थाइराइड ग्रन्थीमा सानो असन्तुलन भए पनि शरीरमा विभिन्न प्रकारका समस्या देखिन्छन् – सुस्ती, थकान, वजन बढ्नु वा घटना, छाला र कपालमा समस्या, मनोस्थिति अस्थिर हुनु जस्ता लक्षणहरू थाइराइडको संकेत हुन सक्छ। यस्तो अवस्थामा मात्र औषधि सेवन पर्याप्त हुँदैन, त्यसका साथै सही जीवनशैली र बिहानको दिनचर्याले थाइराइडको समस्याबाट राहत दिलाउन धेरै सहयोग पुर्याउँछ। विशेषगरी थाइराइडको औषधिको प्रभावकारीता सही बिहानको रुटीनबाट धेरै हदसम्म निर्भर गर्छ।
१. थाइराइडको औषधि सेवन गर्ने सही तरिका
थाइराइडको औषधि (जस्तै थाइरोक्सिन) बिहान खाली पेटमा लिनु अनिवार्य हुन्छ। बिहान उठेपछि सबैभन्दा पहिले यो औषधि खानुपर्छ र त्यसपछि झण्डै आधा या एक घण्टा केही नखानु उत्तम हुन्छ। चिया, कफी, दूध वा कैफिनयुक्त पेयपदार्थ तुरुन्तै सेवन गर्दा औषधिको प्रभाव कम हुन सक्छ।
२. स्क्रिन टाइम कम गर्नुहोस्
आजको डिजिटल युगमा धेरैजसो मानिसहरू बिहानै उठ्नेबित्तिकै मोबाइल हेर्न थाल्छन् – म्यासेज, इमेल वा सामाजिक सञ्जाल चेक गर्छन्। तर, बिहानै यस्तो कामले मानसिक तनाव बढाउँछ र दिनको सुरुआत नै अशान्त बनाउन सक्छ। बिहान उठेपछि २०–४० मिनेट स्क्रिनबाट टाढा बस्नु फाइदाजनक हुन्छ। यसले शरीर र मस्तिष्कलाई रिल्याक्स गर्न मद्दत गर्छ, जुन थाइराइड सन्तुलनमा उपयोगी हुन्छ।
३. थाइराइड औषधि र अन्य सप्लिमेन्ट्स बीच दूरी राख्नुहोस्
कहिलेकाहीँ मानिसहरू थाइराइडको औषधिसँगै भिटामिन, आयरन, क्याल्सियम जस्ता सप्लिमेन्ट्स पनि एकैपटक सेवन गर्छन्, जुन गलत अभ्यास हो। थाइराइड औषधि खाएपछि कम्तिमा ३ – ४ घण्टासम्म अरु कुनै सप्लिमेन्ट नखानु उचित हुन्छ। यसले औषधिलाई शरीरले राम्ररी प्रोसेस गर्न समय दिन्छ।
४. डिनर र ब्रेकफास्टबीच कम्तिमा ११–१२ घण्टाको अन्तर
थाइराइड ग्रन्थिको काम मेटाबोलिज्मसँग सीधै सम्बन्धित हुन्छ। यदि तपाईँको मेटाबोलिज्म स्लो छ भने तौल बढ्ने, सुस्ती लाग्ने जस्ता लक्षण देखिन सक्छन्। यस्तो अवस्थामा रातको खाना र बिहानको नास्ताबीच ११–१२ घण्टाको फास्टिङ अन्तराल आवश्यक हुन्छ। यसले मेटाबोलिज्म सक्रिय रहन सहयोग गर्छ।
५. उचित आहार – हेल्दी फ्याट्स र प्रोटिनयुक्त खाना
थाइराइड नियन्त्रणका लागि केवल क्यालोरी कट गर्नु हुँदैन, प्रोटिनयुक्त खाना र हेल्दी फ्याट्स (जस्तै एवोकाडो, ओलिभ आयल, नट्स आदि) सेवन गर्नु अत्यन्त आवश्यक हुन्छ। यी पोषक तत्त्वहरूले हार्मोन सन्तुलन कायम गर्न मद्दत गर्छन्।
६. भिटामिन डीको महत्त्व
थाइराइड ग्ल्यान्डको सक्रियताका लागि भिटामिन डी आवश्यक हुन्छ। भिटामिन डीको कमी हुँदा थाइराइडको प्रभावकारीता घट्न सक्छ। भिटामिन डीको मुख्य स्रोत भनेको सूर्यको किरण हो। प्रत्येक बिहान १५–३० मिनेट घाममा बस्नु, विशेषगरी बिहानको घाम, शरीरको भिटामिन डी निर्माणमा सहयोग पुर्याउँछ।
थाइराइड रोग नियन्त्रण गर्न केवल औषधि खाँदा पुग्दैन, त्यसका लागि नियमित र संयमित जीवनशैली र उचित बिहानको दिनचर्या आवश्यक हुन्छ। सही समयमा औषधि सेवन, स्क्रिन टाइम कम गर्नु, सप्लिमेन्ट्ससँग दूरी राख्नु, फास्टिङ अन्तर कायम गर्नु, सन्तुलित आहार र भिटामिन डी प्राप्त गर्नु – यी सबै उपायहरूलाई आफ्नो दैनिकीमा समावेश गर्दा थाइराइड समस्याबाट धेरै हदसम्म राहत मिल्न सक्छ।
यदि तपाईं नियमित औषधि सेवन गर्दै हुनुहुन्छ तर अझै पनि थकान, कमजोरी, सुस्ती जस्ता लक्षण अनुभव गर्दै हुनुहुन्छ भने अब समय आएको छ आफ्नो बिहानको दिनचर्या र जीवनशैली पुनः मूल्याङ्कन गर्ने। थाइराइडलाई नियन्त्रणमा राख्नका लागि स-साना र सरल अभ्यासहरू निकै प्रभावशाली हुन सक्छन्। थाइराइडसम्बन्धी कुनै समस्या भएमा चिकित्सकको परामर्श अनिवार्य लिनुहोस्।
सामाग्री श्रोत :
swasthyakhabar

