काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रतिनिधि सभा सदस्य पद भ्रष्टाचार मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा परेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणमा दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १६ जनाविरुद्ध तीन अर्ब २१ करोड रुपैयाँभन्दा बढी बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद निलम्बनमा परेको हो ।
बस्नेतले आफू सञ्चारमन्त्री रहँदा टेरामक्स खरिद प्रक्रिया अघि बढाएका थिए । कानुनी प्रक्रिया बेवास्ता गर्दै प्राधिकरणलाई खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएको आरोप उनलाई लगाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा स्वतः पद निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।

बस्नेत ०७९ को चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित भएका थिए । टेरामक्स प्रकरणमा अख्तियारले अनुसन्धान थाल्दा बस्नेत स्वास्थ्यमन्त्री थिए । करिब दुई वर्ष लामो अनुसन्धानपछि अख्तियारले बस्नेतसहित १८ विरुद्ध मुद्दा दायर भएको हो ।
पछिल्लो अध्यावधिक: जेठ १, २०८२ १८:२
सामाग्री श्रोत :
टेक पाना