२०८२ जेष्ठ १६ बिहीबार
२०८२ जेष्ठ १६ बिहीबार

बिरामीको सेवामा समर्पित नर्स गंगा

नर्सिङ पेशालाई आफ्नो जीवनको अभिन्न अंग बनाएकी गंगादेवी बास्कोटा दाहाल विगत तीन दशकदेखि बनेपाको शिर मेमोरियल अस्पतालमा कार्यरत छिन्।  सन् १९९५ देखि उक्त अस्पतालमा कार्यरत उनी विभिन्न विभागमा अनुभव बटुलेर हाल डेढ वर्षदेखि क्यान्सर विभागको इन्चार्जका रूपमा कार्यरत छिन्। यो विभाग अस्पतालमा क्यान्सर उपचार सुरु भएसँगै स्थापना भएको हो। तीन दशक लामो उनको करियरको यात्रा समर्पण, साहस र संवेदनशीलताले भरिएको छ।

क्यान्सर विभागमा फरक अनुभव
अस्पतालका विभिन्न विभागमा काम गर्दा गंगादेवीले बिरामीको हेरचाहमा व्यापक अनुभव बटुलिन्, तर क्यान्सर विभागको अनुभव उनको लागि बिल्कुलै फरक छ। अन्य विभागमा बिरामीहरू चाँडै निको भएर घर फर्किन्छन्, तर क्यान्सरका बिरामीहरू लामो समयसम्म अस्पताल आइरहनुपर्छ।

‘क्यान्सरका बिरामीको दुखाइ र पीडा अन्य रोगको भन्दा फरक र मन छुने हुन्छ,’ उनी भन्छिन्। किमोथेरापी र औषधिका कारण हुने शारीरिक र मानसिक असरले कहिलेकाहीँ उनको मन भारी हुन्छ। ‘कतिपय बिरामीलाई उपचारले पनि निको हुँदैन, त्यस्तो अवस्थाले मनदेखि नै रुवाउँछ,’ उनले भावुक हुँदै सुनाइन्।

तैपनि, गंगादेवीले बिरामीलाई हौसला दिन छोड्दिनन्। प्यालिएटिभ केयरमा रहेका अन्तिम अवस्थाका बिरामीलाई समेत ‘तपाईंलाई निको हुन्छ’ भन्दै ढाडस दिन्छिन्। उनको यो संवेदनशीलता र समर्पणले बिरामी र परिवारलाई ठूलो सहारा प्रदान गर्छ।

गंगादेवीलाई चिन्नेहरु भन्छन् ‘उनको जीवन र पेशागत यात्रा नर्सिङ क्षेत्रमा समर्पण र संवेदनशीलताको उदाहरण हो। पछिल्लो समय उनले क्यान्सर जस्तो जटिल र भावनात्मक रूपमा चुनौतीपूर्ण क्षेत्रमा देखाएको धैर्य, हौसला र मानवीयताले बिरामी र परिवारको मनमा आशाको दीप बालिरहेको छ।’

साहसिक सुरुवात: भारतदेखि नेपालसम्मको शैक्षिक यात्रा
ओखलढुंगामा जन्मिएर बनेपामा हुर्केकी गंगादेवीले विद्यालय तहको पढाइ बनेपामै पूरा गरिन्। उच्च शिक्षाका लागि भारत जाने उनको निर्णय त्यतिबेला साहसिक थियो।

‘छोरी मान्छे भारत पढ्न जाने भन्ने कुराले घरमा सबैले सहमति नजनाए पनि आमाले समर्थन गर्नुभएको थिएन,’ उनले सम्झिन्। तैपनि, आमालाई मनाएर उनी भारत पुगिन् र त्यहाँ प्लस टु र पिसिएल नर्सिङ पूरा गरिन्। नेपाल फर्किएपछि उनले काठमाडौंको ओम नर्सिङ कलेजबाट स्नातक तहको अध्ययन पूरा गरिन्।

उनको वैवाहिक जीवनले पनि उनको पेशागत यात्रालाई बलियो बनायो। शिक्षित परिवारमा विवाह भएकी उनले ससुरा इन्जिनियर र सासुआमाको सहयोग पाइन्, जसले उनलाई नर्सिङ पेशालाई निरन्तरता दिन कुनै अवरोध खेप्नु परेन।

बेला–बेला घोचिरहने त्यो घटना 
उनले संवेदनशील क्षेत्रमा काम गरेर पनि चोट दिने खालका घटनाहरुको सामना विरलै गरिन् । तर एउटा घटनालाई भने उनले जति मनबाट हटाउन खोजे पनि याद दिलाइरहन्छ । एक जना अत्याधिक मद्यपान गरेका बिरामी उपचाररत थिए । उपचार गराइरहेका उनले घर जान खोजे। उनलाई त्यतिबेला उनी लगायत अस्पताल अन्यले घर जान रोके। घर जान रोकेको २ घन्टा पश्चात् ती बिरामीको मृत्यु भयो,त्यो घटनाले उनलाई समय समयमा घोचिरहन्छ। 

क्यान्सर विभागमा काम सुरु गरेपछि भने धेरै बिरामीले आफू उपचार पश्चात् पुरानै अवस्थामा फर्किन सक्छु कि सक्दिन भन्दै उनलाई सोध्ने गर्छन्।  यस्ता प्रश्नहरूले उनलाई भावनात्मक रूपमा प्रभावित गर्छ, तर उनी हरेक बिरामीलाई आशा र हौसलाले साथ दिन्छिन्।

नर्सिङ शिक्षाका विषय

गंगादेवी सरकारको १२ कक्षा उत्तीर्ण गरेपछि जनरल नर्सिङ पढ्न पाउने नीति ल्याउनुलाई सकारात्मक मान्छिन्।

‘विश्वका धेरै देशमा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने नियम छ’, उनले भनिन्, ‘नेपालको नर्सिङ शिक्षालाई अन्र्तराष्ट्रिय स्तरको बनाउन पनि यो नीति राम्रो हो।’ 

नर्सिङ क्षेत्रको सुधारका लागि सरकारले नीति ल्याउनुपर्छ 

पहिले स्वास्थ्य संस्था कम मात्रै थिए थोरै जनशक्तिले पनि पुग्ने स्थिति थियो। कतिपय पोलिक्ल्निीकहरु सीएमए/एएनएमले चलाउने गरेका छन्। जसले गुणस्तरीय स्वास्थ्य सेवा पाउने स्थिति नभएको उनी बताउँछिन्।  उनले थपिन् – ‘एकातिर विशेष ज्ञान र क्षमता भएका नर्सिङ जनशक्ति विदेशिने गरेका छन् भने अर्काेतर्फ अदक्ष जनशक्तिले स्वास्थ्य संस्था चलाइरहेका छन्।’ 

नर्सहरु विदेशिने ट्रेन बढ्दो छ, सरकारले नर्सहरुलाई स्वदेशमा नै राख्न सक्ने नीति बनाउन आवश्यक छ भन्ने उनलाई लाग्छ। 

नर्सहरुले काम अनुसारको उचित पारिश्रमिक नपाउँदा विदेशिन बाध्य रहेकोमा सरकारले त्यसलाई सही निती ल्याएर सम्बोधन गर्नुपर्नेमा उनको जोड छ। 

सरकारले सिटीभिटी मार्फत् चलेका कतिपय नर्सिङ कलेजहरु बन्द गरेकोले अबको केही समयमा नै नेपालमा नर्सिङ जनशक्तिको अभाव हुने हो कि भन्ने उनलाई चिन्ता छ।

(लेखक डा पुण्यराम खर्बुजा सर्जिकल अन्कोलोजिस्ट हुन्। उनी भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन्।)

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट