२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

शुभकार्यमा प्रदर्शन गरिने छलियानाचको माग उच्च

दोधारा चाँदनी (कञ्चनपुर)। विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ ।

पछिल्लो समय छलिया नाच विवाहमा मात्रै नभई यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रममा समेत छलिया नाच प्रदर्शन हुने गरेको छ । विभिन्न ठाउँमा नाच देखाएवापत छलिया नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ । महेन्द्रनगरका सुरज औजीलाई आजभोलि भ्याइनभ्याइ छ ।

उनी छलिया नृत्यका लागि सुदूरको तराइदेखि पहाडसम्म छलिया समूह लगेर पुग्ने गरेका छन् । विशेष गरी विवाह र महोत्सवका लागि छलिया नृत्यको माग आउने गरेकोे उनको भनाइ छ । पछिल्लो समय विभिन्न समारोह तथा उच्चपदस्थको स्वागतमा छलिया नृत्य प्रदर्शन हुन थालेको छ । “हरेक दिन छलिया नृत्यका लागि तीन÷चार फोन आउँछ एक महिनाअघि नै बुकिङ हुने गरेको छ ।” उनका अनुसार विवाह, महोत्सव तथा शुभकार्यमा छलिया नाचको माग बढेको छ ।

छलिया नृत्यमा १५ वर्षको उमेरदेखि नै लागेका सुरजले अहिले छलिया नाच नाचेरै लाखौँ आम्दानी गर्न थालेका छन् । “छलिया नृत्य सुदूरपश्चिमको मौलिक पहिचान हो यसको संरक्षण गर्छु भनेर लागेको हु”, उनले भने, “अहिले छलिया नृत्य व्यावसायिक रुपमा अघि बढेको छ आम्दानीको मुख्य स्रोत नै छलिया नाच हो ।” उहाँले विवाह तथा महोत्सवमा छलिया नृत्यको रु ३० हजारदेखि ५० हजारसम्म शुल्क लिने गरेको बताए ।

“हाम्रो आम्दानीको मुख्य स्रोत भनेकै यही हो विवाहको याममा एक दिन खाली बस्दैनौँ ।” उनले भने । “दुई छोरी र एक छोराको पढाई खर्च र घरायसी जोहो छलियाबाटै हुने गरेको छ”, उनले भने, “विभिन्न ठाउँमा छलिया नाच देखाएबापत राम्रै आम्दानी हुने गरेको छ ।” उनले विवाह र महोत्सवमा छलिया नाच देखाउनका लागि कञ्चनपुर कैलाली र पहाडको बैतडीसम्म पुग्ने गरेको बताए । तर पछिल्लो समय दामाहा बनाउन भने निकै खर्चिलो हुने गरेको उनको भनाइ छ । “एउटै दामाहा बनाउनका लागि २० हजारसम्म खर्च हुने गरेको छ ।” औजीले भने, “खर्चिलो भए पनि पुरानो संस्कृतिका हिसाबले छलियाको माग धेरै छ ।” सुदूरपश्चिमको प्रसिद्ध छलिया पछिल्लो समय व्यावसायिक बन्न थालेको छ । यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया नाचको माग हुने गरेको छ ।

अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा विवाह तथा महोत्सवहरुमा छलिया नृत्यको माग हुने गरेको ७० वर्षीया मोहनराम औजीले बताए । “पहिला पहिला विवाह र शुभकार्यमा आफ्नो छाक टार्न छलिया हुड्केली नाच नाचिन्थ्यो”, उनले भने, “अहिले छलिया हुड्केली नाच व्यावसायिक भएको छ अग्रीम बुकिङ गर्नुपर्छ ।” उनले आफूले १२ वर्षको उमेरदेखि छलिया हुड्केली नाच नाच्न थालेको बताए। “म ७० वर्षको भए अहिले मेरो छोरालाई संयोजक बनाएको छु उसले दैनिक नौ वटा छलिया नृत्यको टिमको ठेक्का लिने गरेको छ यति धेरै माग छ”, उनले भने, “छलिया नाचेको रु ३० हजारदेखि ५० हजारसम्म लिने गरेका छौँ”, उनले छलिया नाच देखाउँदा ढाल, तरबार र छलियाको परिहन निकै महँगो हुने गरेको बताए ।

