२०८२ जेष्ठ ६ सोमबार
२०८२ जेष्ठ ६ सोमबार

चर्चित ब्रान्ड ‘तुलसी चिया’: गुमेको शाख फर्काउने योजनामा वैद्यखाना

काठमाडौं- नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने सरकारी निकाय ‘सिंहदरबार वैद्यखाना’ले विभिन्न नाममा औषधि तथा स्वास्थ्यलाई फाइदा गर्ने उत्पादनहरु बजारमा ल्याएको छ। वैद्यखानाका धेरै उत्पादनहरु चिर्चित र जनजीब्रोमा झुण्डिएका छन्।

वैद्यखानाकै चर्चित उत्पादन मध्येको एक हो, तुलसी चिया। तुलसी चिया लेमन ग्रास, तुलसी पात, ल्वाङ, दालचिनी, सुकाएको अदुवा लगायतको मिश्रण हो। वैद्यखानाले दिएको जानकारी अनुसार ज्वरो तथा रगत सम्बन्धी रोगहरुका लागि यो चिया फाइदाजनक हुन्छ।

वैद्यखानाले २०५४ सालदेखी उद्योग विभागमा दर्तापछि विधिवत् रुपमा तुलसी चियाको उत्पादन सुरु गरेको हो।

करिब दुई दशकसम्म निरन्तरता उत्पादन भएपनि २०७५ सालमा तुलसी चियाको उत्पादन बन्द भएको थियो। 

तुलसी चियाका लागि आवश्यक कच्चा पदार्थहरु आपुर्ति गर्ने कम्पनीले समयमा नल्याउँदा र वैद्यखानाका उत्पादन सरकारको प्राथमिकतामा पनि नपर्दा बजारले रुचाएको औषधीय गुणयुक्त तुलसी चियाको उत्पादन बन्द हुन पुगेको सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसी बताउँछन्। 

तर वैद्यखानाले अहिले फेरि यसको उत्पादन सुरु गरेको छ। ‘बजारमा तुलसी चिया नआएको भन्ने धेरैको गुनासोपछि तुलसी चियाकोे उत्पादन पुनः सुरु गरिएको हो। औषधीय गुणले भरिपुर्ण यो चियाको माग उच्च छ,’ डा केसीले भने।

तुलसी चियासँगै वैद्यखानाका धेरै उत्पादन लामो समयसम्म बन्द भएका थिए। सरकार परिवर्तन लगतै कार्यालय प्रमुखहरु पटक–पटक फेरिदै गर्दा आर्थिक वर्ष २०७४–७५ पछि सिंहदरबार वैद्यखानाले तुलसी चिया लगायतका उत्पादनहरु बजारमा ल्याउन नसकेको निर्देशक डा केसीले जानकारी दिए।

‘१०–१५ दिनमा पनि वैद्यखानाको कार्यालय प्रमुख फेरिने गर्छन। सरकारको प्राथमिकतामा आयुर्वेद क्षेत्रमा परेन’, डा केसीले भने – ‘सिंहदरबार वैद्यखाना गठन आदेश सरकार स्वार्थ अनुसार फेरबदल हुँदा वैद्यखानाका उत्पादनले गति लिन सकेनन्।’

२०८१ मा थोरै मात्रामा यो चियाको उत्पादन गरिए पनि बजारमा पुर्‍याउन नसकिएको सिंहदरबार वैद्यखानाले चिया दिवसको अवसरमा उक्त चियालाई बजारमा बिक्री वितरण गर्न सकिने गरी उत्पादन गरेको डा केसी बताउँछन्। 

सरकारले वैद्यखानाका लागि स्थायी दरबन्दी सृजना नगरेकोले पनि तुलसी चिया लगायतका यहाँका उत्पादन बजारमा आउन नसकेको डा केसीको आरोप छ। हाल वैद्यखानामा स्थायी दरबन्दी एउटा पनि छैन। 

हाल वैद्यखानाले ५ हजार प्याकेट तुलसी चियाको उत्पादन गरेको छ। बजारमा धेरै रुचाइएको तथा माग भएकै कारण तुलसी चियाको उत्पादनलाई वैद्यखानाले प्राथमिकता राखी उत्पादन गरेको डा केसी बताउँछन्। 

वैद्यखानाले सय ग्रामको प्याकेटमा तुलसी चियाको उत्पादन गरेको छ। तुलसी चियाको बजार मूल्य १८५ रुपैयाँ निर्धारण गरिएको छ। चियाको उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, जनशक्तिको लागतका आधारमा तुलसीमा चियाको मुल्य निर्धारण गरिएको डा केसीले जानकारी दिए। 

उत्पादन लागतमा १० –१५ प्रतिशत फाइदा राखेर मुल्य निर्धारण गरिने उनले प्रष्टाए। नेपाल सरकारका हरेक सरकारी निकायहरुमा यो चिया प्रयोगका लागि ब्रान्डिङ गर्नुपर्ने तथा त्यसमा आफु लागिपरेको डा केसी बताउँछन्। 

वैद्यखानाको गुमेको शाख फर्काउन पनि तुलसी चियाले भुमिका खेल्न सक्ने डा केसीको आशा छ। 

बजारले रुचाएको अवस्थामा जति पनि उत्पादन गर्न सक्ने क्षमता वैद्यखाना रहेको उनले जानकारी दिए। एक व्याच उत्पादन गर्न एक देखि डेढ दिन लाग्ने गरेको डा केसी बताउँछन्। जसमा ५ देखी ८ हजार प्याकेट उत्पादन हुनसक्छ। 

पछिल्लो समय हरेक मानिसमा आएको जीवनशैलीको चेतना कारण तुलसी चियाको बजार राम्रो भएकोमा डा केसी आशावादी छन्। 

अन्य निजी कम्पनीहरुले वैद्यखानाको जस्तै नक्कल गरी तुलसी चियाको उत्पादन गरेको पाइएको भन्दै उनले त्यस्ता नक्कली उत्पादनसँग सतर्क रहन समेत आग्रह गरे।

तुलसी चिया कास, श्वास, रुघाखोकी, दम, प्रतिश्याय आदिमा उपयोगी हुन्छ। स्वस्थ जीवनको लागि कार्यालय वा घरमा प्रशोधित र चिनी मिसिएको दुध चिया वा कालो चिया बनाएर खानुको सट्टामा औषधीय जडिबुटीको मिश्रणबाट बनेको तुलसी चिया पिउने बानी बसाउन निर्देशक डा केसीको सुझाव छ। 

तुलसी चिया बनाउने विधि 
–एक चिया चम्चा तुलसी जडीबुटी चियाबाट ६ कप चिया बनाउन सकिन्छ। 
–औषधीको रुपमा एक चिया बनाउनु परेमा चाहिँ आधा चिया चम्चा तुलसी जडीबुटी चिया आवश्यक हुन्छ। 
–एक मिनेटसम्म उमाल्नुहोस्। 
–स्वादका लागि इच्छाअनुसार नुन वा चिनी लगाउनुहोस्। 

नोट : स्वास्थ्यखबरले नेपाली बजारमा चर्चित रहेका औषधिहरुको विषयमा जानकारी दिने हेतुले ‘चर्चित औषधि ब्रान्ड’ श्र‌ृंखला सुरु गरेको छ। जसअन्तर्गत पहिलो श्रृंखलामा स्वास्थ्यखबरले सिटामोलको विषयमा जानकारी दिएको थियो। दोस्रो श्रृंखलामा वैद्यखानाको तुलसी चिया परेको छ। अन्य श्रृंखलामा हामी अन्य चर्चित बनेको औषधिको ब्रान्डका विषयमा जानकारी दिनेछौं। यदि तपाईंहरुले नेपाली बजारमा चर्चित औषधि ब्रान्डका विषयमा जानकारी छ भने हामीलाई [email protected] मा उपलब्ध गराउनुहोला। 

यो पनि :
चर्चित ब्रान्डः औषधि भनेकै सिटामोल! जनजिब्रोमा नाम, तर किन छैन व्यापार?

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट