जनकपुरधाम – जनकपुरधामको वडा नम्बर २५ मा अवस्थित लोहना हेल्थ पोस्टमा स्वास्थ्य शिविरमा १२ जनामा क्यान्सर वा प्रि-क्यान्सर अवस्थासँग सम्बन्धित लक्षणहरू पहिचान गरिएको छ। बिनयतारा फाउन्डेसनद्वारा आयोजित बिनयतारा क्यान्सर ट्रस्टको व्यवस्थापन र इन्गेज नेपालको सहयोगमा सञ्चालित उक्त शिविरमा २४४ जनाको जाँच गरिएको थियो। सम्भावित क्यान्सरको अनुमान गरिएकाहरुलाई थप जाँच र उपचारका लागि उच्च केन्द्रहरूमा रेफर गरिएको विनयतारा फाउन्डेसन क्यान्सर अस्पतालकी प्रशासन प्रमुख गमला लुइँटेलले जानकारी दिएकी छिन्।
शिविरमा स्तन, पाठेघर, गर्भाशय, र मुखको क्यान्सरको प्रारम्भिक पहिचानमा केन्द्रित रहेर विभिन्न जाँच र स्वास्थ्य सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
उक्त शिविरमा नेपाली चिकित्सकहरुलाई अमेरिकाका प्रतिष्ठित चिकित्सकहरुले समेत सहयोग गरेका थिए। क्यान्सर विशेषज्ञहरू डा सियायिङ झु र डा. मार्क पेग्रामको सहभागितामा स्थानीय चिकित्सकले क्लिनिकल स्तन जाँच गरेका थिए।
सहभागीहरूलाई गाँठो, तन्तु असामान्यता वा घातक संकेतहरू पहिचानका लागि व्यक्तिगत परामर्श प्रदान गरिएको आयोजक विनयताराले जनाएको छ। त्यसक्रममा एक महिलाको दाहिने स्तनको माथिल्लो भागमा गाँठो फेला परेपछि अल्ट्रासाउन्ड र म्यामोग्राफीको सिफारिस गरिएको छ। सबै महिलाहरूलाई स्तन आत्म-परीक्षणको महत्त्व र विधिबारे समेत त्यहाँ प्रशिक्षण दिइएको लुइँटेलले बताइन्।
त्यसैगरी स्त्री रोग विशेषज्ञ डा. प्रिशिता शाहको नेतृत्वमा भिजुअल इन्स्पेक्शन विथ एसिटिक एसिड (भीआईए) विधिबाट पाठेघरको जाँच गरिएको थियो। असामान्य नतिजा देखिएका महिलाहरूलाई तत्काल परामर्श दिई बिनयतारा फाउन्डेसन क्यान्सर सेन्टरमा प्याप स्मेयर परीक्षणको व्यवस्था समेत गरिएको उनले बताइन्। उक्त अवसरमा ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) र सुरक्षित यौन स्वास्थ्यबारे समेत उनीहरुलाई जानकारी दिइएको थियो।
सम्भावित क्यान्सरको लक्षण शंकास्पद स्तन गाँठो, पाठेघरको सुन्निएको, योनीस्राव, तल्लो पेट दुख्ने र ढाड दुख्ने, अस्पष्ट गर्भाशय लक्षणहरू, उमेरजन्य जोखिम देखिएको थियो।
शिविरमा आएका ३६ प्रतिशतले सुर्तीजन्य पदार्थ, गुटखा र मदिरा जस्ता पदार्थहरूको नियमित प्रयोग गर्ने बताएका छन्। ४७ प्रतिशतमा कुपोषण वा भिटामिन/आइरनको कमी पाइएको छ।
शिविरमा विनयतारका अध्यक्ष तथा सहसंस्थापक डा विनय शाह (मेडिकल ओन्कोलोजिस्ट), डा विश्वनाथ मिश्रा (इन्टरनल मेडिसिन), डा प्रिष्टा साह (स्त्रीरोग विशेषज्ञ) डा. बब्लु कुमार यादव, डा नइमउद्दिन रायन, डा सुरज यादव, नर्सहरु पुनम चौधरी, सिमिता यादव, रुचिका श्रेष्ठ, प्रयोगशाला प्राविधिक आशा कुमारी यादव, फर्मासिस्ट पिंकी कुमारी साहलगायतले सेवा दिएका थिए।
सामाग्री श्रोत :
swasthyakhabar