अहिले विभिन्न ठाउँमा छलिया नाच्नेले समूह नै बनाएर नाच्ने र गाउने गरेका छन् । “छलिया नाचमा मनोरञ्जन गरिन्छ हुड्केली नाचमा पुराना राजा रजौटा, वीर वीरञ्गना र देविदेवताहरुका जीवन गाथा गाउने गरिन्छ”, उनले भने, “छलिया नाच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाँच हो यो सुदूरपश्चिमको पहिचान हो ।”

छलिया नाचमा सुदूरपश्चिमको विशेष पहिचान र मौलिकता रहेको लोक साहित्यका जानकारहरु बताउँछन् । सुदूरपश्चिममा नृत्य गर्नुलाई छलो खेल्नु पनि भन्ने गरेको र नृत्य गर्ने तथा छलो खेल्ने व्यक्तिलाई छलिया भनिने लोक साहित्यका जानकार कविराज भट्टले जानकारी दिए । उनले छलिया नृत्य सुदूरपश्चिमको मौलिक नृत्य रहेकाले पछिल्लो समय व्यावसायिक रुपमा अघि बढेको बताए ।

“विशेषगरी खुसीका अवसरमा गरिने छलिया नृत्यको आफ्नो छुट्टै महत्व र मौलिकता छ, छलिया नृत्य विशेषगरी विभिन्न माङ्गलिक अवसर विवाह, व्रतबन्ध, जात्रालगायतमा प्रस्तुत हुने गर्छ, छलिया नृत्य स्थानीयस्तरमै बनेका लोकबाजा प्रयोग हुन्छन्”, उनले भने, “छलिया नृत्यमा दमाहा, झ्याली, विगुल, मसक, हुड्कोलगायत बाँजागाजाको प्रयोग गरिन्छ ।” उनका अनुसार छलिया नाचमा नाच्ने व्यक्तिको विशेष नृत्य पहिरन हुन्छ । टाउँकामा विशेष किसिमले मखमलको पगडि लगाइन्छ । छलियाको कम्बरमा विशेष किसिमको कपडाको पेटी पनि हुन्छ ।

“एक हातमा ढाल र एक हातमा तलबार लिइ छलिया नृत्यको प्रदर्शन हुने गर्दछ”, उनले भने, “छलिया नाचमा एक जनाले सुरुमा लोक डेउडाको छेउटो प्रस्तुत गर्ने र गीतहरुमा आन्दित तुल्याउने हाँसोठट्टालगायत र शृङ्गारिक भावका छेउटा प्रस्तुत गरिन्छन् छेउटो पछि कुनै एक नाच्न योग्य लोकलयको गीत गाउँदै छलियाबाँजो बजाइन्छ र धेरै बेरसम्म त्यही बाँजोमा छलियाहरु नाच्दछन् बाजा रोकिएपछि पुनः अर्को छेउटो प्रस्तुत गरिन्छ ।”

छलिया नाचमा विभिन्न किसिमका जादुगरी र कलाको पनि प्रदर्शन गरिने साहित्यकार रमेश पन्त बताउँछन्। “उल्टो पल्टेर मुख वा आँखाले पैसा टिप्ने कलालाई छलिया नृत्यमा प्रमुखताका साथ स्थान दिइन्छ”, उनले भने, “दाइन दमाहा बजाउने कला, एउटा छलियाले अर्कोको काँधमा चढेर दाइन बजाउने कला पनि छलिया नृत्यको विशेषता हो ।” उनले पछिल्लो समय छलिया बाजाको माग धेरै बढेकाले छलिया नृत्य व्यावसायिक बनेको बताए।


सामाग्री श्रोत :

शुभकार्यमा प्रदर्शन गरिने छलियानाचको माग उच्च

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट