काठमाडौँ । अब उपभोक्ताले आफ्नै घरमै डेलिभरी हुने मह वा अन्नबाली प्रयोग गर्दा त्यो सामान साँच्चै स्थानीय हो कि होइन भनेर शङ्का गर्नु पर्दैन । प्याकेटमा भएको क्यूआर स्क्यान गरेर नै त्यो सामान कस्तो हो भनेर जानकारी पाउन सक्छन् । मोबाइलबाट क्यूआर स्क्यान गरेर खाद्यान्न कसले, कहाँ र कसरी उत्पादन गर्यो भन्ने जानकारी सजिलै पत्ता लगाउन सक्छन् ।

यसरी नेपाली किसानले उत्पादन गरेका सामग्री र कथालाई उपभोक्ताको ‘डिनर टेबल’ सम्म पुर्याउने उद्देश्यका साथ काम गरिरहेको छ, दैलो कृषिले । जसले उत्पादित कृषि उपजको बजार नपाएर कर्जामा डुबेका कृषक र लोकल खानेकुरा खान चाहनेलाई एक अर्कासँग जोड्ने काम गरिरहेको छ ।
दैलो कृषिलाई झापाका धिरज चापागाई (१९) र चितवनका आशिष गैरे (१९) ले नेपाली एग्रोटेक कम्पनीको रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन् । धिरज र आशिष दुबै डिजिटल वालेट खल्तीका पूर्वकर्मचारीसमेत हुन् । तर उनीहरूबिचको मित्रता भने त्योभन्दा पनि पुरानो हो ।
उनीहरू सन् २०२१ मा अनलाइनमार्फत जोडिएका थिए । अध्ययनको सिलसिलामा आशिष चितवनबाट काठमाडौँ आएपछि मित्रता थप झाङ्गियो । त्यसपछि उनीहरूले खल्तीमा सँगै काम गरे ।

गत वर्ष असोजतिर एक दिन झापाको श्री सतासी महिला मौरी पालन सहकारीका अध्यक्षसँग धिरजका बुबा फोनमा कुरा गरिरहेका थिए । उक्त सहकारीमा २५० भन्दा धेरै महिला किसानले मह उत्पादन गर्दै आएको, तर बिक्री गर्न समस्या भएको उनले सुनाइरहेकी थिइन् । साथै, काठमाडौँमा कतै बिक्री हुन्छ कि भनेर बजार खोज्न सहयोग गर्न आग्रह गरेकी थिइन् । उक्त टेलिफोन संवाद धिरज पनि सुन्दै थिए ।
आफ्नै व्यवसाय गर्न मन भएका उनले बजार खोज्न समस्या भएका किसानलाई सघाउने गरी काम गर्ने निर्णयमा पुगे । अनि यो कुरा बुबालाई सुनाए । त्यसपछि झापा पुगेर उक्त सहकारीका सदस्यहरूलाई भेटे । अनि ‘दैलो कृषि’ नाममा कम्पनी पनि दर्ता गराए । त्यसपछि सहकारीका सदस्यहरू दैलो कृषिसँग मिलेर बजारीकरण गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न काठमाडौँ आए ।
“मेरो हजुरआमाको उमेरका तीन जना आमाहरू सहकारीको ब्याचसहित सारी लगाएर भेट्न आउनु भएको थियो । सम्झौता भएपछि किसानहरूको भिडिओ खिच्न जाँदा २०० बढी किसानसँग भेट भयो,” धिरजले पुराना दिन सुनाए ।
किसानहरूसँग भेटघाट भएपछि ठुलो जिम्मेवारी आफ्नो काँधमा लिएको महसुस गरेका थिए रे उनले । “सबै काम एक्लैले गर्न सक्ने अवस्था थिएन,” उनले भने, “मैले ग्राफिक डिजाइनका लागि आशिषको सहयोग लिँदै आएको थिएँ । उसलाई सँगै मिलेर काम गरौँ भन्दा उसले पनि ‘हुन्छ’ भन्यो ।”
त्यसयता उनीहरू मिलेर किसानका कथाहरू क्यामेरामा कैद गरेर सामाजिक सञ्जालमा प्रस्तुत गर्नेदेखि लिएर उपभोक्ताबाट अर्डर लिने र डेलिभरी गर्ने काम समेत गर्दै आएका छन् ।
सतासी सहकारीसँग दैलो कृषिले सम्झौता गर्दा सहकारीले उत्पादन गर्ने सामग्रीको बजारीकरण गर्ने, किसानहरूलाई भिजिबल बनाउने काम गर्ने प्रतिबद्धता जनाएको थियो । यसका लागि विभिन्न खुद्रा-होलसेल पसलसम्म पुगेर सामान बिक्री गरे । यस्तै सामाजिक सञ्जालबाट प्रचारप्रसार गरेर समेत बिक्री गर्दै आएका छन् ।
सतासी सहकारी मात्र नभएर नेपालमा रहेका करिब हजार कृषि सहकारीले उत्पादित कृषि उपजको बजार नपाउने समस्या रहेको धिरजले सुनाए । “सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना अनुसार किसानलाई उत्पादनका लागि मसिनलगायतका सुविधा त दिन्छ । तर बजार खोज्न सघाउने काम गरेको छैन । त्यही भएर किसानले बजार नपाउने, कर्जामा डुब्ने समस्या भोगिरहेका छन्,” उनले भने ।
यस्ता किसानहरूलाई सघाउने र उपभोक्तालाई सहकारीले उत्पादन गरेको खाद्य पदार्थ घरसम्म पुर्याउने काम दैलो कृषिले गर्ने उनले बताए । उनले भने, “हामी किसानलाई नै चिनाउन चाहन्छौँ । किसानदेखि ग्राहकसम्म खाद्यान्न पुर्याउने सहजकर्ता बन्छौँ ।”
नेपालको फरक भौगोलिक अवस्था अनुसार त्यहाँका विशेष किसिमका फल पाइन्छन् । मुस्ताङको आलु, गोरखाको सुन्तला, झापाको मह लगायत भूगोल अनुसार परिचित सामानहरू भान्सामा दैलो कृषिमार्फत उपलब्ध गराउन खोजेको उनले बताए ।
काठमाडौँमा ल्याएर क्यूआर राखेर देशभरि डेलिभरी
हाल दैलो कृषिसँग जोडिएका सहकारीका उत्पादित सामग्रीलाई प्याकेजिङ गरेर काठमाडौँ ल्याएर देशभरि डेलिभर गरिँदै आएको छ । ललितपुरमा भण्डार गर्ने कोठा लिइएको छ । सतासी सहकारीबाहेक हाल १० ओटा सहकारीले उत्पादन गरेका खाद्यान्नहरू परीक्षणका रूपमा बिक्री गरिरहेको धिरजले बताए । ती सहकारीको उत्पादन गुणस्तर पाइएमा सम्झौता नै गरेर बिक्री गर्ने उनले सुनाए ।
हाल किसानबाट थोरैथोरै सामग्री ल्याएर बिक्रीका लागि राखिएको छ । किसानबाट उधारो सामान ल्याएर बिक्री गरेपछि भुक्तानी गर्दै आएको उनले बताए । “सामान क्यास अन डेलिभरी गर्छौँ । डेलिभरी भएपछि आएको पैसा हामी किसानलाई उपलब्ध गराउँछौँ । किसानले सामान पठाएको एक महिनाभित्र उहाँहरूको हातमा सामानको पैसा पुगिसक्छ ।”
किसानले उत्पादन गरेका सामान काठमाडौँ ल्याएको एक हप्तासम्ममा नै बिक्री भइसकेका छन्, जसले गर्दा ताजा सामान नै उपभोक्ताले पाउँदै आएका छन् ।
एकै स्थान र समयमा उत्पादित भएका सामानको क्यूआर उस्तै
