२०८२ जेष्ठ ११ शनिबार
२०८२ जेष्ठ ११ शनिबार

बाढीमा उद्धार गर्ने नेपाली युवाको ‘विपद् ड्रोन’

काठमाडौं । नख्खु खोला आफ्नो रौद्र रूपमा उर्लिरहेको थियो । त्यही उर्लदो भेलको ठिक बीचमा एउटा घर, जहाँ चार जना जिन्दगीको भिख मागिरहेका थिए । उनीहरू उद्धारको व्यग्र प्रतीक्षामा थिए । तर, समयले उनीहरूको साथ दिएन । उद्धार टोली पुग्नुअघि नै बाढीले घरलाई निल्यो र उनीहरू बेपत्ता भए । त्यो कहालीलाग्दो क्षणमा एक साहसी युवकको अदम्य आँटले तीन जनालाई त मृत्युको मुखबाट फर्कायो । तर एक जना भने दुर्भाग्यवश बाढीमै विलीन भए ।

घटनाको पीडादायी अध्याय त्यतिमै टुङ्गिएन । तत्कालीन गृहमन्त्री रमेश लेखकले खराब मौसमको कारण देखाउँदै हेलिकप्टर उड्न नसकेको र बाढीमा फसेकाहरूलाई बचाउन नसकिएको स्पष्टीकरण दिए । सरकारको यो निरीहताले धेरैको मन कुँडियो ।

यस्तै कुँडिएको मन लिएर बसेका थिए, ‘एफपीभी मार्ट’ नामक ड्रोन स्टार्टअपका संस्थापक अनिल प्रधान । नख्खुको त्यो त्रासदी र सरकारी असक्षमताले उनको अन्तस्करणलाई नराम्ररी चिमोट्यो । मानवीय क्षतिप्रतिको यही गहिरो संवेदना र केही गर्ने हुटहुटीले उनमा एक दृढ सङ्कल्प जगायो । त्यो हो भविष्यमा यस्ता विपत्तिमा जीवन रक्षा गर्न सक्ने ‘विपद् ड्रोन’ निर्माण गर्ने । र, यही अठोटले उनलाई एक नवीन यात्रामा डोर्‍यायो ।

“नख्खुमा आएको बाढीमा चार जना उद्धारको प्रतीक्षामा थिए । तर, समयमै हेलिकप्टर पनि पुग्न सकेन । कुनै अत्याधुनिक प्रविधि पनि त्यहाँ काम लाग्न सकेन,” प्रधान सम्झिन्छन्, “हामी केही वर्षदेखि ड्रोनकै क्षेत्रमा काम गर्ने भएकाले उद्धारमा सघाउने ड्रोन किन नबनाउने भन्ने सोच्यौं ।”

त्यही सोचलाई अगाडि बढाउँदै उनले आफ्नो कम्पनीका सहसंस्थापक राम मण्डलसँग मिलेर ड्रोन बनाउन थाले । केही महिनाको निरन्तर प्रयास र मेहनतपछि ‘विपद् ड्रोन’ तयार भयो । यस ड्रोनमा चाहिने धेरैजसो सामान नेपालमै बनाइएको र केही सामान भने बाहिरबाट ल्याइएको प्रधानले बताएका छन् ।

उनी भन्छन्, “यो ड्रोन पूर्ण रूपमा नेपाली भूगोल र यहाँको वातावरणलाई ध्यानमा राखेर नेपालमै डिजाइन गरिएको हो । यसको मुख्य उद्देश्य नै विपद्को समयमा सहयोग पुर्‍याउनु हो ।”

प्रधानका अनुसार यो ड्रोन एक पटकमा कम्तीमा २० मिनेटसम्म लगातार उड्न सक्छ । आवश्यक परेमा थप दुई ओटा ब्याट्री राखेर यसको उडान समयलाई ४० देखि ५० मिनेटसम्म बढाउन सकिन्छ । ड्रोन चलाउने पाइलटको सीप अनुसार यसलाई प्रतिसेकेन्ड २० देखि ३० मिटरको गतिमा उडाउन सकिन्छ ।

“यसले २० किलोसम्मको तौल बोक्न सक्छ,” यसको क्षमताबारे चर्चा गर्दै प्रधान भन्छन्, “बाढीका काम लाग्ने लाइफ ज्याकेट, लाइफ रिङ र अन्य आवश्यक उपकरण र राहत सामग्री पुर्‍याउन सक्छ ।”

आफ्नो यही ड्रोनको व्यावहारिक क्षमता देखाउन प्रधानले बिहीबार झापामा ‘विपद् ड्रोन’को सफल प्रदर्शन गरेका छन् । भद्रपुर नगरपालिकासँगको सहकार्यमा ड्रोनको क्षमता देखाइएको थियो । खासगरी बाढी आएको समयमा ड्रोनले कसरी लाइफ ज्याकेट, रिङ समयमै पुर्‍याउन सक्छ भन्ने डेमो देखाइएको थियो ।

“बाढीको समयमा आवश्यक लाइफ ज्याकेट, लाइफ रिङ पुर्‍याउन यो उपयुक्त हुने देखियो,” उनी भन्छन्, “तर, आगो लागेको बेला फायरबल फालेर आगो निभाउन भने यो त्यति प्रभावकारी देखिएन ।” 

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गणेश पोखरेलले भने, “यस्ता प्रविधिमैत्री अभ्यासहरूले हाम्रो नगरपालिकाको विपद् व्यवस्थापन क्षमतालाई अझ बलियो बनाउने छन् । अनिल प्रधानजस्ता युवाहरूको समर्पण र नयाँ सोचले हाम्रो समाजलाई सुरक्षित र बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग अब नभई नहुने भइसकेको छ ।”

प्रधानका अनुसार उनीहरूसँग बाढी पहिरो जस्ता विपद्‍मा उद्धारको काममा सघाउने अन्य तीन ओटा ड्रोन छन् । “हामीसँग यस्तै अरू तीन ओटा ड्रोन छन्,” प्रधान भन्छन्, “विपद्को समयमा आवश्यक अन्य उपकरण सहयोग पाएको खण्डमा ती पनि प्रयोगमा ल्याउन सकिन्छ ।”

ड्रोनलाई नेपाली भूगोल अनुसार उद्धारका काममा प्रभावकारी बनाउन सशस्त्र प्रहरी र नेपाली सेनासँग सहकार्य गरेको उनको भनाइ छ । “विपद्‍मा सहयोग गर्न हामी ड्रोन जुनसुकै बेला प्रयोग गर्न सक्छौं,” उनी अगाडि भन्छन्, “तर, सबै विपद्‍मा काम लाग्ने उपकरणको अभाव छ । ती उपकरण सहयोग पाए यी ड्रोन प्रयोग गर्न सकिन्छ ।”

यस्ता सामाजिक कामलाई निरन्तरता दिन प्रधानको ड्रोन स्टार्टअप एफपीभी मार्टले अन्य व्यवसायिक काम पनि गर्दै आएको छ । फिल्मका लागि हाई-इन्ड ड्रोन फुटेज खिच्न र अन्य काममा उनीहरू सक्रिय हुँदै आएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ ११:५९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट