२०८२ जेष्ठ १५ बुधबार
LATEST NEWS
२०८२ जेष्ठ १५ बुधबार

सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर

अनावश्यकरुपमा सामाजिक संजालको दुरुपयोग गर्नुपनि समस्या हो भन्ने कुरा बिभिन्न अध्ययनबाट पुष्टि भैसकेको छ l यसको सही सदुपयोगका कारण कतिपय ज्ञान, सिद्धान्त र अभ्यास सिकेर आफूलाई सफल बनाउन सकेका उदाहरणहरु पनि प्रशस्त देखिएका छन् l यहाँ सामाजिक संजालको दुरुपयोग भन्नाले त्यस्ता ब्यक्ति वा प्रयोगको माध्यम (अकाउन्टस्) लाई बुझिन्छ, जसका कारण समाजमा नकारात्मक भावना वा तरङ्ग फैलिन गई त्यसको असर अन्य व्यक्तिमा स्थानान्तरण हुन सक्छ l यसै सन्दर्भमा सामाजिक सञ्जालको नकारात्मक प्रयोगकर्ताको मोटामोटी वर्गीकरण देहाय अनुसार गर्न सकिन्छl

१. समाजमा नकारात्मक सन्देश वा बिज्ञापन फैलाउने प्रयोगकर्ता (स्पामर्स), जसमा कुनै महत्वपूर्ण सन्देश प्रवाह भएको हुँदैन र खाली क्षणिक आनन्द वा प्रयोगकर्ताको प्रतिक्रिया जान्नका लागि मात्र हुने गर्छ l यस्ता प्रयोगकर्ताहरु प्राय: आफूलाई अरुसँग तुलना गर्न रुचाउँछन् र यस प्रकारको भावनाले उनीहरुमा इर्ष्या र नकारात्मक भावनाको विकास हुन जान्छl

२. कुनै लेख, टिप्पणी वा फोटो प्रति सकारात्मक भावनाले अर्थ नलगाई तुरुन्तै नकारात्मक भावना पैदा गरी असान्दर्भिक र नकारात्मकरुपमा प्रतिक्रिया प्रवाह गर्ने प्रवृतिका कारण सोहि स्वभाव भएका अन्य ब्यक्तिहरु उचालिने हुनाले समाजमा उद्दण्डता र बिचारको विषाक्तता फैलिन सक्छl

३. सामाजिक संजालमा नकारात्मक भावना फैलाउने ब्यक्तिहरुले नक्कली नाम वा परिचय सृजना गरी अरुको नाममा अनावश्यक सन्देश वा  भ्रम फैलाउने गर्दछन् l यसबाट अरुको बदनाम गर्ने, तनाव पैदा गर्ने र आफुले कसैबाट लाभ प्राप्त गर्ने ( कसैको माध्यममा काम गरेको भएमा ) प्रबृत्ति हावी भएको पाइन्छl

४. समुदाय वा ब्यक्ति विशेषलाई कुनै फाइदालाई नसोची आफूमात्र चर्चित हुनका लागि अनावश्यक सन्देश, कविता,  फोटो, भिडियो, प्रतिक्रिया  वा टिप्पणी गर्ने प्रयोगकर्ता यस वर्गमा पर्छन् l समाजमा खासै योगदान नहुने र आफुलाई सधै सामाजिक संजालमा कुनै न कुनै रुपमा संलग्न गराई प्रतिष्ठा स्थापित गर्न खोज्नेहरुबाट  यस प्रकारको काम भई रहेको पाइन्छl

५. आफ्नो छवी कायम गर्न वा अभियान्ताको दर्जा कायम राख्न सामाजिक संजालको प्रयोग गर्ने जसलेगर्दा मौकामा चौका पाउने आशाका अभिलासिहरुले यस प्रकारले संजालको प्रयोग गरेको पाईन्छ र यस्ता ब्यक्तिहरु मद्धे नगन्य मात्रामा केहिले फाइदा लिएको उदाहरण पनि देख्न सकिन्छ l

६. कुनै परिस्थितिमा तयार भएको विषयवस्तुलाई सो परिस्थिति गुज्रिसकेपछि वा त्यसको औचित्य समाप्तिपछि सोहि सामाग्रीलाई बारम्वार सामाजिक संजालमा सियर गरिदिने, जसले गर्दा मूल सन्देशकर्तामा नकारात्मक आंचमा असर पर्न सक्छl

