एजेन्सी– संयुक्त राज्य अमेरिकाको साउथ डकोटास्थित एउटा जङ्गलमा बनाइएको प्रयोगशालामा वैज्ञानिकहरू विज्ञानको क्षेत्रमा विद्यमान एउटा ठूलो प्रश्नको उत्तर खोज्ने प्रयासमा छन्।’हाम्रो ब्रह्माण्ड किन अस्तित्वमा छ?’

अमेरिकी र जापानी वैज्ञानिकहरूका छुट्टाछुट्टै समूह त्यो गुह्य पत्ता लगाउन भनेर मेहनतका साथ लागेका छन्।
ब्रह्माण्डको सृष्टिबारे अहिले प्रचलित सिद्धान्तले हामीले देख्ने वा हाम्रो सेरोफेरोमा भएका ग्रह, तारा र आकाशगङ्गाको अस्तित्वको कारणलाई व्याख्या गर्न सक्दैन। उत्तर फेला पर्ने आशामा दुवै टोलीले ‘न्यूट्रिनो’ भनिने सब-एटमिक सूक्ष्मकणको अध्ययन गर्न र त्यस्ता कण फेला पार्न सक्ने एउटा उपकरण ‘डिटेक्टर’ बनाउँदै छन्।
साउथ डकोटामा अमेरिकाको नेतृत्वमा सञ्चालित सहकार्यमा जमिनमुनि निकै तल गरिने विभिन्न प्रयोगले ब्रह्माण्डको सृष्टिको रहस्योद्घाटन हुन सक्ने आशा गरिएको छ। यो प्रयोगका लागि वैज्ञानिकहरू जमिनभन्दा १,५०० मिटर तल तीनवटा विशाल भूमिगत गुफामा जाने छन्।

यो संरचना यति विशाल छ कि त्यससँग तुलना गर्दा निर्माण गर्ने प्राविधिकहरू र तिनले प्रयोग गरेका बुल्डोजरहरू साना खेलौनाजस्ता देखिन्छन्। उक्त प्रयोगलाई ‘डीप अन्डर्ग्राउन्ड न्यूट्रिनो एक्स्पेरिमन्ट’ (DUNE) अथवा ‘ड्यून’ नामकरण गरिएको छ।
यो परियोजनाका विज्ञान निर्देशक डा ज्यारेट हाइजले ती गुफालाई “विज्ञानको गिर्जाघर”को सङ्ज्ञा दिएका छन्।
उनी झन्डै १० वर्षदेखि स्यान्फर्ड अन्डर्ग्राउन्ड रिसर्च फसिलटी (SURF – सर्फ) मा ती गुफाको निर्माणमा संलग्न छन्। ड्यूनमा बाहिरबाट ध्वनि र विकिरण नजाने बनाइएको छ। अहिले ड्यून अर्को चरणका लागि तयार छ।
“हाम्रो अस्तित्वको कारण बुझ्न लालायित, विभिन्न ३५ देशका १,४०० वैज्ञानिकहरूको सहकार्यमा प्रयुक्त उपकरणहरूको सहयोगमा हामी यस्तो ‘डिटेक्टर’ बनाउन लागेका छौँ जसले ब्रह्माण्डबारे हाम्रो ज्ञानलाई परिवर्तन गरिदिने छ,” उनले भने।
ब्रह्माण्डको सृष्टि हुँदा दुई खालका कणहरू उत्पन्न भएका मानिन्छ।
तारा, ग्रह र हाम्रो सेरोफेरोमा देखिने सबै कुरा ‘म्याटर’ अर्थात् पदार्थबाट बनेका छन्। त्यही परिमाणमा विपरीत कणहरू बने, जसलाई ‘एन्टिम्याटर’ अर्थात् प्रतिपदार्थ भनिन्छ।
सिद्धान्ततः तिनले एकअर्कालाई नष्ट गरिदिनुपर्ने हो। त्यसो हुँदा ठूलो परिमाणमा ऊर्जा निस्किन्थ्यो र विस्फोटन हुन्थ्यो। तर त्यसो हुँदैन। पदार्थ जोगिएको छ, हामी बनेका छौँ।
‘पदार्थ’ कसरी जोगियो भन्ने प्रश्नको उत्तर ‘न्यूट्रिनो’ र त्यसको विपरीत गुण भएको प्रतिपदार्थ ‘एन्टि-न्यूट्रिनो’को अध्ययनबाट प्राप्त हुन सक्ने वैज्ञानिकहरू ठान्छन्।
इलिनोईमा स्थापित भूमिगत संरचनाबाट वैज्ञानिकहरूले ती दुवै खालका कणका पुञ्जहरू प्रसारित गर्ने छन्।
तिनलाई ८०० माइल टाढा साउथ डकोटामा भएका ‘डिटेक्टर’हरूले पत्ता लगाउने छन्।
