काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्ना स्थानीय बासिन्दालाई कोडिङसँग सम्बन्धित आठ महिने तालिम दिने भएको छ । महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै तालिममा सहभागी हुन चाहने व्यक्तिका लागि अनलाइन आवेदन समेत खुला गरेको छ ।

महानगरका अनुसार “लो लेवल कोडीङ-वेबमा आधारित सफ्टवेयर” तालिम प्रदान गर्न लागिएको हो । नगरवासीलाई स्वदेशमा नै रोजगार तथा स्वरोजगार बनाउनका लागि भक्तपुरको चाँगुनारायण फाउन्डेसनसँग सहकार्य गरेर उक्त तालिम दिन लागिएको हो । तालिममा सहभागी हुन चाहने व्यक्तिले २५ जेठभित्र आवेदन दिन सक्नेछन् ।
आवेदन दिनका लागि ललितपुरको स्थानीय बासिन्दा हुनुपर्ने बताइएको छ । यस्तै कम्तीमा १८ वर्ष पूरा भएको र कक्षा १२ उत्तीर्ण भएको व्यक्तिले आवेदन दिन सक्छन् । आवेदन दिँदा नागरिकताको प्रतिलिपि, कम्तीमा १२ कक्षा वा सो सरह उत्तीर्ण गरेको ट्रान्सकिप्टको प्रतिलिपि, नागरिकतामा ललितपुरको स्थायी बासिन्दा भएको नखुलेमा बसाईसराई वा विवाह दर्ता प्रमाण-पत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो पेस गर्नुपर्नेछ ।
आवेदन दिने व्यक्तिहरूसँग अन्तर्वार्ता लिएर तालिमको लागि छनोट गरिनेछ । १५ जनालाई उक्त तालिममा सहभागी गराउने महानगरले जनाएको छ । यहाँ क्लिक गरेर तालिमका लागि आवेदन दिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १६:५५
सामाग्री श्रोत :
टेक पाना