हाल सामाजिक संजाल प्रयोग गर्ने नाममा बिभिन्न बिकृतिहरु छताछुल्ल भएको अनुभव जोकोहीले गर्न सकिन्छ l सामाजिक संजालको अनिधिकृत प्रयोगबाट प्रयोगकर्ताको व्यक्तिगत जीवनका बिभिन्न आयामहरुमा समस्या देख्न सकिन्छ l यसबाट समाजमा रहेको अनुसाशन, मान्यता र सामाजिक परिपाटीमा नकारात्मक असर परेको अनुभव गर्न सकिन्छ l बिद्युतीय माध्यमको अनावश्यक प्रयोगबाट देखिने केहि नकारात्मक प्रभाव देहाय अनुसार रहेका छन्l

(१)  अनावश्यकरुपमा सामाजिक संजालको प्रयोगकर्ताको पारिवारिक वा  सामाजिक बिच्छेदले गर्दा  एकान्तपना हुनु हो l सोका कारण त्यस्ता प्रयोगकर्ताले सञ्जाल मार्फत ब्यक्त बिचार आफ्नो रुची वा विज्ञतासंग नभई भावनात्मक रुपमा अनावश्यक  चासो देखाई आफ्ना तिक्तता जाहेर गरिरहेका हुन्छन् l कुनै पनि व्यक्तिले संजालमा राखेका कतिपय बिचारहरु वास्ता नगरेपनि हुन्छन् l किनकी सबै विषयमा सबै ब्यक्ति जानकार हुन् सक्दैन तथापि यस्ता सामाजिक संजाल प्रयोगकर्ताले आफ्ना प्रतिक्रिया जाहेर गरिरहेका हुन्छन र त्यस्ता ब्यक्तिहरु व्यक्तिगत भेटघाट वा छलफलबाट भन्दा सामाजिक संजालबाट प्रतिक्रिया ब्यक्त गर्न रुचाउछन जसले गर्दा उनीहरुमा सामाजिक बिच्छेद वा एकलौटेपनाको विकास हुन पुग्छl

(२) सामाजिक सञ्जालबाट प्राप्त विवरणहरु  सबै सत्य र तथ्य नहुने हुन्छन l अनावश्यकरुपमा सामाजिक संजाल प्रयोगकर्तामा कुन सत्य, तथ्य वा सामाजिक चासोको बिषय हो, त्यसको प्रवाह नगरी प्रकाशित सामाग्री प्रति आफु प्रतिक्रियाशील (रियाक्टिभ) भई  नकारात्मक भावना सम्प्रेषण गरेका कारण आफ्नो आत्म-सम्मान गुमाइरहेका हुन्छन् l त्यसता व्यक्तिहरुमा असन्तुष्टि र नकारात्मक संवेगात्मक प्रणालीको बिकास हुन जान्छ र सोहीअनुसारको प्रतिक्रिया सामाजिक सञ्जालमा प्रवाह भइरहेको पाइन्छl

(३) अनावश्यकरुपमा घन्टौंसम्म सामाजिक संजालको प्रयोगकर्तामा अस्वभाविक व्यवहार वा चरित्रको विकास हुन सक्छ l यस्ता प्रयोगकर्तामा आफ्नो महत्वपूर्ण समयको ख्याल हुँदैन र राति अवेरसम्म वा बिहान बिस्तरामै बिभिन्न बिधुतिय माध्यम मार्फत  संजालको निकटमा रहने आदत बस्छ l यसले गर्दा उनीहरुमा गहिरो निन्द्रामा जाने क्षमता गुम्दै जान्छ l पर्दामा लगातार घोत्लिदा निलो विकिरणको असरले शरीरमा मेलाटोनिन हर्मोनको उत्पादनमा समस्या हुन्छ, जसलेगर्दा निन्द्रामा समस्या उत्पन्न भई मानसिक समस्याको बिकास हुन सक्छl 

