काठमाडौँ । निद्रा नपर्दा होस् या मन बेचैन हुँदा । जब जब मानसिक स्वास्थ्यमा केही समस्या भएको महसुस हुन्छ, त्यसलाई शान्त बनाउन धेरैले ध्यानसँग सम्बन्धित सङ्गीत सुन्ने गर्छन् । तनाव झनै बढ्दै जाँदा विशेषज्ञहरूको नै सहारा लिने क्रम बढेको छ ।

यही ध्यानसँग बढ्दो आकर्षणलाई महसुस गर्दै सम्मोहनकर्ता गौरव सिटौलाले ध्यानमा सघाउनका लागि गत वर्षबाट काठमाडौँको हाडीगाउँमा ‘ग्रोथ हब नेपाल’ कम्पनी खोले । जसमार्फत डिप्रेसन तथा एन्जाइटीजस्ता मानसिक समस्या भोगिरहेका व्यक्तिलाई ध्यान गराउन थाले ।
त्यस बेलामा ध्यानका विभिन्न कोर्स गराइरहँदा अङ्ग्रेजी भाषामा ती कोर्सहरू अनलाइनमा भेट्टाएको बिरामीहरूले बताउँथे । तर त्यो धेरै प्रभावकारी नभएकाले नेपाली भाषामा नै ध्यानका विभिन्न कोर्स ल्याउन उनीहरूले माग गरेको सिटौला बताउँछन् ।
उनी भन्छन्, “मैले पनि हेड स्पेस नामको मेडिटेट एप प्रयोग गरेको थिएँ । तर नेपाली भाषामा भने ध्यानसँग सम्बन्धित एपहरू बनेका थिएनन् । त्यसैले हामीले एप बनाउने निर्णय गर्यौँ ।” त्यसैले कम्पनीको सुरुवाती दिनमै एप बनाउने निर्णयमा पुगेको र यही महिना (मे, २०२५) मा ‘मेडिटेट नेपाल’ एप सार्वजनिक गरेको उनी सुनाउँछन् ।

यो एप नेपालकै पहिलो मेडिटेसनसँग सम्बन्धित एप रहेको उनको दाबी छ । उक्त एप गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध छ । यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सकिन्छ ।
आफ्ना बिरामीहरूले अङ्ग्रेजी भाषाबाट मेडिटेसनका कक्षा लिएपनि नेपाली भाषामा ध्यान गर्दा थप प्रभावकारी महसुस गरेको बताउने गरेको उनले सुनाए । उनी भन्छन्, “नेपालीमा ध्यान सुन्दा भावुक भएर आँखाबाट समेत आशु खसेको बताउनुहुन्छ ।” यस एपमा ७०० जनाभन्दा धेरै सक्रिय प्रयोगकर्ता जोडएको उनले सुनाए ।
मेडिटेट नेपालको एपमा अध्यात्म, मानसिक स्वास्थ्य, सिर्जनशीलता, भावना, सफलता, निद्रा, सम्बन्ध, कृतज्ञता जस्ता विषयमा ध्यानका लागि सामग्री उपलब्ध छन् । यस्तै राम्रो निद्राका लागि सुमधुर सङ्गीत समेत उपलब्ध छन् । हाल मेडिटेट नेपालमा ५० भन्दा बढी अडियो सामग्री उपलब्ध छन्।
प्रयोगकर्ताले नि:शुल्क तथा सदस्यता लिएर मेडिटेट नेपाल एप प्रयोग गर्न पाउँछन् । एपमा ६ ओटा ध्यानका भिडिओहरू नि:शुल्क गरिएको छ । यस्तै अन्य भिडिओहरू समेत ६ पटकसम्म नि:शुल्क सुन्न सकिन्छ ।
त्यसभन्दा बढी सेवा लिन भने सदस्यता नै लिनुपर्ने उनले बताए । प्रिमियम ग्राहकका लागि अफलाइन डाउनलोडको फिचरसमेत उपलब्ध गराइएको छ । यस्तै ग्राहक बन्न चाहनेहरूका लागि तीन महिना, ६ महिना तथा एक वर्षको सब्सक्रिप्सन गरी तीन ओटा प्याकेज तोकिएको छ ।
तीन महिनाको सदस्यता शुल्क एक हजार ९९९ रुपैयाँ, ६ महिनाको लागि तीन हजार ३६९ रुपैयाँ र एक वर्षको सदस्यताका लागि पाँच हजार ३९९ रुपैयाँ शुल्क तोकिएको छ । लन्च अफरको रूपमा तीन महिनाको सदस्यता शुल्क एक हजार १११ तोकिएको उनले जानकारी दिए ।
यस्तै, हरेक महिना नयाँ नयाँ भिडिओ सामग्री तयार पारेर आफ्ना ग्राहकलाई उपलब्ध गराउने उनले बताए । सिटौला भन्छन्, “एप सार्वजनिक गर्नुभन्दा पहिला एक वर्ष हामीले प्रोडक्सनमा नै समय बिताएका थियौँ । इन-हाउस नै सामग्री तयार गरेका हौँ । प्रिमियम सदस्यहरूलाई नयाँ नयाँ सामग्रीहरू उपलब्ध गराउँछौँ ।” प्रयोगकर्ताको सुझाव र रुचि अनुसार नयाँ नयाँ सामग्रीसमेत थप्दै जान सर्वेक्षण समेत गर्ने उनले सुनाए ।
सदस्यता लिने प्रयोगकर्ताको लागि एपको अडियोमात्र नभएर प्रत्यक्ष रूपमा पनि ध्यानका कक्षाहरू लिने तयारी उनको छ । उनी भन्छन्, “अहिले एपमा त लाइभ अनलाइन कक्षा लिने सुविधा छैन । जुम वा मिटिङबाट सदस्यता लिने ग्राहकलाई मेडिटेसनका लाइभ अनलाइन कक्षा लिने योजना बनाएका छौँ ।”
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १४:५३
सामाग्री श्रोत :
टेक पाना