आफ्नो यात्राका क्रममा न्यूट्रिनो र एन्टि-न्यूट्रिनोमा केही परिवर्तन हुन्छ।
वैज्ञानिकहरू न्यूट्रिनो र एन्टि-न्यूट्रिनोमा हुने परिवर्तनहरू भिन्न हुन्छन् कि हुँदैनन् भनेर पत्ता लगाउन चाहन्छन्।
त्यस्तो परिवर्तनमा भिन्नता रहेछ भने उनीहरूले पदार्थ र प्रतिपदार्थले एकअर्कालाई किन नष्ट गर्दैनन् भन्ने प्रश्नको उत्तर प्राप्त हुने बताएका छन्।
ड्यूनमा सहभागी ससिक्स यूनिभर्सिटीकी डा केट शअ अब पत्ता लाग्न सक्ने तथ्य ब्रह्माण्डबारे हाम्रो ज्ञान र मानिसको आफूबारे विद्यमान धारणालाई “रूपान्तरण” गरिदिने ठान्छिन्।
“यी ठूला प्रश्नहरू खोतल्न हामीसँग अहिले प्रविधि, इन्जिनिअरिङ र कम्प्युटरको सीप छ। यो निकै रोचक कुरा हो,” उनी भन्छिन्।
प्रतिस्पर्धा
उता ९,६५० किलोमिटर टाढा जापानमा वैज्ञानिकहरू तिनै प्रश्नको उत्तर खोज्न सुनौला ‘ग्लोब’ प्रयोग गर्दै छन्। यो प्रयोगशालाको भव्यताले यसलाई ‘विज्ञानको मन्दिर’ जस्तो बनाइदिएको छ।
जापानी वैज्ञानिकहरू ‘हाइपर-के’ निर्माण गर्दै छन्। यो प्रयोगशाला त्यहाँ जापानमा अहिले विद्यमान ‘सूपर-के’ न्यूट्रिनो डिटेक्टरभन्दा विशाल र अझ उन्नत हुने बताइन्छ।
जापानी वैज्ञानिकहरूको नेतृत्वमा रहेको प्रयोगशाला तीन वर्षभित्र न्यूट्रिनोको पुञ्ज प्रसारित गर्न सक्ने अवस्थामा पुग्ने छ। तर त्यो चरणमा पुग्न अमेरिकी परियोजनालाई अझ केही वर्ष लाग्ने छ।
ड्यूनजस्तै हाइपर-के पनि अन्तर्राष्ट्रिय सहकार्यको परियोजना हो।
लन्डनस्थित इम्पिरिअल कलेजका डा मार्क स्कट आफ्नो टोली ब्रह्माण्डको उत्पत्तिबारे अहिलेसम्मकै एउटा गुह्यतम कुरा पत्ता लगाउन सक्ने “बलियो अवस्थामा भएको” ठान्छन्।
“हामीले पहिला काम थाल्यौँ र हामीसँग एउटा अझ ठूलो ‘डिटेक्टर’ छ। त्यसैले हामीले ड्यूनले भन्दा चाँडै बढी सङ्केत पाउन सक्छौँ,” उनी भन्छन्।
“यी दुइटै प्रयोग एउटै समयमा हुनु भनेको वैज्ञानिकहरूले एउटाबाट मात्र भन्दा बढी ज्ञान पाउँछन् भन्ने हो,” उनले भने, “म पहिला त्यो स्थानमा पुग्न चाहन्छु!”
तर ड्यून परियोजनामा संलग्न तथा क्वीन मेरी यूनिभर्सिटि अफ लन्डनकी वैज्ञानिक डा लिन्डा क्रेमोनेसीका अनुसार पहिलो हुनु भनेको जापानको नेतृत्वमा रहेको टोलीले ब्रह्माण्डमा के हुँदै छ भन्ने कुराको पूरै भेउ पाउँछ भन्ने होइन।
“त्यहाँ प्रतिस्पर्धाको भाव छ। तर न्यूट्रिनो र एन्टि-न्यूट्रिनोले किन भिन्न गुण देखाउँछन् भन्ने कुरा बुझ्न आवश्यक पर्ने सबै अवयव अझै ‘हाइपर-के’सँग छैन,” उनी भन्छिन्।
दुइटा परियोजनाबीच प्रतिस्पर्धा चलेको छ। परिणाम केही वर्षभित्र हात पर्ने अपेक्षा गरिएको छ। तर अहिले भने हामीलाई अस्तित्वमा ल्याउने समयको आरम्भ हुँदा के भएको थियो भन्ने कुरा भने रहस्यकै गर्भमा छ।बीबीसीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