सन् २०२३ मा गरेको एक सर्वेक्षण अनुसार ११ देखि १९ बर्ष उमेर समुहका करिव ४१ प्रतिसत व्यक्तिलाई कुनै न कुनै प्रकारको मानसिक समस्या उत्त्पन्न भएको तथ्य प्रकाशन भएको छl

(४)  सामाजिक संजालको अत्यधिक प्रयोगकर्तामा संवेगात्मक चोट ( रिसाउने, नकारात्मक सोचाइ, अनावश्यक डर, आत्मसम्मानमा कमी र सामान्य सोचाइमा भिन्नता )को विकास हुँदै जान्छ, जसलाई साइबरबुलिङ भनिन्छ l एक अध्ययनका अनुसार साइबरबुलिंगको चपेटामा परेका कुल १३ देखि १९ वर्षका व्यक्तिहरु मध्ये करिव १० प्रतिसत साइबरबुलिंगको लक्षण देखा परेको पाईएको छ र जसलाई सो उमेर समुहमा देखिने मानसिक रोगको प्रमुख कारण मानिएको छl

(५) लागातर लामो समयसम्म सामाजिक संजालको लतको बाढीले गर्दा व्यक्तिको एकाग्रता र व्यक्तिगत विकासका गतिविधिहरुमा अवरोध उत्पन्न हुन्छ l कुनै काम, जिम्वेवारी वा अध्ययन प्रतिव्यक्तिको चासो हराउँदै जान्छ र आफूलाई सञ्जालको एक अभिन्न अंगको रुपमा अङ्गिकार गरी आफ्ना व्यवहारहरु प्रकट गर्दै जान थाल्छ र क्रमशः मानसिक र शारीरिक रुपमा ब्यक्ति कमजोर बन्दै जान्छl

(६)  सामाजिक सीप वा सिकाईमा नकारात्मक प्रभाव बढ्दै जानु अर्को एक सामाजिक सञ्जालको अत्यधिक प्रयोगकर्तामा देखिने प्रभाव हो l बिशेष गरेर यस्तो प्रभाव देखा पर्दा आमने सामने छलफल र अन्तरक्रियामा कम सहभागी हुने, आत्मनिर्भरतामा कमी हुँदै जाने र  नकारात्मकरुपमा टिप्पणी गर्न अग्रसरता देखाउने प्रवृत्तिको बिकास हुँदै जान्छ l आफ्ना टिप्पणी वा संदेश प्रति कसको समर्थन वा विरोध छ, चासो राखी बिरोधी प्रति पूर्वाग्रही भावना राख्ने प्रवृत्तिको विकास हुँदै जान्छl

(७)  सामाजिक संजालको अनाधिकृत प्रयोगकर्ताले संजालमा उपलब्ध गलत सन्देशहरुलाई सेयर, लाईक र टिप्पणी गरिदिनाले समाजमा भ्रम उत्पन्न हुने र गलत समाचार फैलिन सक्छ l यस्ता ब्यक्तिहरुमा कुन बिषय प्रति आफ्नो प्रतिक्रिया ब्यक्त गर्न उपयुक्त हुन्छ भन्ने ख्याल नगरी एककोहोरोरुपमा आफ्ना कुरा पस्किरहेका हुन्छन् l यस्तो अवस्था भनेको सामाजिक संजालको व्यक्तिमाथि परेको दवाव हो र यसका कारण व्यक्तिका कतिपय महत्वपूर्ण कामहरु छुट्न सक्छन् र उसमाथि समय व्यवस्थापनको दवाव पनि सृजना हुन जान्छl

अन्त्यमा, सामाजिक संजालको सन्तुलित प्रयोगबाट आफ्ना बिचारलाई संयमित गर्न सकिन्छ l दैनिक कुनै समयमा  मात्र यसको प्रयोग गर्ने र हप्तामा कुनै १ दिन यसको प्रयोग नै नगर्ने अभ्यास गर्नु उपयुक्त मानिन्छ र यसलाई सामाजिक संजालको उपवास पनि भन्ने गरिन्छ l यसबाट व्यक्तिले अनावश्यकरुपमा सामाजिक संजालको कुलत छोडी ऊर्जाशील काममा लाग्न प्रेरित गर्छl

( ज्ञवाली जनस्वास्थ्य बिज्ञ हुन्)
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट