काठमाडौँ । माइक्रोसफ्ट, कतार इन्भेस्टमेन्ट अथोरिटीजस्ता ठुला लगानीकर्ताको साथ पाएको लन्डनस्थित एआई स्टार्टअप बिल्डर एआई (Builder.ai) अहिले गम्भीर आर्थिक संकटमा फसेको छ । कुनै समय एक अर्ब ३० करोड डलर (करिब एक खर्ब ७८ अर्ब रुपैयाँ) भन्दा बढीको मूल्यांकन र ४५ करोड डलरभन्दा बढी लगानी जुटाएको यो कम्पनी अहिले कङ्गाल हुने बाटोमा पुगेको हो ।

सन् २०१६ मा सुरु भएको यो कम्पनीले एआईको सहायतामा प्रोग्रामिङबिना जटिल एप/वेबसाइट बनाउने सेवा दिने दाबी गरेको थियो । वास्तवमा एआईको यस सुनौलो युगमा बिल्डर एआईले ठुलो सपना देखेको/देखाएको थियो । कम्पनीको वेबसाइटमा देखाइएको ‘नताशा’ नामक डिजिटल असिस्टेन्ट, एआई प्लेटफर्म भन्ने दाबी, अनि कम समयमै सफ्टवेयर बनाउन सकिने भनाइले धेरैलाई आकर्षित गर्यो ।
तर सन् २०१९ मै द वाल स्ट्रिट जर्नलले कम्पनीको वास्तविकता सार्वजनिक गर्दै लेखेको थियो- ‘Builder.ai is all humans, no intelligence.’ अर्थात् त्यो एआई कम्पनी नभई सस्तो श्रममा भर पर्ने व्यापार थियो ।
बिल्डर एआईले सन् २०१८ मा सफ्टबैंकको सहायक कम्पनी डिपकोर इन्कबाट प्रारम्भिक लगानी पायो । त्यसपछि जङ्गल भेन्चर्स, लेकस्टार, माइक्रोसफ्ट, कतार इन्भेस्टमेन्ट अथोरिटी (क्यूआईए) जस्ता ठुला लगानीकर्ता पनि जोडिँदै गए ।

सन् २०२२ सम्म आइपुग्दा कम्पनीले एक अर्ब ३० करोड डलरभन्दा बढी मूल्यांकन प्राप्त गर्यो । सन् २०२३ मा कतारको क्यूआईएले २५ करोड डलरको लगानी गर्यो भने माइक्रोसफ्ट रणनीतिक साझेदारको रूपमा प्रवेश गर्यो ।
वास्तवमा, कम्पनीमा प्रयोग भएको ‘एआई’ प्रविधि भनिएको कुरा केवल सामान्य ‘डिजिसन ट्री’ प्रविधिमा आधारित थियो । कुनै पनि स्वचालित कोडिङ प्रक्रिया थिएन । सबै काम भारतीय कर्मचारीले म्यानुअली गर्दै आएको खुल्यो ।
कम्पनीकै पूर्वकर्मचारीहरुले रेडिट लगायत प्लेटफर्ममा कम्पनीको ‘भित्रको रहस्य’ पोखेका छन् । यसमा उनीहरूले कामको गुणस्तर कमजोर, सफ्टवेयर प्रयोग गर्न गाह्रो, कोड परिवर्तन गर्न नसकिने अवस्था, डेभलपरहरुलाई निकै कम पारिश्रमिक लगायतका गुनासा शेयर गरेका छन् ।
यो बिचमा कम्पनीले ‘राजस्व घोटाला’ को आरोपदेखि विभिन्न असहज अवस्था भोग्यो । अन्ततः २०२५ मे महिनासम्म आइपुग्दा कम्पनीले आफूलाई आर्थिक रूपमा संकटग्रस्त (दिवालिया) घोषणा गरेको छ । हालै भायोला क्रेडिट नामक लगानीकर्ताले कम्पनीको खाताबाट तीन करोड ७० लाख डलर फिर्ता लियो । अब कम्पनीसँग बाँकी ५० लाख डलर मात्र थियो, जुन सरकारले रोक लगाएका कारण तलब भुक्तानी गर्नसमेत नसकिएको बताइएको छ ।
