्छ:
१. गामा नाइफ: मस्तिष्कभित्रको सानोतिनो भागलाई लक्ष्य गरी २०१ वटा कोबाल्ट-६० स्रोतबाट आउने विकिरण बिन्दुमा केन्द्रित गरिन्छ।
२. लिनाक (लिनियर एस्सेलेरेटर): उच्च-ऊर्जा एक्स-रे किरण प्रयोग गरी लक्ष्यित भागमा विकिरण पठाइन्छ।
३. साइबर नाइफ: कम्प्युटर-संचालित रोबोटिक प्रणाली हो जसले लक्ष्यलाई सटीक पहिचान गरी हरेक कोणबाट विकिरण पुर्याउँछ।
यी विधिहरू सबैमा कम्प्युटराइज्ड इमेजिङ (सीटी/एमआरई) द्वारा लक्ष्य निर्धारण गरिन्छ र कम्प्युटर प्रणालीद्वारा विकिरणको मात्रालगायत योजना तयार गरिन्छ।
रेडियोसर्जरीले कोशिका स्तरमा असर गर्छ। उच्च-ऊर्जा विकिरणले डीएनए क्षति गरेर लक्षित कोशिकाहरूको विभाजन प्रक्रिया रोक्छ। यसले ट्यूमर, एभीएम (आर्टरीओभनेस मालफर्मेसन), ट्राइजेमिनल न्युराल्जिया जस्ता अवस्थाहरूमा कोशिका नष्ट वा निष्क्रिय पारिन्छ। असरको प्रक्रिया सामान्यतया बिस्तारै देखिन्छ।
प्रयोगका क्षेत्रहरू
१. ब्रेन ट्युमर्स (मेनिन्जिओमा, भेस्टिबुलर स्चेवाननोमा, प्युट्युटरी एडेनोमा, ब्रेन मेटास्टासेस, रिकरेन्ट ग्लिओमास)
२.भास्कुलर मालफर्मेसन (एभीएमएस)
३. ट्रिगेमाइनल न्युरल्जिया
४. पार्किन्सनिज्म
५. अब्सेसिभ-कम्पलसिभ डिसअर्डर (ओसीडी) एन्ड डिप्रेसन
६.पूर्ण रूपमा ननिकालिएको ट्यूमरमा।
यद्यपि रेडियोसर्जरी अपेक्षाकृत सुरक्षित विधि हो, केही संभावित साइड इफेक्टहरू हुन सक्छन्:
• टिश्यु सुन्निनु (एडेमा)
• टेम्पोररी न्युरोलोजिकल डिफिसिट
• रेडिएशन नेक्रोसिस
• सिरदुख वा मन्द ग्रेडको लक्षण
• लामो समयपछि विकिरणसम्बन्धी टिस्यु परिवर्तन
यी असरहरू प्रायः लक्ष्य स्थान, विकिरणको मात्रा, र रोगीको समग्र स्वास्थ्य स्थितिमा निर्भर गर्छन्।
नेपालमा रेडियोसर्जरीको सेवा सीमित रूपमा उपलब्ध छ।
१. एनएएमएस, बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल (भरतपुर)
• लिनियाक प्रणालीद्वारा केही सीमित केसमा रेडियोसर्जरी जस्तै सेवा दिइन्छ।
२. सिभिल सर्विस हस्पिटल, काठमाडौं ।
• रेडियोथेरापी युनिटमा केही आधुनिक प्रणाली रहेका छन्, तर पूर्ण रेडियोसर्जरीको रूपमा प्रयोग सीमित छ।
३. प्राइभेट सेन्टर्स: केही निजी क्यान्सर अस्पतालहरूले विदेशमा रेफर गरेर सेवा प्रदान गर्छन्।
सीमाहरू (कन्स्ट्रेन्ट्स/च्यालेन्जेज):
• उपयुक्त उपकरणको अभाव: गामा नाइफ, साइबरनाइफ जस्ता अत्याधुनिक प्रणाली नेपालमा अझै स्थापना भइसकेको छैन।
• प्रशिक्षित जनशक्ति कम: न्यूरोरेडियोसर्जरीका लागि आवश्यक विशेष तालिम प्राप्त जनशक्ति अझै पर्याप्त छैन।
• आर्थिक सीमाहरू: यस्तो प्रविधिमा उच्च लागत लाग्ने भएकाले सरकारी लगानी कम छ।
• जनचेतना र रेफरल प्रणाली: धेरै चिकित्सक तथा बिरामीहरूमा रेडियोसर्जरीको जानकारी नहुनु र यथासमय रेफरल नहुनु।
• अवधारणात्मक समस्या: धेरै मानिसहरू अझै पनि “शल्यक्रिया” भन्नाले चिरफार गर्नुपर्छ भन्ने धारणा राख्दछन्।
मस्तिष्कको रेडियोसर्जरी आधुनिक, सटीक र न्यून जोखिमयुक्त विधि हो जुन धेरै प्रकारका मस्तिष्क सम्बन्धी विकृति र रोगहरूको उपचारमा प्रयोग गर्न सकिन्छ। नेपालमा यसको पहुँच सीमित भए पनि भविष्यमा अत्याधुनिक उपकरणको स्थापना, जनशक्ति प्रशिक्षण र जनचेतनासँगै यसले मस्तिष्क रोगको उपचारमा ठूलो परिवर्तन ल्याउन सक्छ।
(डा झा वीर अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन्)
सामाग्री श्रोत :
swasthyakhabar