दैलो कृषिले प्याकेजिङका क्रममा क्यूआरमार्फत उक्त सामान कसले र कसरी उत्पादन गर्यो भनेर हेर्न मिल्ने सुविधा उपलब्ध गराएको छ । त्यसका लागि कृषि सहकारीहरू आफैंले क्यूआर राख्न समस्या भएकाले काठमाडौँमा ल्याएर नै क्यूआर राख्ने काम भइरहेको धिरज र आशिष बताउँछन् ।
उक्त सामग्रीमा प्रोडक्टको नामसँगै क्यूआरमा उत्पादित क्षेत्र र किसानका कथाहरू समेत हेर्न पाइन्छ । यसरी राखिने क्यूआरमा एक स्थानमा एउटै मौसममा उत्पादित सामग्रीको ब्याच एउटै राखिन्छ । धिरज भन्छन्, “झापाको सतासी सहकारीले एउटा मौसममा उत्पादन गरेको महलाई सङ्कलन गरेपछि ल्याब परीक्षण गरिन्छ । ल्याब जाँच भइसकेपछि त्यो ब्याचको सतासीको महको एउटै क्यूआर राख्छौँ ।”
दुई महिना पहिले उनीहरूले दैलो कृषिको वेबसाइट बनाएका छन् । उक्त वेबसाइटबाट वैशाख महिनामा १० ओटा अर्डर वेबसाइटमार्फत प्राप्त भएको थियो । उनीहरूले फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत समेत अर्डर लिन्छन् ।
काठमाडौँदेखि गुल्मी, ताप्लेजुङसम्मबाट पनि अर्डर आउने गरेको उनले सुनाए । “टाढाबाट एक केजी सामानको अर्डर आउँदा पनि हामी सकेसम्म कम छिटो डेलिभरी गर्ने प्रयास गर्दै आएका छौँ ।”
लगानी नपाए पार्ट टाइम काम गरेर पनि कम्पनीलाई स्थापित गर्ने योजना
विगत तीन महिनादेखि भने दैलो कृषिमार्फत उनीहरू आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडको ‘डिजिटल इनोभेसन इन एग्रिकल्चर एन्ड लजिस्टिक्स (DIAL)’ एक्सिलेरेटर कार्यक्रममा सहभागी छन् । उक्त तालिमबाट कम्पनीलाई कसरी सञ्चालनमा ल्याउने भनेर बुझ्न धेरै मद्दत पुर्याएको छ ।
उनीहरू भन्छन्, “पहिले हाम्रो आइडिया पूर्ण रूपमा अघि बढिसकेको थिएन । आध्यन्तबाट तालिम लिन थालेपछि कसरी अघि बढ्ने भन्ने कुरा बुझ्न धेरै सजिलो भएको छ । त्यहाँ पुगेपछि नै अब हामी व्यवसाय नै गर्ने भन्ने निर्णयमा पुगेका छौँ ।”
तालिम लिएपछि नै व्यवसायलाई पूर्ण समय दिने भन्दै आशिषले करिब एक महिनाअघि क्रियटिभ डिजाइनरको काम छाडे । यस्तै धिरजले प्रोडक्ट टिममा दुई वर्ष काम गरेपछि खल्ती छाड्ने निर्णय गरे ।
खल्तीमा काम गरेको अनुभवलाई उनीहरूले दैलो कृषिको जिम्मेवारीमा बाँडफाँट गरेका छन् । कम्पनीको अपरेसन र वित्त धिरज तथा ब्रान्ड र मार्केटिङ आशिषले हेरिरहेका छन् । यस्तै दैलो कृषिको अनलाइन भुक्तानीका लागि खल्ती मोबाइल वालेटसँग सहकार्य गर्ने योजना समेत उनीहरूले बनाएका छन् ।
अहिले कम्पनीको लागि चाहिने खर्च आफ्नै खर्चले पुर्याइरहेको उनीहरू बताउँछन् । आध्यन्तबाट एक्सिलेरेटर तालिम पाएपछि त्यहाँबाट पनि सहयोग मिल्छ कि भन्ने उनीहरूको आशा छ । उनीहरू भन्छन्, “एक-दुई जना लगानीकर्ताले लगानी गर्न चासो पनि देखाउनु भएको छ । बिस्तारै फन्डिङ पाइन्छ होला । यदि कतैबाट पाइएन भने पनि बिहान बेलुका पार्ट टाइम काम गरेर भएपनि दैलो कृषिलाई चाहिँ निरन्तरता दिन्छौँ ।”
घरछेउका किराना पसलदेखि भाटभटेनी सुपरस्टोरसम्म प्रतिस्पर्धा
दैलो कृषिले किसानबाट कच्चा पदार्थ लिएर आफूलाई ब्रान्डिङ गर्ने काम भन्दा किसानले उत्पादन गरेको सामान बिक्री गरेर किसानलाई नै प्रचार गर्ने बताएका छन् । “हाम्रो ब्रान्ड एम्बेसडर नै किसान हुन् । उपभोक्ताले सामान किन्दा क्यूआर स्क्यान गरेर किसानकै बारेमा जान्न सक्नुहुन्छ । भान्सामा खाना पाकिरहँदा ती खाद्यान्न उत्पादन गर्ने किसान र उपभोक्ताबिच विश्वास बढाउने काम गरिरहेका छौँ ।”
तर उपभोक्तासँग घरछेउको किराना पसलदेखि भाटभटेनी सुपरस्टोरसम्म खाद्यान्न किन्ने विकल्प हुने कुरामा उनीहरू जानकार छन् । त्यसैले अरूले उत्पादित सामग्री दिने मूल्य र समयमा नै स्थानीय उत्पादन उपभोक्ताको भान्सामा पुर्याउने लक्ष्य राखेको उनीहरू बताउँछन् ।
आफूले बिक्री गरेको सामानको गुणस्तर राम्रो भएको भन्दै ग्राहकले प्रतिक्रिया दिने गरेको धीरजले सुनाए । उनले भने, “हामीले बिक्री गरेको महमा छुट्टै नेचुरल राग आउँछ भन्नुहुन्छ ।”
बिरामीदेखि बच्चाहरूलाई समेत खुवाउन मह बिक्री भइरहेका छन् । फापर, जङ्गली, तोरी, लिची महहरू बिक्री भइरहँदा उक्त मह कसले खान हुन्छ, कसले खान हुँदैन भन्ने लगायतका जिज्ञासाहरू पनि थुप्रै आउने गरेका छन् । त्यसले आफ्नो उत्पादित सामग्रीले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भनेर जानकारी दिने काम पनि सुरु गरेका छन् । क्यूआरमार्फत नै एफएक्यूमा त्यस्ता प्रश्नको जवाफ दिने तथा भिडिओ नै बनाएर पनि सचेतना दिने कामलाई प्राथमिकतामा राखेको उनले बताए ।
हरेक दिन राति ८ बजे कामको बारेमा छलफल
विगत दुई महिनादेखि दैलो कृषिमा उनीहरूको टिममा सञ्जिका परियार पनि जोडिएकी छिन् । जहाँ उनी कस्टमर सपोर्टको काम पार्ट टाइम गर्छिन् । हाल तीनै जनाले फरक फरक समयमा दैलो कृषिको लागि काम गर्दै आएका छन् । तर हरेक दिन के काम भयो भनेर एक अर्कालाई अपडेट दिन उनीहरू छुटाउँदैनन् ।
उनीहरूले भने, “अहिले हामीसँग अफिस छैन । त्यसैले घरबाट नै आफ्नो समय काम गर्छौँ । बेलुका आठ बजे अनलाइन मिटिङ बसेर दिनभरि के के गर्यौँ र भोलि के गर्नुपर्ने छ भनेर छलफल गर्छौँ । इमर्जेन्सीमा ह्वाट्सएपमार्फत कुराकानी गर्छौँ ।”
यस्तै, किसानका कथा प्रस्तुत गर्नका लागि टिम पनि बढाउन चाहिरहेको र फन्डिङ मिलेपछि थप कर्मचारी राखेर अघि बढ्ने योजना रहेको उनीहरूले सुनाए ।
पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ २२:४३
सामाग्री श्रोत :
टेक पाना