कम्पनीले विगतका निर्णय र ऐतिहासिक चुनौतीका कारण समस्याबाट उकासिन नसकेको स्वीकार्दै आफूलाई संकटग्रस्त घोषणा गरेको छ । हाल कम्पनीले एक प्रशासक नियुक्त गरेको छ, जसले यसको व्यवसायको व्यवस्थापन तथा कर्मचारी, ग्राहक र साझेदारहरूसँग समन्वय गर्नेछ । योसँगै बाँकी कर्मचारीहरुलाई निकाला गरी कम्पनीको वेबसाइट पनि बन्द गरिएको छ ।
ब्लुमबर्गका अनुसार कम्पनीले २०२४ मा २२ करोड डलर बिक्रीको लक्ष्य राखेको थियो । तर वास्तविक बिक्री पाँच करोड डलर मात्र रह्यो । अनुमान र वास्तविकताबिचको यो ३०० प्रतिशतभन्दा बढीको फरकले कम्पनीको वित्तीय रणनीतिमा गम्भीर प्रश्न खडा गर्यो ।
अर्कोतर्फ बिल्डर एआईले आफ्नो ‘Builder Studio’ प्लेटफर्म र ‘Natasha’ डिजिटल एसिस्टेन्टलाई एआई-सञ्चालित भनेर निरन्त प्रचार गरिराखेको थियो । तर अधिकांश काम भारतस्थित मानव इन्जिनियरमार्फत गरिएको पाइयो । कम्पनीको एआई दाबीलाई कतिपयले ‘मानवहरू र खराब निर्णयहरूमा आधारित’ भन्दै आलोचना गरेका छन् ।
कम्पनीको सञ्चालनमा नकारात्मक असर पर्नुमा अर्को कुराको पनि विश्लेषण गरिएको छ । सन् २०२५ को फेब्रुअरीमा संस्थापक सचिन देव दुग्गलको स्थानमा मनप्रीत राटियालाई सीईओ बनाइयो । त्यसपछि कम्पनीले कर्मचारी संख्या ७७० बाट घटाएर करिब ५०० बनाएको थियो । नेतृत्व परिवर्तन र कर्मचारी कटौतीले कम्पनीलाई फाइदाभन्दा बेफाइदातिर धकेल्यो ।
कम्पनीले बजार अपेक्षा पूरा गर्न असफलता भोग्दै गयो । सफ्टवेयर विकासलाई ‘पिज्जा अर्डर गर्न जत्तिकै सजिलो’ बनाउने दाबी गरिए पनि कम्पनीको ‘नो-कोड’ दृष्टिकोणले उपभोक्ताको आवश्यकता पूरा गर्न सकेन । यसको प्लेटफर्मले प्रभावकारी प्राविधिक समाधान दिन नसक्दा ग्राहकको विश्वास गुम्यो ।
एकपछि अर्को असफलताले यो कम्पनीको भविष्य अनिश्चित बनेको छ । दिवालियापन अर्थात् कम्पनी वा व्यक्तिले कानुनी रूपमा आफू ऋण तिर्न असमर्थ भएको घोषणा गर्ने प्रक्रियामा बिल्डर एआई पुगेको छ । यो प्रक्रियाले ५०० भन्दा बढी कर्मचारी, ग्राहक र साझेदारहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ । कम्पनीले आफ्नो केही व्यावसायिक पक्ष जोगाउने प्रयास गरिरहेको भए पनि यसको दीर्घकालीन भविष्य अहिले अन्योलमा रहेको छ ।
कतिपयले बिल्डर एआईको कथालाई एक उद्यमीको असफलताको रूपमा मात्रै नहेरी ‘एआई वासिङ’ को उदाहरण मानेका छन् । जहाँ कम्पनीले परम्परागत प्रविधिलाई एआईको खोल ओढाएर बजारमा झुटो कथा बेचेको विश्लेषण गरिएको छ ।
-विभिन्न मिडियाको सहयोगमा
पछिल्लो अध्यावधिक: जेठ १७, २०८२ ०:४
सामाग्री श्रोत :
टेक पाना